फाइल फोटो

काठमाडौं, १ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७७ को अबसरमा शुभकामना सन्देश जारी गर्दै उच्च मनोबल र सकारात्मक सोचका साथ कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि एकजुट भई अगाडि बढ्न नयाँ वर्षले ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

उनले कोभिड—१९ को रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी तुल्याएर अमूल्य मानव जीवन बचाउन अहिलेको सबैभन्दा उत्तम विकल्प लकडाउन र सामाजिक दूरी कायम गर्नुपर्ने बताएकी छन् ।

कोरोनाभाइरस सिर्जित यस विपत साझा प्रयास गर्दा मानवजातिको जीत सुनिश्चित रहेको विश्वास व्यक्त गरिन ।

राष्ट्रपति भण्डारीले महामारीको संक्रमण रोक्ने उपायका रूपमा अवलम्बन गरिएको लकडाउनका कारण यसपटक नयाँ वर्ष मनाउने र हर्षोल्लास आदानप्रदान गर्ने कार्यमा सावधानी अपनाउन ध्यानाकर्षण गराउँदै नयाँ वर्षले दिगो शान्ति, सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समृद्धिका लागि नयाँ जोश, जाँगर र उत्साह पैदा गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा आलीले नयाँ वर्षको शुभकामना सन्देशमा कोरोना भाइरसको महामारीबाट सिङ्गो मानव जातिसहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौं भन्ने कामना गरेका छन् ।

उनले भाइरसविरुद्धको जारी ‘युद्ध’को अगुवाइ सरकारले गरिरहेको भन्दै एक्लाएक्लै उभिंदै सामाजिक दूरी कायम राखेर अदृश्य शत्रु– कोरोना भाइरसलाई छल्नुपर्छ भन्नेमा सचेत हुनुपर्छ भनेका छन् ।

प्रधानमन्त्री ओलीले स्व–अनुशासनमा रहने र कोरोना भाइरसको चक्र समाप्त हुने अवधिसम्म धैर्यताका साथ पर्खिने नीति अपनाउनु अपरिहार्य रहेकोमा जोड दिए ।

शुभकामना सन्देशमा उनले सङ्कटको यस बेला सिङ्गो राष्ट्र एकताबद्ध छ भन्दै सबै राजनीतिक दलबाट प्राप्त साथ, समर्थन र रचनात्मक सुझावले सरकारलाई अझ उर्जा थपेको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले बैशाख ३ गते लकडाउनको दोस्रो समयावधि पूरा हुने भन्दै यिनै दुई दिनको अवधिमा हुने प्रगतिको आधारमा कोरोना–महामारी विरुद्धको नीति कस्तो हुने भन्ने सरकारले निर्णय गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.