सरोज कुमार महतो

मान्छेको भागदौड, झिलमिली बत्ती, कार्यालय जानेआउने चटारो, होहल्लाको माहोल र खुला, स्वच्छ हावाको कमी, गाडिको हर्न र ट्राफिक दाइको हम्मेहम्मे पर्ने व्यवस्थापन, मान्छेको चोकचोकमा हुने चहलपहल र युवा जमातको जमघट, चियाकफी सप र क्लबहरुमा हुने भीड, पसले दाइलाई समान बेच्ने हतारो र विधार्थीलाई कलेजको चिन्ता, नेताको हर्इकिने गाडी र हवाईजहाजको चर्को ध्वनी, छैन काठमाडौंमा । कहाँ गयो?

देशको सबैभन्दा बढी जनसंख्या र सेवासुविधाको केन्द्र अहिले पूर्ण खाली छ ।

नोबेल कोरोना भाइरस (कोभिड-१९)को आतंक संसारका अधिकांश देशहरुले झेलि रहेका छन् । हामी पनि प्रभावित छौ । विश्व स्वाथ्य संगठनका अनुसार त हामी उच्च जोखिमको घेरामा पर्छौ । सरकारले पनि कोरोनाबाट बच्न सुरक्षाको प्रभावकारी उपाय स्वरुप विगत १९ दिनदेखि सारा देशलाई लकडाउन गरेको छ । कोरोना ‌संक्रमणबाट बच्ने सबैभन्दा उत्तम उपाय सामाजिक दुरीको प्रयोग लकडाउनले धेरै हदसम्म पालना गराउन सक्ने विश्वास छ । संसारमा धेरै देशहरुले यो विधि प्रयोग गरिरहेका छन् ।

छिमेकी राष्ट्र चीनको वुहान शहरबाट सन् २०१९ को अन्त्यबाट फैलिन सुरु गरेको कोरोना भाइरस अहिले लगभग पूरा विश्व यसको चपेटमा छन् । यो लेख तयार गर्दासम्म विश्वभर करिब एक लाख पाँच हजारले ज्यान गुमाइसकेका छन् भने १७ लाखभन्दा बढी संक्रमणको शिकार भएका छन् । अहिलेसम्म संसारमा एकै समय यति धेरै मान्छे कुनै सरुवा रोगबाट जोगिन घरभित्रै बस्न बाध्य भएको सायद पहिलो घटना हो, यो भाइरसबाट जोगिने अर्को विकल्प अहिलेसम्म विकास भइसकेको छैन ।

देशको संघीय राजधानी काठमाडौं जहाँ सबैभन्दा बढी जनसंख्या, सेवासुविधा, लगभग सबै कुराहरुको केन्द्रबिन्दु अहिले पुरै ठप्प प्राय छ, किन होला भन्ने प्रश्नको जवाफ सजिलै दिन सकिन्छ । कोरोना भाइरसबाट बच्नको लागि उच्च सतर्कताका निमित्त पुरै देश भित्रको आवतजावत तथा अन्य गतिविधिहरु सबै बन्द गरिएको छ अर्थात् व्यवासय, स्कुल, कलेज, कार्यालय, गाडी इत्यादी सबै बन्द छ । लाखौं मान्छेहरु काठमाडौं छोडेर आफ्नै घर फर्किएका छन् । सबै घरमै बन्द छन् । घरमै बस्न सरकारले जारी गरेको निर्देशन अनुरुप नियम पालना गरेर बसेका छन् ।

केहि काम विशेषले म जस्तै काठमाडौं मै घेरिएका छन् । म जस्ता कैयौं जसको घर यहाँ छैन यतै कुनै कारणबस घेरिएका छन् । कुनै जरुरी कामले म काठमाडौंका सडकमा निस्किँदा धेरै कुराको अनुभूति गरेँ । विगत ६ वर्षदेखि काठमाडौंमै छु तर जुन अनभूति भयो त्यो कहिले पनि अनुभव गरेको थिइन । खुल्ला सडक, ठाउँ-ठाउँमा सुरक्षयाकर्मी देखियो, चैतको हावाले शरीरलाइ छोएर अगाडी बढ्दा स्वतन्त्र र स्वच्छपनका साथै धुलो र धुवामुक्त महसुस गराइरहन्थ्यो । जुनकुनै बाटो हिड्दा जहिले भीड हुने ठाउँ शान्त र सुनसान बनेका छन् ।

घरमा बस्दा कहिले पनि चराहरुको आवाज सुनिएन तर विगत केहि दिनदेखि निकै सुनिने गरेको छ । मर्निङ वाकमा निस्किदा सफा हावाको कमी महसुस हुने अहिले त्यो अनुभव भएको छैन । २४ घण्टा मान्छेको दौडधुप हुने शहर अहिले पुरै आरामले सुतेको छ । पवित्र पशुपतिनाथ मन्दिरमा जहिले भीड हुने अहिले मानिसको शव मात्रै गइरेहको देखिन्छ । विधार्थीहरुलाई पढाईको चिन्ता, स्कुल कलेजको चाप अहिले केही छैन । अस्पतालमा जहिले हुने भीड पनि धेरै कम भएको छ । एकै दिनमा कैयौं अर्बको व्यापार हुने शहरमा अहिले ठप्प छ । अधिकांशको सपनको शहर अहिले कसैको विकल्पमा परेको छैन । ट्राफिक दाइलाई हम्मेहम्मे पर्ने सवारी व्यवस्थापन अहिले निकै सहज भएको देखिन्छ । लकडाउनमा कसैले सवारीसाधन अनावश्यक रुपमा चलाएकी भन्ने चिन्ता छ ।

अहिले सारासंसार घातक महाव्यादीसँग लड्दै छ जसमा हामीले एक भएर घरमै बसेर साथ दिनु जरुरी छ । सामाजिक र भौतिक दूरी कायम गर्नु नै यसको सबैभन्दा उत्तम विकल्प हो । धेरै जसो हामी घरमा छौ तर हाम्रो निम्ति काम गरिरहेका सबै प्रहरी प्रशासन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी सबैलाई धेरै धन्यवाद र प्रार्थना कि तपाईं हामी सबैलाई भगवानले रक्षा गरुन् । घरमै बसौं सुरक्षित रहौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.