रेशम चौधरीले शपथ लिएपछि थरुहटमा उत्साह, मधेशमा दिपावली

हुलाकी न्यूज, काठमाडौं : पटक–पटक सर्दै आएको रेशम चौधरीको शपथ ग्रहण विहीबार सिंहदरबारमा सम्पन्न भएको छ।

यसअघि चौधरीलाई शपथ गराउने प्रयास २ पटक असफल भएको थियो। शपथ ग्रहणको समाचार सञ्चारमाध्यममा आउने वितिकै सरकारले शपथ ग्रहण रोक्दै आएको थियो।

विहीबार दिउँसो साढे ११ बजेका लागि शपथ ग्रहणको समय मिलाइएको थियो। तर गृहमन्त्रालयबाट दश बजेपछि मात्र पत्र डिल्लीबजार कारागार पुगेको थियो। कागजी प्रक्रिया पुरा गर्दा एक बज्ने कारागार प्रशासनले जनाए पछि शपथ ग्रहण तीन बजेका लागि सारियो।

अन्नतः साढे ३ बजे रेशम चौधरीले सभामुख कृष्णबहादुर महराबाट शपथ लिए । र, त्यहीँ सांसदको लोगोसमेत लगाए।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सचिव एवं कैलाली क्षेत्र नम्बर एकबाट अत्याधिक बहुमतले निर्वाचित सांसद रेशम चौधरीले शपथ लिँदा राजपा नेपालका संयोजक राजेन्द्र महतो, संसदीय दलका नेता महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्यहरु महेन्द्र राय यादव, शरत्सिंह भण्डारी, राजकिशाेर यादव र अनिल झा सहभागी थए। उनीहरु निकै खुशी देखिएका थिए।

राजपाका प्रमुख सचेतक लक्ष्मणलाल कर्ण, सांसदहरु चन्दा चौधरी, नरमाया ढकाललगायतका उपस्थित थिए।
शपथ ग्रहण पछि राजपा संयोजक महतोले रेशम चौधरीको शपथ सकारात्मक भएको प्रतिक्रिया दिदै टीकापुर घटनाको मुद्दा सरकारले फिर्ता लिनु पर्ने बताए।

यसैबीच चौधरीले सिंहदरबारमा शपथ ग्रहण गरिरहँदा टीकापुरका थारुहरु उत्साहित थिए। चौधरीका क्षेत्रमा खुशियाली छाएको थियो। शपथ ग्रहणमा पुगेका थारु अगुवाहरु पनि उत्साहित देखिएका थिए।

यसैबीच मधेशका विभिन्न जिल्लामा दिपावली मनाइएकाे छ। राजपाका नेता तथा कार्यकर्ताहरूले दिपावली मनाएका हुन् ।

राजनीतिक मुद्दा राजनीतिक स्तरबाटै समाधान

शपथ ग्रहण पछि सांसद चौधरीले टीकापुरको घटना राजनीतिक भएकोले राजनीति तहबाटै समाधान हुनु पर्ने बताए। तर आफू दोषी ठहर भए कारवाही भोग्न तयार रहेको उनले प्रतिवद्धता व्यक्त गरे।

सांसद चौधरीले टीकापुर घटनाका अन्य आरोपितहरुलाई पनि रिहाई गर्नु पर्ने बताए। ‘मलाई लाग्छ न्यायलयले न्याय दिनुपर्छ । स्पष्ट छानविन हुनुपर्छ । दोषी उम्किनु हुँदैन । मैले कहिले दोषी उम्किन पर्छ भनेको छैन ।’ चौधरीले भने,‘रेशम जी निर्दोष व्यक्ति हो, त्यहाँको जनमतले प्रमाणित गरेको छ ।’

‘न्यायलयले न्याय दिनुपर्छ भिख होइन । रेशम भिख माग्दैन । दोषी भए प्रमाणित गरिदिनुहोस् ।’ चौधरीले भने, ‘टीकापुरमा भदौ ३ गतेमात्र पुगेको थिएँ । सुरक्षाकर्मीकै गाडीमा धनगढी पुगें । सुरक्षाकर्मीसँगै टीकापुरमा पुगें । चौबिसै घण्टा सुरक्षाकर्मीको घेरामा थिएँ । मैले कतिखेर षड्यन्त्र गरे ?’

आफू संसदको लोगो लगाएर जेल जानु पर्दा दुःख लागेको बताउँदै उनले प्रश्न गरे,‘लागो गलाएर जेल जानु पर्ने?’
२०७२ भदौ ७ गते मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जना प्रहरी र एक जना बालक मारिएका थिए। यस घटनापछि सुरक्षाकर्मीको यातनाबाट एक जना थारु पनि मारिएका थिए ।

सुरक्षाकर्मी नै मारिए पछि ८५ भन्दा बढी थारुहरुको घर जलाइएको थियो भने दर्जनौं थारुहरु विस्थापित भए । मुख्य आरोपी सांसद चौधरी गत वर्षको फागुन १४ गते जिल्ला अदालत कैलालिमा आत्मसमर्पण गरेका थिए ।


SHARE

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.