मुख्यमन्त्री राउतद्वारा लोक सेवालाई आग्रह, ‘प्रदेश २ का लागि विज्ञापन नगरिदिनु’

हुलाकी न्यूज, काठमाडौं : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रीय लोक सेवा आयोगलाई प्रदेश २ का लागि विज्ञापन नगर्न आग्रह गरेका छन्।

केन्द्रीय सरकारको अनुरोधमा केन्द्रीय लोक सेवा आयोगले विभिन्न तहका लागि २० हजार कर्मचारी भर्ना गर्ने तयारी गरेको छ। जसका लागि लोक सेवा आयोगले विज्ञापन गर्ने तयारी गरेको छ।

तर, प्रदेश २ सरकारले आफ्नो प्रदेशका लागि आवश्यक कर्मचारी आफै भर्ना गर्ने भन्दै विज्ञापन नगर्न आग्रह गरेको छ।
प्रदेश २ का मुख्यमन्त्री राउतले लोक सेवा आयोगलाई पत्रचार गर्दै भनेका छन्,‘प्रदेश नं. २ मा गठन हुन लागेको प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय तहका लागि कर्मचारी भर्नाको कार्य गर्ने हुनाले प्रदेश नं. २ को प्रदेश स्तर र १३६ स्थानीय तहको हकमा कर्मचारी भर्ना सम्बन्धी विज्ञापन नगरिदिनु हुन अनुरोध छ।’

नेपालको संविधानको धारा ३०२ को उपधारा (२) मा ‘उपधारा (१) बमोजिमको व्यवस्था गर्दा यो संविधान प्रारम्भ हुँदाका बखत सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई नेपाल सरकारले कानून बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरी सेवा प्रवाहको व्यवस्था मिलाउन सक्नेछ’ भन्ने व्यवस्था बमोजिम नेपाल सरकारले कर्मचारी समायोजनको कार्य सम्पन्न गरेको छ।

संविधानको धारा २२७ मा गाउँपालिका र नगरपालिकाको कर्मचारी र कार्यालय सम्बन्धी अन्य व्यवस्था प्रदेश कानून बमोजिम हुने व्यवस्था रहेको छ भने धारा २८५ को उपधारा (३) मा ‘प्रदेश मन्त्रिपरिषद, गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आफ्नो प्रशासन संचालन गर्न आवश्यकता अनुसार कानून बमोजिम विभिन्न सरकारी सेवाहरुको गठन र संचालन गर्न सक्नेछन्’ भन्ने व्यवस्था रहेको छ ।

संविधानको व्यवस्था बमोजिम प्रदेश नं. २ को हकमा प्रदेश निजामती सेवा ऐनको विधेयक प्रदेश सभामा पेश भई अन्तिम चरणमा रहेको जानकारी दिदै मुख्यमन्त्री राउतले धारा २४४ मा प्रदेश लोक सेवा आयोग सम्बन्धी व्यवस्था भए अनुसार प्रदेश लोक सेवा आयोग गठन सम्बन्धी विधेयक प्रदेश सभामा पेश भई अन्तिम चरणमा रहेको बताएका छन्।

‘प्रदेश लोक सेवा आयोग गठन गर्ने तयारीमा प्रदेश सरकार रहेको अवस्थामा विभिन्न पत्रपत्रिका लगायत संचारका माध्यमहरुबाट लोक सेवा आयोगले प्रदेश र स्थानीय तह समेतका लागि कर्मचारी भर्ना गर्न विज्ञापन खुलाउन लागेको जानकारी पाएको छौं।’ पत्रमा भनिएको छ।

मुख्यमन्त्री राउतले प्रदेश नं. २ मा गठन हुन लागेको प्रदेश लोक सेवा आयोगले प्रदेश र स्थानीय तहका लागि कर्मचारी भर्नाको कार्य गर्ने हुनाले प्रदेश नं. २ को प्रदेश स्तर र १३६ स्थानीय तहको हकमा कर्मचारी भर्ना सम्बन्धी विज्ञापन नगरिदिनु हुन अनुरोध गरेका छन्।

उक्त पत्रको बोधार्थ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई समेत पठाइएको छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.