रेशमलाई जेलमै राख्ने सर्वोच्चको आदेशः मुद्दा फिर्ताका लागि राजपाको दबाब

हुलाकी न्यूज, काठमाडौं : कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित सांसद रेशम चौधरीलाई सर्वोच्च अदालतले पूर्पक्षका लागि थुनामै राख्ने आदेश दिएपछि राष्ट्रिय जनता पार्टी (राजपा)ले मधेश–थरुहट आन्दोलनको मुद्दा फिर्ताका लागि दबाब दिने भएको छ।

गत बिहीवार सांसदको शपथ ग्रहण गरेका चौधरीलाई सोमबार सर्वोच्च अदालतले मुद्दाको किनारा नलागेसम्म जेलमै राख्ने आदेश दिएको हो।

न्यायधीश ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीले सांसद चौधरीको पेसीको सुनुवाइ गर्दै रिहा नगर्ने आदेश सुनाएको हो। जिल्ला अदालत कैलाकीको अन्तरिम आदेश नआउँदासम्म चौधरी थुनामै रहनेछन्।

टीकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार चौधरीले वारेसमार्फत् राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए। चौधरी ३४ हजार ३४१ मतसहित विजयी भएका थिए। घटनाका मुख्य आरोपी सांसद चौधरीले गत वर्षको फागुन १४ गते जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए । त्यस यता उनी काठमाडौंस्थित डिल्लीबजार कारागारमा छन्।

सर्वोच्च अदालतले चौधरीलाई साधारण तारेखमा रिहा गर्न अस्वीकार गरे पछि राजपाले मधेश–थरुहट आन्दोलनका सम्पूर्ण मुद्दा फिर्ता लिन सरकारलाई दबाब दिने भएको छ।

यसअघि पनि राजपाले टीकापुरसहित सम्पूर्ण मधेश थरुहट आन्दोलनका मुद्दा फिर्ता लिन सरकारलाई ज्ञापन पत्र बुझाएको थियो।

राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले मधेश–थरुहट आन्दोलनका सम्पूर्ण मुद्दा सरकारले फिर्ता लिनु पर्ने बताएका छन्।

नेता यादवले सरकारले मुद्दा फिर्ता नलिए दबाबका थप कार्यक्रमहरु अगाडि बढाउने चेतावनी दिए।

२०७२ भदौ ७ गते मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जना प्रहरी र एक जना बालक मारिएका थिए । यस घटनापछि सुरक्षाकर्मीको यातनाबाट एक जना थारु पनि मारिएका थिए । दर्जनौं थारुहरुको घरमा आगो लगाइएको थियो भने सुरक्षाकर्मीले कयौं थारुलाई यातना दिएको थियो।

रेशम चौधरीले शपथ लिएपछि थरुहटमा उत्साह, मधेशमा दिपावली

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.