यस कारण भएन प्रचण्ड–नेपाल र जयशंकरको भेट : कसैलाई भ्रमण, कसैलाई सिङ्गल


हुलाकी न्यूज, काठमाडौँ :
मोदी सरकारका विदेश मन्त्री एस जय शंकर दुई दिने नेपाल भ्रमण सकेर बिहीबार नै भारत फर्किसकेका छन्। तर, उनको चर्चा नेपालमा अहिले पनि जारी छ।

मर्यादा क्रम बिर्सेर नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जयशंकरलाई भेटेको भनी आलोचना हुँदैछ।

राप्रपाका अध्यक्ष कमल थापा र समाजवादीका अध्यक्ष भट्टराईबीच उक्त विषयमा सामाजिक सञ्जालमै विवाद चलेको छ।
पूर्वप्रधानमन्त्री देउवा र भट्टराईले जयशंकरलाई द्वारिकाज होटेलमै पुगेर भेट गरेका थिए। जस विषयमा उनीहरू विवादित बनेका छन्।

तर, भेटघाटका लागि होटेलमा बोलाइएको भन्दै नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाकै नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालले भेट्न अस्वीकार गरेको भनिएको छ।

रोचक कुरा के छ भने विदेश मन्त्री जयशंकरको पूर्वप्रधानमन्त्रीहरूसँग संयुक्त रूपमा भेट्ने र छलफल गर्ने कार्य तालिका थियो। तर, संयुक्त बैठकमा नबसी एक्लै भेट्ने पक्षमा नेकपाका अध्यक्ष प्रचण्ड थिए।

दूतावास स्रोतका अनुसार एउटा होटेलमा पूर्वप्रधानमन्त्रीहरूसँग संयुक्त रूपमा भेट्ने कार्यक्रम तय भएको थियो। तर, प्रचण्डले व्यक्तिगत रूपमा भेट्न खोजेपछि संयुक्त भेटघाटको कार्यक्रम स्थगित भएको थियो।

प्रचण्डको साथ नेकपाका अर्का नेता माधव कुमार नेपालले पनि दिएका थिए।

दूतावास स्रोतका अनुसार नेता नेपाल पछिल्लो एक वर्षदेखि भारत भ्रमण जाने इच्छा व्यक्त गर्दै आएका छन्। तर, भारतीय पक्षले नेता नेपाललाई भारत भ्रमणको निम्तो अहिलेसम्म दिएको छैन। जस कारण नेता नेपाल भारतीय पक्षसँग रुष्ट छन्।

सोही कारण उनी जयशंकरको भेटघाटमा नगई असन्तुष्टि जनाएको दूतावास स्रोतको भनाई छ।

तर, प्रधानमन्त्री केपी ओलीसँग मोदी सरकारको सम्बन्ध राम्रो भएकोले ओलीको विरुद्धमा देखिएका प्रचण्ड र नेपाललाई भेट्ने विषयलाई जयशंकरले प्राथमिकता नदिएको स्रोतको भनाइछ।

पूर्वप्रधानमन्त्रीहरूसँगको संयुक्त भेटको कार्यक्रम स्थगित भएपछि काँग्रेस सभापति देउवाले जयशंकरलाई होटेलमै भेटेका थिए।

सभापति देउवा र जयंशकरको भेट भइरहँदा समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री भट्टराई पुगेका थिए।

बुधवार राती नै परराष्ट्र मन्त्रालयले राखेको रात्रि भोजमा उपप्रधानमन्त्री एवं समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग भेट भए पनि भट्टराईले पुनः बिहीबार यादवलाई सँगै लगेका थिए।

बुधवार राती १० बजेदेखि ११ बजेसम्म राजपा अध्यक्ष मण्डलका नेताहरू पनि द्वारिकाज मै जयशंकरलाई भेटेका थिए।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.