राष्ट्रपतिद्वारा जङ्गी अड्डा भवनको उद्घाटन

हुलाकी न्यूज, काठमाडौं । २०७२ सालको विनाशकारी भुकम्पमा क्षतिग्रस्त भएको जङ्गी अड्डा भवनको पुनर्निर्माण सम्पन्न पश्चात राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नवनिर्मित सात तल्ला भवनको उद्घाटन गरेका छन् ।

नेपाल सरकारले नेपाली सेनाको संरचना अनुसार सुविधा उपलब्ध गराउने उद्देश्यले यस भवनको मिति २०७३ जेष्ठ २४ गतेबाट निर्माण कार्य सुरु भएको थियो ।

नवनिर्मत भवनमा क्यूविकलसहित ४३० कोठाहरु, विभिन्न प्रयोजनका घज्ञ सभाहलहरु रहेको यस भवनबाट नेपाली सेनाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयसहित ४७ वटा कार्यालयहरु सञ्चालनमा रहनेछन् ।

आवश्यकताअनुसार, छतमा हेलिकोप्टर समेत अवतरण गर्न मिल्ने गरी निर्माण गरिएको यस भवनका कार्यालयहरुमा एक हजार जनशक्ति कार्यरत रहने क्षमता रहेको छ ।

कार्यक्रमको सुरुमा प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वागत मन्तव्य राखेका थिए भने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले आ–आफ्नो मन्तव्य राखेका थिए ।

भवन निर्माण सम्बन्धी जानकारी प्राविधिक उपरथी योगेन्द्र बहादुर खाँणले गराएका थिए । मन्तव्य पश्चात राष्ट्रपतिबाट उक्त भवनको निरीक्षण समेत भएको थियो ।

वि.सं. २०१६ सालमा हाल सैनिक मुख्यालय रहेको स्थानमा जङ्गी अड्डा भवनको निर्माण भएको थियो । २०७२ सालमा आएको विनाशकारी भुकम्पबाट नेपाली सेनाका जङ्गी अड्डा भवनलगायत ११०९ वटा भौतिक संरचना क्षति भएका थिए ।

जसमध्ये आंसिक रुपमा क्षति भएका ६९७ वटा भौतिक संरचनाहरुको प्रवलिकरण भएको, पूर्णरुपमा क्षति भएका ४१२ भवन मध्ये उच्च प्राथमिकतामा रहेका छठ वटा नयाँ निर्माण सम्पन्न भइसकेको, १६ वटा भौतिक संरचना निर्माणाधिन अवस्थामा रहेको र अन्य बाँकी भौतिक संरचनाहरु प्राथमिकताको आधारमा आगामी वर्ष निर्माण गर्ने योजना रहेको छ ।

उद्घाटन समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्री गण, प्रदेश प्रमुख, सचिवहरु, पूर्वप्रधानसेनापति, नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरु र सरकारी सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.