मोरङ, २२ वैशाख । मोरङको उर्लाबारीमा ८ जनामा दादुराको संक्रमण देखिएको छ ।

उर्लाबारी नगरपालिका वडा नम्बर १ र ३ मा एकैपटक आठ जनामा दादुराको संक्रमण देखिएको हो । संक्रमित मध्ये ७ जना वडा नम्बर ३ र एक जना वडा नम्बर १ का बासिन्दा हुन् । ९ जनाको रगत जाँच गरिएकामध्ये ८ जनामा दादुरा संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय मोरङका खोप अधिकृत रामनन्दन यादवले जानकारी दिए ।

उर्लाबारी नगरपालिकाका स्वास्थ्य संयोजक तोयानाथ घिमिरेका अनुसरा उनीहरु सात वर्षदेखि २५ वर्ष उमेरका रहेका छन् । उनले दादुराको संक्रमण देखिएका आठै जना दादुरा खोपमा सहभागी नभएको पाइएको जानकारी दिए । तर, उनीहरुलाई हालसम्ममा दुई पटक भिटामिन ए खुवाइसकेको र उनीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख र सामान्य रहेको घिमिरेले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले दादुरा फैलिएकाले प्रदेश र संघीय सरकारलाई यस बारेमा जानकारी गराइसकेको बताए । उनले उर्लाबारीमा अन्य परिवार र व्यक्तिमा दादुरा सर्न नदिनका लागि आवश्यक सावधानीका उपाय अपनाइएको जानकारी दिए ।

दादुरा उन्मुलनका लागि सरकारले मोरङमा हालै नवौं पटक खोप अभियान सञ्चालन गरेको थियो । अन्तिम पटक गएको १६ फागुनमा उर्लाबारीमा दादुरा रुवेला खोप अभियान सञ्चालन भएको थियो । उर्लाबारीको ९ वटै वडाका ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा रुवेलाको खोप विभिन्न २६ वटा केन्द्रमार्फत लगाउने कार्य भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.