हुलाकी न्यूज, बुटवल । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि भन्दै लुम्बिनी अञ्चलका अति संवेदनशील र संवेदनशील क्षेत्रमा विशेष सुरक्षा योजना लागु गरिएको छ । नेपाल सरकार नियन्त्रित समाचार संस्था राष्ट्रिय समाचार समितिका अनुसार लुम्बिनी अञ्चलमा निर्वाचन विरोधी गतिविधि हुन सक्ने भन्दै विशेष सुरक्षा योजना लागु गरिएको हो ।

राससका अनुसार बुटवलमा मंगलबार पत्रकारसँग कुरा गर्दै प्रहरी नायब महानिरीक्षक मधुप्रसाद पुडासैनीले लुम्बिनीका ३४६ मतदानस्थललाई अतिसंवेदनशील र २४५ स्थललाई संवेदनशील रुपमा राखिएको बताउँदै त्यस क्षेत्रमा विशेष सुरक्षा योजना लगाइएको जनाए । यस जिल्लामा १५ हजार प्रहरी परिचालन गरिएको छ ।

प्रत्येक मतदानस्थलमा मतदानअघि, मतदान हुँदै गर्दा र मतदान सकिएपछिको सुरक्षा रणनीति बनाइएको छ। राष्ट्रिय अनुसन्धानका कर्मचारी हरेक मतदानस्थलमा पुग्ने पुडासैनीले बताए ।

लुम्बिनीका छ जिल्लाका लागि चार हजार २१२ सशस्त्र प्रहरी खटाइएको सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक सुवोधकुमार अधिकारीले जानकारी दिनुभयो। उहाँले ९३ स्ट्राइकिङ टोली, १४३ मोबाइल र १२ वटा विपद् सुरक्षा टोली परिचालन गरिएको जनाए ।

निवार्चन बिथोल्न सक्ने आशङ्कामा लुम्बिनी अञ्चलबाट नेपाल कम्युनिष्ट पार्टीका ८६ कार्यकर्तालाई पक्राउ गरिएको छ । पक्राउ परेकामध्ये १४ जनालाई मुद्दा चलाइएको छ । लुम्बिनीका ६ जिल्लामा ९१० मतदानस्थल रहेका छन् ।

एक उपमहानगरपालिका, २१ नगरपालिका र ३९ गाउँपालिकाबाट दुई हजार ९२२ जनप्रतिनिधि निर्वा्चित हुनेछन्। निर्वाचनमा १३ हजार २४२ जना उम्मेदवारले प्रतिष्पर्धा गर्दैछन् भने १४ लाख दुई हजार मतदाता रहेका छन् ।

फाईल तस्बिर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.