फेसबुक–नित्यान्द

जनकपुरधाम, २ वैशाख । मिथिलाञ्चलमा आज जुडशीतल पर्व मनाइँदैछ ।

प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यो पर्व मिथिलाञ्चलमा परिवारसँग रमाइलो गरी मिठो पकवानहरू खाएर मनाउने गरिन्छ । तर, यस वर्ष लकडाउनका कारण केही प्रभाव परे पनि यो पर्व घरभित्र मनाउने परम्परा रहेकाले अन्य पर्वको जस्तो धेरै प्रभाव परेको छैन ।

जुडशीतलको जुड भनेको जुडाउनु अर्थात् मान्यजनबाट आशीर्वाद लिनु हो । यसले शीतलताको कामनालाई बोध गराउँछ । यो प्रकृतिसँग जोडिएको लोकपर्व भएकाले यसमा प्रकृतिमैत्रीका सुन्दरतम सन्देश अन्तरनिहित छन् ।

फेसबुक–राजेन्द्र यादव

सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गराउनु यस पर्वको उद्देश्य रहेको छ ।

यस पर्वमा घरका सबैभन्दा ज्येष्ठ सदस्यले बिहानै उठेर नुहाइधुहाइ गरी जल लिएर आफ्ना ससाना बालबालिकाको तालुमा जलसिञ्चन गरी आशीर्वाद दिने गर्छन् ।

यसो गर्दा बालबालिकाको मस्तिष्कले शीतलता पाई वर्षभरि नै उसले राम्रो काममा मन दिने विश्वास छ । यस पर्वमा बिहानै विभिन्न किसिमका तरुवा (पकौरा) खाना, करीबरी पकाई सूर्योदयपश्चात् आफ्नो इष्टदेवलाई चढाई अनि मात्र भोजन गर्ने गरिन्छ ।

यस दिन चुल्होमा आगो बालेर खान नपकाउने चलन पनि रहेको छ । अघिल्लो रात पकाएको बासी खाना खानाले शीतलता प्राप्त हुन्छ भने जनविश्वास पनि छ । यस पर्वमा पुर्खाका लागि भनेर जलले भरेको घैँटो, सतुआ, जौ, आँपको टिकुला तथा पङ्खा दान गर्ने परम्परासमेत रहेको छ ।

जुडशीतल पर्वमा गृहिणीले इष्टदेवलाई पूरै निको पातमा सतुवा, आँपको टिकुलाबाट बनाइएको चटनी (अचार) पनि चढाउने चलन छ । मिथिलाञ्चल मुख्यतः कृषि प्रधान क्षेत्र भएकाले यहाँ मनाइने चाडपर्वमा कृषि संस्कृतिको सुस्पष्ट प्रभाव प्रतिपादित हुन्छ ।

जुडशीतल पर्वमा प्रयोग हुने सबै कृषि कर्मबाट उत्पादित उत्पादन हुन्छन् । यस पर्वलाई वैशाखीसमेत भन्ने गरिएको छ ।

यसमा सातुको प्रधानता रहन्छ । यस पर्वमा रूखका जरामा पानी हाल्ने र इष्टदेवलाई बासी, बरी, भात, पुरी र तरकारीजस्ता परिकार पनि चढाइने गरिन्छ । यस पर्वलाई हिलोको पर्व पनि भनिन्छ ।

फेसबुक–चन्द्र यदुबंशी

सुकिसकेको इनार र पोखरीमा नयाँ जलले सिञ्चित गर्ने तथा सफा गरेर चुन, पोटास राखी तिनलाई स्वच्छ बनाउने काम पनि गर्ने गरिन्छ । इनार र पोखरीमा ससाना बालकदेखि वृद्धसम्म जम्मा भएर माटो दल्ने गर्छन् ।

बिहानभरि गाउँले एकापसमा हिलो छ्याप्ने काम गर्दछन् । तर, यसपटकमे लकडाउनका कारण बाहिर जान नपाउँदा हिलोको पर्व मनाइएन । आरामको क्षणमा आमोदप्रमोदका लागि मनाइने यो पर्वले भ्रातृत्वको भावना तथा एकापसमा प्रेम गर्ने सन्देश दिने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.