‘योद्धाहरुको शहर’ वीरगंजको पिडा

        जय साह

करीब ६ महीना पहिला म काठमाडौंबाट वीरगंज आउने क्रममा नारायणघाट र मुन्ग्लिंगको बाटो बिग्रेकोले गर्दा  मुग्लिंगबाट नारायणघाट ट्रकले आउने पर्ने वाध्यता परेको थियो। र यहिँ कारणले पनि नारायणघाट हेर्ने अवसर जुर्यो। नारायणघाटले मलाई धेरै प्रभाव पार्यो। सफासुघर, फराकिलो र पिच गरिएको बाटो तथा व्वास्थित गरिएको ट्रैफिक,  ‘वेल-कन्स्ट्रकटेड’ भवनहरु, सफा हवा र सडकको पेटीमा हरिया रुखहरुले मलाई धेरै नै आकर्षित पार्यो। अनि मैले सोचे- सायद यही भएर नै होला देशकै राजधानी काठमाडौंबाट नारायणघाट सार्न यतिकै कुरा गरिदैन। नारायणघाटबाट बस समातेर वीरगंज पुगे।

वीरगंज छिर्न लाग्दा परवानीपुर पुलमा एउटा ‘होर्डिंग बोर्ड’ देखिन्छ। बोर्डमा- “देशकै वाणिज्य र आर्थिक नगरि वीरगंजमा स्वागत छ” भनेर लेखिएको देखिन्छ। तर शहर भित्र छिर्दै गर्दा त्यो वाक्यांश बोर्डमै मात्र गर्व गर्न सकिन्छ भने कुरा महसुस हुदै जान्छ। विगत दुई दशकमा वीरगंजले केहि महत्पूर्ण विकास गरेको छैन तै पनि वीरगंजले औधोगिक, राजनितिक र ऐतिहासिक रूपले बेग्लै छबि बनाएको छ । देशको ‘आर्थिक राजधानी’ र मुलुककै ‘मुख्य प्रवेशद्वार’ को नामले चिनिने वीरगंज अहिले महानगरको परिचय पाएको छ । वीरगंजलाई धेरै पहिला ‘रानी शहर’ भनेर पनि सम्बोधन गरिन्थ्यो। बेलाबेलामा समय र कर्म अनुसार वीरगंजको प्रतीकात्मक नाम परिवर्तन हुदै गएको छ। रानी शहरबाट पहिलो र देस्रो जनआन्दोलनमा देशकै ‘क्रन्तिकारी शहर’ बन्न पुग्यो भने मधेस आन्दोलनको विभिन्न चरणमा वीरगंजले देखाएको बहादुरि र साहसले गर्दा ‘योद्धाहरुको शहर’ नामले प्रचलित भयो।  फरक-फरक समयमा कर्म अनुसार वीरगंजको प्रतीकात्मक नाममा बदलाव भए पनि बदलाव आएको छैन विकासका पूर्वाधारहरुमा ।

भनिन्छ की- ‘विकास वीरगंज भएर जान्छ तर रोकीदैन वीरगंजमा’ । वीरगंजले दिनदिनै आफुलाई मारेर देशलाई बचाईरहेको छ र यो संगै वीरगंज देशको ‘लाइफ लाइन’ हो भन्ने कुरा प्रमाणित गरेको छ । वीरगंजले देशको कुना-कुनामा बिकास पुर्याए पनि बिकास गर्न सकेको छैन आफैलाई । देशलाई धान्दा-धान्दै वीरगंजले आफ्नो कमर भाचेको थाहा नै नपाएको रहेछ । महानगरपालिकाको खाल ओढेर एउटा नगरपालिकाको पूर्वधारमा बाच्न बाध्य भएको छ वीरगंज । दशकौ वर्ष वीरगंज जुन अवस्थामा थियो अहिले पनि त्यही अवस्थामा छ । उही पुराना अनियंत्रित बजार, फोहर र धुवाधुलो, भ्रस्टाचार, सुरक्षा र पूर्वधार संगै स्वास्थ र शैक्षिक संस्थाको गुणस्तरीयतामा कमी, अव्यवस्थित ढल निकास र फोहरमैला, बढ्दो महिला हिंसा र गुंडागर्दी,  र यस्ता अन्य धेरै समस्याहरुले वीरगंजलाई बिकासको मामलामा झन पछाडी पार्दै गईरहेका छन । साथै २०७२ को मधेस आन्दोलनमा भएको लामो बन्द र नाकाबन्दीले वीरगंजलाई विकासको मामलामा झनै पछाडी पारेको छ ।

प्रदेश २ मा संघ र प्रदेश सभाको चुनाव तात्दै जांदा वीरगंजमा पनि चुनावको माहोल तातेको थियो। चुनावमा विभिन्न किसिमका मुद्दालाई लिएर दलहरु होमिएका थिए । सोही क्रममा माओवादीका केहि नेताहरूले घण्टाघरमा वीरगंजलाई प्रदेश २ को राजधानी बनाउने मुद्दालाई लिएर ह्स्ताक्षर अभियान पनि सुरु गरेका थिए । त्यो  ह्स्ताक्षर अभियानले जनसमाजमा धेरै प्रभाव नपारे  पनि सामाजिक सन्जालमा धेरै नै प्रभाव पारेको देखिएको थियो । फेसबुक र ट्विटरमा बहस देखि लिएर विभिन्न पेजमा ‘पोल’ पनि सुरु गरिएको थियो र धमाधम वीरगंजलाई राजधानी बनाउनु पर्छ भनेर समर्थन जनाउदै ‘प्रोफाइल पिक’ पनि परिवर्तन हुन लागेको थियो । केहि मधेसवादी दलका नेता र उम्मेदवारहरुले पनि वीरगंजलाई प्रदेश २ को राजधानी बनाउने मुद्दालाई बढावा दिएका थिए ।

पर्सा जिल्लालाई काँग्रेसको गढ मानिएको ठाउँमा यो पालि काँग्रेसले राम्रैसँग हार बेहोर्नु पर्यो। साथै अघिलो संविधान सभाको चुनावमा पाँच वटा क्षेत्र मध्ये तिन वोटा क्षेत्रमा एमाले ले जित पारेको थियो भने यो पालिको संसदीय चुनावमा मावोबादीसँग गठबन्धन गर्दा पनि शुन्यमा झर्नु पर्यो। पर्सेली जनतालाई आफ्नो मुद्दाले रिझाउन नसके पछी काँग्रेस र एमालेका नेताहरुले वीरगंजको घन्टाघरमा प्रदेश २ को राजधानी वीरगंजलाई बनाउनु पर्छ भनेर रिले अनसन सुरु गरे। हिजो मन्त्रिपरिषद्को बैठकले सात ओटै प्रदेशको अस्थायी राजधानी तोक्यो । प्रदेश २ को अस्थायी राजधानी जनकपुरलाई तोकेको विरोधमा वीरगंज फेरी हिजो देखि तनावग्रस्त बन्न पुग्यो र आजबाट काँग्रेस, एमाले र मावोवादीका नेताहरुले अनिश्चितकालिन वीरगंज बन्दको घोषणा समेत गरे ।

विकास र प्रगतिको सम्बन्धमा सबै भन्दा बढी सम्भावना बोकेको शहर वीरगंज हो । तर कुनै पनि राजनीतिक दलले विकासको मुद्दा वा वीरगंजको भविष्यसँग सम्बन्धित कुनै पनि मुद्दालाई लिएर अघि सरेनन् । राज्यले वीरगंजलाई राजस्व संग्रहको श्रोतको दृस्टीले हेर्दै नै आइरहेको थियो भने वीरगंजका नेताहरुले वीरगंजलाई आफ्नो ‘राजनीतिक स्वार्थ’ को रुपमा मात्र हेरे । र विडम्बनाको कुरा यो छ की वीरगंजको विकास र भविष्यको सम्बन्धमा वीरगंजियाहरुले पनि खासै चासो देखाएनन् । न वीरगंज चिनी कारखानाको लागि कसैले अनसन वा संघर्ष गर्यो न त कृषि औजारको लागि । न वीरगंजमा विश्वविधालयको लागि कसैले टायर बाल्यो न त नारायणी उप-क्षेत्रीय अस्पतालको गुणस्तरीय व्यवस्थापनको लागि । न वीरगंजको नगर सभागृहलाई रेष्टुरेन्ट बनाउदा कसैले प्रदर्शन गर्यो न त व्यवस्थित सडक र बजारको लागि । के वीरगंजमा सार्क सम्मेलन गर्न सकिदैनथ्यो ? के वीरगंजमा ‘दक्षिण एसियाली खेलकुद’ जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकिदैन ? वीरगंज देशकै ‘क्रिकेट हब’ हो । खै त कुनै रास्ट्रिय क्रिकेट प्रतियोगिता भएको ? देशकै ठुलो रंगशाल मध्ये नारायणी रंगशालाको हालत नाजुक बन्दै गइरहेको छ । खै त कुनै राजनीतिक दलले यसको मर्मतको लागि पहल गरेको । वीरगंज देशको आर्थिक राजधानी हो भन्ने कुरा भनाईमा मात्र सिमित छ । खै त कसैले सदनबाट नै वीरगंजलाई देशको आर्थिक  राजधानी घोषणा गराउन पहल गरेको ?

वीरगंजभन्दा कम सम्भावना बोकेका नारायणघाट जस्ता शहरहरु तिब्र गतिमा विकास गर्दै गईरहेका छन् भने वीरगंज दिन प्रति दिन खोक्लो बन्दै गइरहेको छ । अब वीरगंजका युवाहरु जागरुक भएका छन । राजनीतिक मुद्दा र विकासको मुद्दामा फरक छुट्याउन सक्ने भएका छन । आजको वीरगंज बन्द बस एउटा ‘ट्रेलर’ मात्र हो । अब वीरगंजियाहरुले आफै तय गर्नु पर्यो- विनाश चाहियो कि विकास ?

 

#BirgunjDeservesBetter

 

 

-लेखक वीरगंजवासी हुन

 

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.