पर्सा, १९ चैत । वीरगन्ज महानगरपालिका–१९ बरेवा गाँउमा लकडाउनले समस्यामा परेकाहरूका लागि राहत बाँड्ने विषयमा बुधबार दुई पक्षबीच झडप हुँदा बालबालिका र महिलासहित १९ जना घाइते भएका छन् ।

घाइतेमध्ये केहीको टाउको फुटेको छ भने कतिपयको हात भाँच्चिएको छ । घाइते सबैको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । महानगरपालिकाले वडा नम्बर १९ मा राहत सामग्री बाँड्नका लागि मंगलबार १ लाख २५ हजार रुपैयाँ पठाएको थियो । राहत सामग्री बाँड्नका लागि वडा अध्यक्ष सन्तोष तिवारीको अध्यक्षतामा मंगलबार बसेको बैठकले सर्वदलीय राहत वितरण समिति गठन गरेको थियो ।

समितिले लकडाउनका बेला समस्यामा परेका परिवारको पहिचान गरी विवरण गर्न वडा कार्यालयमा पठाउने जिम्मा पाएको थियो । बुधबार बिहान बरेवा गाँउमा समितिका सदस्यहरूले प्रभावित वास्तविक परिवारको विवरण संकलन गर्ने क्रममा समितिका सदस्यबीच नै विवाद भएपछि झडप हुँदा १९ जना घाइते भएका हुन् ।

समितिका सदस्य प्रभु यादवले प्रभावित परिवारको विवरण संकलन गर्ने क्रममा आफ्ना नातागोताकामा पर्नेहरूको मात्रै नाम लेखेको भन्दै स्थानीय उपेन्द्र यादवले विरोध गरेका थिए । उपेन्द्रले विरोध गरेपछि दुबै पक्ष एक अर्का माथि हातपात गर्न थालेका हुन् ।

अस्पतालमा उपचार गराइरहेका समितिका सदस्य प्रभुले बुधबार बिहान लगत संकलन गर्ने क्रममा समितिमा नै नरहेका उपेन्द्र र उनका परिवारका सदस्यहरूले विवाद गरी आफूहरूमाथि हातपात गरेको बताए । झडपमा घाइते भएर उपचार गराइरहेका उपेन्द्रले भने लगत संकलनका क्रममा प्रभुले पक्षपात गरेपछि आफूले विरोध गर्दा प्रभु र उनीसहितका व्यक्तिहरू कुटपिट गरेको बताए ।

झडपमा संलग्न रहेको आरोपमा प्रहरीले ३÷४ जनालाई नियन्त्रणमा लिएको वडा अध्यक्ष सन्तोष तिवारीले बताए । पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले झडपमा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.