काठमाडौं, १५ वैशाख । नेपाल राष्ट्र बैंकले चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने भएको छ ।

राष्ट्र बैंकले ५६ औं वार्षिकोत्सवका उपलक्ष्यमा गभर्नर महाप्रसाद अधिकारीले गरेको सम्बोधनमार्फत् चालू आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्नेसहित विभिन्न ६ बुँदे नीतिगत व्यवस्था सार्वजनिक गरेका हुन् ।

राष्ट्र बैंकले कोरोना भाइरसबाट अर्थतन्त्रलाई जोगाउन आवश्यक निर्णय लिने पनि बताएको छ । राष्ट्र बैंकले कोरोनाबाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्न व्यवस्थालाई थप सहज बनाउने भएको छ ।

साना तथा मझौला उद्योग, पर्यटन र कोरोनाको प्रभाव अत्याधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी पुनरकर्जा सहज ढंगले उपलब्ध गरिने छ । यसका लागि पुनरकर्जा कार्यविधिमा संशोधन गरिने राष्ट्र बैंकले जारी गरेको एक प्रेस विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्ति अनुसार ६० अर्बको विद्यमान पुनरकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने व्यवस्था मिलाइने भएको छ । बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरू अवलम्वन गर्ने पनि उल्लेख छ ।

कोभिड–१९ बाट बढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिने सुविधा प्रदान गर्न आवश्यक व्यवस्था मिलाउने र लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था मिलाउने पनि राष्ट्र बैंकले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.