हुलाकी न्यूज
जनकपुरधाम । मिथिलाञ्चममा हरेक वर्ष हुने १५ दिने धार्मिक यात्रा मिथिला मध्यमिकी परिक्रमा सुरु भएको छ । आइतबार नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मिथिलाको चर्चित धार्मिक यात्रा मध्यमिकी परिक्रमाको शुभारम्भ गरेका हुन् ।

उनले मिथिला बिहारीको डोला काँधमा बोकेर परिक्रमा यात्राको शुभारम्भ गरेका छन् । मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट भजन, कीर्तनसहित निस्किएको डोला उनले केही दूरीसम्म बोकेका थिए ।

त्यसअघि भएको कार्यक्रममा अध्यक्ष दाहालले परिक्रमामा निकालिने डोला संस्कृतिको प्रशंसा गर्दै नेपालीसहित भारतीय हिन्दू धर्माबम्बलीले निकाल्ने मध्यमिकी परिक्रमाको ठूलो महत्व रहेको बताए । उनले मिथिला बिहारी परिषद् गठन र मिथिला बिहारी मन्दिरमा धर्मशाला निर्माणमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए । फागुन औंशीदेखि पूर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी र भारतका दर्जनौं धार्मिक ऐतिहासिक ठाउँ गरी १ सय २० किलोमिटरको यात्रा गरिन्छ ।

१५ दिने परिक्रमाका क्रममा जनकपुरको हनुमाननगर, विहारको कलनास्थित कल्यानेश्वर, फूलहरस्थित गिरिजास्थान, नेपालको महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही, भारतका करुण, विसौल हुँदै अन्तिम अर्थात् १५ औ दिन जनकपुरको अन्तगृह परिक्रमा गरी मध्यपरिक्रमा सम्पन्न हुनेछ । परिक्रमामा नेपालका साथै भारतका पनि साधु, सन्त, भक्तजन तथा सर्वसाधारण सहभागी हुने गर्छन् ।

सहभागीहरू हरेक पठाबस्थलमा साँझ पुग्ने र राति बास बसेर भोलिपल्ट अर्को पठाबस्थलमा पुग्ने गर्छन् । १५ औं दिनमा जनकपुरधाममा अन्तगृह परिक्रमा पूरा भएको भोलिपल्ट होली पर्व बनाउने परम्परा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.