मुम्बई, २६ वैशाख । बलिउड अभिनेता अमिताभ बच्चन सुटिङमा फर्किएका छन् ।

उनी ‘कौन बनेगा करोडपति’ (केबीसी) को १२औं शृंखलाको सुटिङमा फर्किएका हुन् । सोनी टेलिभिजन चाँडै नै केबीसीको १२ औं शृंखला टेलिभिजनबाट प्रसारण गर्दै छ ।

यसका लागि उनले पूर्ण सुरक्षा अपनाएर आफ्नो घरबाटै छायांकन थालेको छ । सुरुमा अमिताभ यो सुटिङका लागि तयार थिएनन् । तर, सोनी टेलिभिजनले सुरक्षाको हिसाबमा अमिताभलाई बुझाएपछि उनले सुटिङ सुरु गरेका हुन् ।

फिल्म निर्देशक नितेश तिवारीले केबीसीको ट्रेलर तयार गरिरहेका छन् । लकडाउनकै अवस्थामा यो कार्यक्रमको ट्रेलर सुटिङ गरियो । ट्रेलरसँगै यसको नयाँ शृंखलाको पनि सुटिङ थालिएको छ । यो सुटिङका तस्बिरहरू सामाजिक सञ्जालमा आएपछि अहिले अमिताभले निकै आलोचना खेप्नुपरेको छ ।

एक त उनलाई लकडाउन भंग गरेको आरोप छ । अर्कोतर्फ महाराष्ट्र सरकारले सुटिङलगायत सबै कार्यमा रोक लगाएका बेला अमिताभले सरकारको निर्देशन भंग गरेर सुटिङ थालेको आरोप लागेको छ । दर्शकको टिप्पणीको जवाफ दिँदै अमिताभले आफूले सुटिङ सुरु गरेको स्विकारेका छन् ।

उनले आफूहरूलाई शान्त बनाउन दर्शकलाई अनुरोध गर्दै लकडाउनको बेला आफू जिम्मेवार भएको र घरबाटै काम गरेको बताएका छन् । त्यसैले आफ्नो कामको अनावश्यक टिप्पणी नगरिदिन पनि उनले अनुरोध गरेका छन् ।

आफूले घरमै बसेर पूर्ण रूपमा सुरक्षित भएर दुई दिनको छायांकन एकै दिनमा सकेको र लकडाउन उल्लंघन नगरेको बताएका छन् । केबीसीको यो १२ औं शृंखलामा भाग लिन चाहनेहरूका लागि ९ मेबाट फारम खुला गरिँदै छ ।

त्यसका लागि अहिले ट्रेलर निर्माण गरिएको हो । निर्देशक नितेश तिवारीले केबीसीको ट्रेलर फरक किसिमले बनाएको बताएका छन् । ट्रेलरलाई खेलभन्दा पनि फिल्मी शैलीमा दर्शकले देख्न पाउने उनको कथन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.