राजेन्द्र महतोको विश्लेषणमा राजपालाई असर गरेका चार तत्व


हुलाकी न्यूज, काठमाडौं ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा रहेका ६ वटा दल एकीकृत भइ बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल स्थानीय निकायको निर्वाचनमा अपेक्षित जनप्रतिनिधि पाउन सकेन । दुई नम्बर प्रदेशमा नेपाली कांग्रेसको हाराहारीमा अथवा दोस्रो शक्ति बन्ने आकलन गरिए पनि राजपाको हालको परिणाम संतोष जनक रहेको छैन । तर मतका आधारमा राजपा संतोषजनक अवस्थामा रहेको छ ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले विभिन्न चार कारणले आफुहरुले सन्तोषजनक मत पाउन नसकेको स्वीकार गरे ।

महतोले सबभन्दा पहिले समय अभावका कारण तयारी गर्न नसकेको स्वीकार गरे । तयारीको अभावमा आफुहरु सही उम्मेदबार चयन गर्न नसकेको बताए ।
दोस्रो कारण, अरु पार्टीभन्दा बढी विद्रोह राजपामा भएको महतोले बताए । पार्टीभित्र नेता तथा कार्यकर्ताहरुको व्यवस्थापन हुन नसक्दा केही स्थानीय निकाय राजपाले गुमाउनु परेको उनको बुझाई रहेको छ ।

महतोले सरकारी पार्टीहरुको आर्थिक चलखेल र मतदाता खरिद विक्रीले पनि आफुहरुलाई घाटा लागेको सुनाए । उनले सरकारी पार्टीहरुले मधेशमा पैसाको खोलो बगाएको आरोप लगाउँदै स्थानीय प्रशासनलाई पनि दुरुपयोग गरेको बताए ।

चौथो र सबभन्दा महत्वपूर्ण बदरमतका कारण राजपाले अधिकांश स्थानमा हार व्यहोर्नु परेको उनको बुझाइ रहेको छ । छवटा पार्टीको स्थापित पुरानो चिन्हमा पनि मतदान भएको उनले बताए । पार्टीको पुरानो चिन्हमा मतदान हुँदा राजपाको मत खेर गएको महतोले सुनाए ।

स्थानीय निकायको निर्वाचनमा राजपाले अपेक्षित स्थानीय निकायमा जित हासिल गर्न नसके पनि संतोष जनक मत प्राप्त गरेको राजपाका नेताहरुको भनाइ रहेको छ । करिब ७० मतदेखि ३ सय मतको विचमा राजपाले एक दर्जनभन्दा बढी स्थानी निकाय गुमाएको नेताहरु बताउँ छन् ।

आन्दोलनकारी शक्तिलाई मधेशी जनताले मतदान गरेको बताउँदै आन्दोलन गर्ने पक्षले उचित मत प्राप्त गरेको दाबी महतोको छ । आगामी निर्वाचनमा राजपाले तयारीको समय पनि पाउने र जनताले पनि साथ दिने महतोको विश्वास रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here