राजपाप्रति जनताको विश्वास छ : लालकिशोर साह

लाल किशोर साह केन्द्रीय प्रवक्ता राजपा नेपाल

प्रजातान्त्रिक आन्दोलनमा पटकपटक गरी ५ बर्ष जेल परेका लालकिशोर साह छात्रकालमा नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य, राराब क्याम्पस स्ववियु सभापति भएका थिए । विद्यार्थीकालदेखि राजनितिमा सकृय साह २०४९ सालमा स्वतन्त्र उम्मेदवार भै जनकपुर नगरपालिकाको उपमेयर घण्टी छाप लिएर निर्वाचित भएका थिए । उनले जनक मन्दिरको पछाडी तर्फको महत्वपुर्ण जग्गालाई निजीकरण हुनबाट जोगाए । मधेशीहरुसित हुने गरेको विभेदमा विधार्थीकाल देखि नै परेका लाल किशोर साह मधेश आन्दोलनमा सकृक सहभागिता जनाउँदै मधेशी हकअधिकारका लागि निरन्तर लड्दै आएका छन् । उनी हाल राष्ट्रिय जनता पार्टी (राजपा) का प्रवक्त हुन् । पार्टीको आन्तरीक प्रतिष्पर्धा कयौं नेताहरुलाई उछिन्दै उनी मेयरको प्रवल दावेदार छन् । नेता सँग हुकाली न्यूजको लागि गरेको संवादको अंश ः

प्र. दुई चरणको निर्वाचन वहिस्कार गरेका राजपा तेस्रो चरणमा मैदानमा आएको छ ? कस्तो रहला तपाईहरुको अवस्था ?
– सवै भन्दा पहिला त यो बुझ्नुस कि राजपा पार्टी कसकोलागि हो । तपाईले पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा हेर्नु भएको होला कि पार्टी अलग अलग रहेका कारण जनतावाट आलोचना खेप्नु परेको थियो । जनताको एउटा स्वर मात्रै थियो कि तिमीहरु मिलेर आउँ हामी मतदान गर्न पछि पर्दैनौ तर, केहि प्राविधिक त्रुटिहरुका कारण पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा हामीहरुवीच एकीकरण हुन सकेन । तर, अहिले आएर ६ वटा पार्टी मिलेर राजपा गठन भएकोमा यो हामीलाई कसैलाई हेराउने र कसै संग प्रतिस्पर्धा गर्ने वा कस्तो अवस्था रहला त्यो भन्दा बढी महत्वपूर्ण कुरा के छ भने हामीले जनताले भनेका कुरा कार्यान्वयनमा ल्यायौं अव जनताले हामीलाई विश्वास गर्नु पर्छ हाम्रो मुद्दा एउटा हो, एजेण्डा एउटा हो हाम्रो आन्दोलन जारी हो यस्तो अवस्थामा मधेशका जनतालाई अधिकार दिलाउन, संविधान संसोधन गराउन राजपालाई मतदान गर्नु पर्छ जनताले हामीमाथि विश्वास गर्नु पर्छ त्यो हामीहरुको मान्यता हो र यसै अनुसार हुन्छ पनि त्यो हामी तपाईलाई विश्वास दिलाउन चाहन्छौं ।

प्र. माग त पुरा भएननि ?

– हामीहरुको जम्मा तीनवटा माग मध्यये दुईवटा पुरा भयो । एउटा जनसंख्याको आधारमा स्थानीय तह र अर्को शहिद घोषणा । मधेशमा कुल ९ वटा गाउँपालिका र २४ वटा नगरपालिकाको स्तरउन्नति भयो । मधेश आन्दोलनमा सहादत प्राप्त गरेका १३ जना विर मधेशीहरुलाई शहिद घोषणा गर्ने निर्णय भयो । आचार संहिताका कारण घोषणा हुन सकेका छैनन् नत्र घोषणा भई सकेको हुन्थ्यो । ६ महिने मधेश बन्दको क्रममा करिव तीन हजार भन्दा बढी मधेशीहरु घाइते भए । उनीहरुलाई उपचार खर्च समेत दिइने निर्णय भयो । सिकिस्त घाइते भएका मध्ययेका ४३ जनालाई साढे ९ लाख आर्थिक सहयोग र तत्पश्चात आजिवन साढे १२ र साढे ६ हजार प्रति महिनाका दरले दिइने निर्णय भई सकेको छ । कुरा रह्यो संविधान संसोधनको त संविधान संसोधनमा तीन दलले आफ्नो चरित्र देखायो । तीन दलले स्पष्ट संग बुझ्छ कि संविधान संसोधन पास हुन्थ्यो भने मधेशी जनता अधिकार सम्मत हुन्थ्यो र मधेशवाट उनीहरुको पतन निश्चयनै थियो । उनीहरुले षडयन्त्र पूर्वक संविधान संसोधन फेल गराएको हो । यो कुरा हामीलाई पनि थाहा छ र यहाँका जनताले पनि स्पष्ट संग बुझेकै हो । तपाईले पहिलानै सोध्नु भएको थियो कि हामीले निर्वाचन वहिस्कार किन गर्यौ ? मधेशको माग सम्वोधन नगरे सम्म कसरी निर्वाचनमा जान्थ्यौ । तीन दल निर्वाचनलाई लिएर विभिन्न थरिका आलोचना पनि गरे तर, त्यसले मधेशको भलो हुने थिएन् । केहि तीन दलका एजेण्टहरुलेनै राजपा विरुद्ध आलोचनात्मक टिप्पणी गरे र गराएका थिए त्यसवाट राजपा डराउनेवला छैन् ।

प्र. तपाई पनि राजपावाट जनकपुर उप–महानगरपालिकाको मेयर पदको प्रवल दावेदार हुनु हुन्छ नि त ?

– भदै ५ गते संविधान संसोधन फेल भएपछि पार्टीको ६ र ७ गते बसेको पदाधिकारी वैठकवाट तेस्रो चरणको निर्वाचनमा जाने निर्णय गर्यो । उक्त निर्णय ८ गते पार्टीद्वारा पत्रकार सम्मेलन गरि सार्वजनिक गरियो । सो निर्णय सार्वजनि हुने वितिकै जनकपुर उप–महानगरपालिकामा लालकिशोर साहलाई मेयरमा आउनु पर्ने एउटा माहौल बन्दै गयो । यस्तो अवस्थामा मपनि अगाडी आए र आम जनसमुदायमा म प्रतिको जुन सहानुभूति छ त्यसलाई हेरेर पार्टीले पनि मलाईनै मेयरमा प्रतिस्पर्धामा ल्याउने छ त्यसमा म विश्वस्त छु ।

प्र. काँग्रेसको गढ मानिने जनकपुरमा राजपाले जित हासिल गर्न सक्छ ?

– जनकपुर उप–महानगरपालिकामा बसोबास गर्ने जनता धेरैनै चेतनशील र संघर्षशील छन् । यसको परिणाम विगतको चुनावहरुमा पनि देखिएको छ । संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा यहाँवाट मधेशवादी दलनै विजयी भएको छ । विगतमा विभिन्न समयमा भएको मधेश आन्दोलनको जडो भने जनकपुरनै थियो । जनकपुरमा मधेशका अन्य जिल्लाहरु भन्दा कडानै आन्दोलन भयो । जनकपुरनै यस्तो स्थानहो जहाँ ६ महिनाको बन्दमा तीन जनालाई गोली हान्ने सरकार काँग्रेस एमालेकै रहेका कारण यहाँका जनतामा चेतना छ र यहाँका जनता उनीहरु संग कुनै प्रकारका सम्झौता गर्दैन । र उनीहरुलाई परास्त गरेरनै छाड्छ ।

प्र. मेयरमा लड्दै हुनु हुन्छ के–के योजना छ तपाईको जनकपुरलाई बनाउने ?

– जनकपुर यस्तो ठाउँहो जसको अलिकता पनि इमान्दारीताका साथ विकास गरियो भने यहाँ देशी विदेशी पर्यटक तथा श्रद्धालु भक्तजनहरुको घुइचो देशको अन्य धार्मिक स्थल भन्दा बढी हुनसक्छ । जनकपुरलाई हेर्नुस लथालिंग छ । सडक बनाइन्छ दुई महिना पछि भत्किहाल्छ । नाला बनाइन्छ त्यसको अवस्था पनि त्यस्तै हो । सवै भन्दा ठूलो समस्या भनेको यहाँ आउने पर्यटकहरुलाई रोकेर राखिन सकिएको छैन् । पर्यटकहरु नरुकेका कारण यहाँका व्यवसाय फस्टयाउन सकेको छैन् । एउटा पर्यटक विदेशवाट जानकी मन्दिरको नाउँले जनकपुर आउँछ तर, फेरी उनी फर्केर आउन चाहन्न । उनीहरुलाई यस्तो प्रकारको माहौल बनाउनु पर्छ जसले कम्तिमा उनीहरु दुई चार दिन जनकपुरमा होल्ड गरोस र फेरी जनकपुर आउने इच्छा जाहेर गरोस र अरुलाई पनि लिएर आओस । र जनकपुरमा यो कुनै ठूलो कुरा पनि होइनन् र गर्न बढि कठिनाई पनि हुदैन् । जनकपुर व्यवसायमा स्थिर भई सकेको छ । यहाँ पसल मात्र खुल्छ कारखाना खुल्दैन् । यहाँ कसरी कारखानाहरु संचालन गराउन सकिन्छ जसमा हजारौं युवाहरु रोजगार पाउन सकिन्छ । देशको मेरुदण्ड भनेकै युवा हो तर, दैनिक रुपमानै युवाहरु विदेश पलायन भई रहेका छन् । युवाहरुलाई विशेष योजना बनाएर, कसरी रोकिन सकिन्छ भने कुरा तिर लाग्छु । अहिले सम्म जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा राखिन सकिएको छैन् । मेरो योजना रहन्छ कि कसरी विश्व सम्पदा सूचिमा जानकी मन्दिरलाई सूचिकृत गराउन सकिन्छ । जनकपुरलाई स्मार्ट सिटि बनाउनकालागि तयारी गरिनुपर्ने पूर्वाधार तयार गर्ने र २५ बर्ष पछि स्मार्ट सिटि बनाउने मेरो योजना छ । अहिले जनकपुरमा विजुली र लामखुट्टेको ठूलो समस्या हो । यि समस्यालाई पनि तत्कालै समाधान गर्नेछुु भने विश्वास दिलाउन चाहन्छौं ।

प्र. जनकपुरको उप–मेयर भएर काम गरि सक्नु भएछ ? के–के काम गर्न बाँकी रहयो जस्तो लागेको छ ?

– मलाई धेरै काम गर्नु बाँकी छ । सवै कुरा माथि भनिनै सकेका छौं तर, जनकपुरमा एउटा विश्व विद्यालय, सरकारी स्तरको इन्टिच्युट अफ मेडिकल कलेज एण्ड होस्पिटल र विवादित लैण्डफिल साइट जनकपुरबासीकोलागि अतिनै आवश्यक रहेको जस्तो मलाई महसुस भएको छ । गरिव जनताकैलागि यि योजनाहरु मैले बताएको छ् र यहि अवधि भित्र पूरा गर्ने पूर्ण इच्छा शक्तिकासाथ पूरा गर्ने संकल्प लिएको छु ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.