मिथिला क्षेत्रमा मधुश्रावनी सुरू

1053

विराटनगर : नवविवाहिताको मधुश्रावनी पर्व आजदेखि सुरु भएको छ। विशेषगरी मैथिल समुदायका ब्राह्मण, कायस्थ, ब्यास र स्वर्णकार जातिका नवविवाहिताले धार्मिक एवम् सांस्कृतिक रुपमा यो पर्व हर्षोल्लासका साथ मनाउने गर्छन्।

पञ्चमी तिथिबाट सुरु भएको यस पर्वमा आज माटोको वा गाईको गोबरको कलात्मक ढङ्गले नाग, नागिन मूर्ति बनाएर विधिपूर्वक पूजाअर्चना गरी पर्वको शुभारम्भ गरिन्छ।

यस तिथिलाई मौना पञ्चमी तिथि भन्ने गरिन्छ। यो पर्व मनाउनका लागि नवविवाहिताको ससुरालीबाट नयाँ बस्त्र, चामललगायतका खानेकुराका साथै तेह्र दिनसम्म जारी रहने पूजाका लागि आवश्यक पर्ने सामग्री पठाउने परम्परा छ। माटोको नाग–नागिन पनि कोसेलीका रुपमा पठाउने गरिन्छ।

तेह्र दिनको अवधिमा ससुरालीबाट आएका अन्न नै ग्रहण गर्नुपर्ने र नियम निष्ठाका साथ बस्नुपर्ने परम्परा छ। दाम्पत्य जीवनमा आउने कठिनाइको समाधान कसरी गर्ने, वैवाहिक जीवनलाई कसरी सुखमय बनाउने, पतिव्रता नारी कसरी बन्नेलगायतका विषयमा विभिन्न देवी देउताको जीवनमा आएका सुःखद र दुःखद घटनाको सम्बन्धमा कथा वाचनको माध्यमबाट आफ्नो दाम्पत्य जीवनलाई सुखमय बनाउने उद्देश्यले नवविवाहितालाई प्रशिक्षण एवम् तालिम प्रदान गर्नु नै यो पर्वको मुख्य उद्देश्य छ।

प्रत्येक नवविवाहिताले गौंरीको पूजा गरी मधुश्रावणी पर्वको पूजाका कार्य विधिवत् रुपमा सुरु गर्छन्। यस पर्वका विभिन्न कथाको सम्बन्धमा जानकारी राख्ने महिलाले प्रत्येक दिन कम्तीमा एउटा कथा सुनाउने गर्छन्  टोलभरीका महिला एक स्थानमा जम्माभई ध्यानपूर्वक कथा श्रवण गर्ने र पूजाको अन्त्यमा धार्मिक एवम् पर्वसँग जोडिएका गीत गाएर सो दिनको पूजा विसर्जन गरिन्छ।

पहिलो दिन नाग–नागिन देवीदेउताको पूजा गरी शुभारम्भ गरेपछि दोस्रो दिन महादेवको मानस पुत्री बिहुलाको कथा, बिसहराको कथा,मङगला गौंरीको कथा र तेस्रो दिन पृथ्वीको जन्म र समुद्र मन्थन कथाका बारेमा जानकारी गराइन्छ।

त्यसपछि, क्रमिक रुपमा सतीको कथा, पतिब्रताको कथा, महादेवको परिवारको कथा, गङ्गाकी कथा, गौंरी अर्थात पार्वतीकी जन्म, तपस्या, र विवाह, गौंरीकी माता मैनाकी मोहभङ्गको सम्बन्धमा नवविवाहितालाई जानकारी गराइन्छ।

त्यसैगरी, कात्तिक र गणेशको जन्म, सन्ध्याको विवाह र लिलीको जन्म, विवाह, पतिब्रता सुकन्याकी कथा, बाल वसन्त, गोसाउनिकको कथा, राजा किरकको कथा र गणेशद्वारा सोहागको मन्थन र वितरणको सम्बन्धमा जानकारी गराइन्छ।

मधुश्रावणी पर्वको अन्तिम दिन महिलालाई भोज खुवाउने परम्परा छ। यो भोजभतेर नवविवाहिताको ससुरालीको पक्षबाट गर्ने गरिन्छ । रासस

तस्वीरहरू: निरन्जन झा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here