हुलाकी न्यूज, काठमाडौं ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले नेपाली कांग्रेससँगको लोकतान्त्रिक गठबन्धन तोड्ने पक्षमा पुगेको छ । कांग्रेस आफैभित्र अल्झिएको र राजपा–फोरमले मागे बमोजिमको सिट दिन नचाहेको भन्दै गठबन्धन तोड्न पक्षमा नेताहरु पुगेका छन् ।

राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले कांग्रेस अल्मलमा परेकोले राजपा–फोरम मात्रै निर्वाचनमा जान सक्ने बताए । महतोले यस्तै अवस्था रहे कांग्रेससँग सहकार्य नहुने बताए । तर राजपाका महासचिव मनिष सुमनले अहिले नै गठबन्धन तोड्ने निर्णय भइनसकेको बताए ।

यता राजपा अध्यक्ष मण्डलकै अर्का सदस्य शरतसिहं भण्डारीका अनुसार यी दुई मधेशवादी दल एक ठाउँमा हुनेछन् र कसैलाई पर्खने पक्षमा छैनन् ।

‘हामीले कांग्रेसकै हितका लागि केही समय खर्चियौं, अब लोकतान्त्रिक गठबन्धनका नाममा थप समय खर्चिने छैनौं,’ नेपाललाइभले लेखेको छ, ‘हामी दुई दल मिलेरै पर्याप्त संख्यामा सिट जित्छौं, हामीलाई कसैको सहारा चाहिँदैन ।’

समाजवादी फोरम र राजपाबीच हरेक मोर्चामा ५०–५० प्रतिशत साझेदारी गर्ने सहमति भइसकेको छ । र, उनीहरुको आँकलन छ, दुई दल मिले मात्र पनि प्रतिनिधि सभामा ४० र प्रदेश सभामा १ सय २० सिट आरामले जितिन्छ । यस्तोमा उस्तै भोट बैंक रहेको काग्रेससँग मिल्नु जरुरी छैन ।

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव त एक्लै भए पनि चुनावमा जाने पक्षमा छन्। स्थानीय तहको तेस्रो चरणको चुनावी नतिजापछि उनी हौसिएका छन् । ‘कांग्रेसलाई हामी चाहिएको हो, हामीलाई कांग्रेस होइन,’ उनले भने ।

राजपा अध्यक्ष मण्डलकै अर्का नेता महेन्द्र राय यादव के भन्छन् भने, ‘हामी २ मधेस केन्द्रित दल मिलेरै उल्लेखनीय स्थान हासिल गर्छौं भने अरुको साथ किन चाहियो ?’

नेता राजेन्द्र महतोका अनुसार अब कांग्रेसले राप्रपा बोकेर हिँडे हुन्छ । ‘मधेशवादी दल उसको साथमा हुने छैनन्, राजमार्ग छेउका केही सिटमा तालमेल गर्न खोजेको हो, ऊ अनिर्णित भएपछि हाम्रो पनि रणनीति फेरिएको छ,’ महतोले भने, ‘कथित लोकतान्त्रिक एकताका नाममा हामी आफ्नो अस्तित्व बिसर्जन गर्न सक्दैनौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.