ढाका, ० ः बङ्गलादेशमा रहेका म्यान्माली शरणार्थीलाई स्वदेश फिर्ता पठाउनका लागि म्यानमार र बङ्गलादेश सम्मिलित एक संयुक्त कार्य समूह गठन गर्ने विषयमा सहमति भएको समाचार छ ।

सोमबार बङ्गलादेशमा यहाँका विदेशमन्त्री अबुल हसन मोहमद अलि र म्यान्माली राज्य परिषदका राज्यमन्त्री उ च्यको नेतृत्वमा बङ्गलादेशमा आएको प्रतिनिधिमण्डलसँगको कुराकानीपछि सो विषयमा सहमति भएको बताइएको छ ।

बङ्गलादेशसँग रोहिङ्गाको विषयमा आवश्यक छलफल गर्ने उद्देश्यले म्यान्मारको उक्त प्रतिनिधिमण्डल बङ्गलादेशको राजधानी ढाका आइपुगेको हो ।

दुवै पक्षबीच रोहिङ्गा शरणार्थीलाई के कसरी फिर्ता लैजाने भन्ने बारेमा कुराकानी भएको पनि ढाकाबाट प्राप्त समाचारमा जनाइएको छ ।

गएको अगष्ट २५ मा म्यानमारको राखिन राज्यमा रहेको एक प्रहरी चौकीमाथि नै रोहिङ्गा समर्थक सशस्त्र हतियारधारीले हमला गरेका थिए ।

सो हमलाको कारबाहीस्वरुप भन्दै म्यानमारको सेनाले रोहिङ्गा बस्तीमै पुगेर उक्त समुदायका सदस्यहरुमाथि नै आक्रमण गरेको थियो । यसका कारण ठूलो सङ्ख्याका नागरिक घाइते भएका थिए भने केहीको ज्यान गएको थियो ।

उक्त राज्यमा रोहिङ्गा मुस्लिम समुदायको विद्रोही समूह र म्यानमारको सेनाबीचमा झडप सुरु भएको थियो । त्यसयता विवाद चर्किँदै गएको छ । यसरी भड्किएको हिंसापछि म्यानमारका ठूलो सङ्ख्याका नागरिक भागेर बङ्गलादेश पुगेका हुन् ।

राखिन राज्यमा रोहिङ्गा मुस्लिम समुदायमाथि सुरक्षाकर्मीबाटै आक्रमणका कारण करिब ३० हजार व्यक्ति राखिन राज्यभित्रै तथा अरु करिब साढे चार लाखजति बङ्गलादशेमा विस्थापित भएका छन् ।

सो विवादका कारण ती लाखौँजना रोहिङ्गाले देश छोडेका छन् । जसका कारण अन्तर्राष्ट्रिय समुदायमा पनि म्यानमारको ठूलो आलोचना भएको छ ।

अहिलेसम्म यहाँबाट भागेर बङ्गलादेशसम्म पुग्ने नागरिकको सङ्ख्या साढे चार लाख जति पुगेको छ । उनीहरुलाई त्यहाँ पनि खान र बस्नका लागि आधारभूत आवश्यकता समेतको व्यबस्था नरहेको बताइन्छ ।

म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर उनीहरु बङ्गलादेशसम्म पुगेका छन् । उनीहरु यसरी जोखिमपूर्ण रुपमा नदी पारगर्ने क्रममा ज्यान पनि जाने गरेको छ ।

म्यानमार सरकारले भने उनीहरूमाथि त्यस्तो कुनै हिंसा नभएको दाबी गर्दै आएको छ । सरकारले सेनाले नै जनता लखेटेको भन्ने समाचारमा कुनै सत्यता नरहेको बताएको छ ।

प्राप्त समाचारअनुसार उनीहरुलाई ती विस्थापित भएका स्थानमा पनि खाद्य पदार्थ, पानी, आवास र औषधि उपचारसमेत उपलब्ध नरहेको पाइएको छ ।

उनीहरुको अवस्था देशभित्र तथा बङ्गलादेशमा समेत दयनीय रहेको समाचारहरु आइरहेका छन् । बङ्गलादेशमा करिब ६५ वटा शिवीर बनाएर उनीहरुलाई राखिएको छ ।

उनीहरुलाई एउटा राज्यबाट अर्कोमा जान पनि नपाउने नियम बनाइएको छ । त्यस्तै उनीहरुले राहादानी पनि बोक्न नपाउने नियम बङ्गलादेशको सरकारले बनाएको छ ।

बङ्गलादेशमा रहेका ती शरणार्थी शिवीरमा खानेपानी तथा अरु पनि सामान्य एवम् आधारभूत आवश्यकताहरु पूरा नहुदा यहाँ रहेका शरणार्थी शिवीरहरुमा हैजाको किटाणु फैलिनसक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले यसअघि दिएको थियो ।
रासस÷सिन्ह्वा
–––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.