‘मिता आब कोना चलब’ : मधेश आन्दोलनपछिको सिर्जित मनोविज्ञान

हुलाकी न्यूज, काठमाडौं । मधेश आन्दोलनपछि पहाड र मधेशलाई हेर्ने दृष्टिकोण परिवर्तन गरी सद्भाव र एकता कायम गर्न आह्वान गरी तयार पारिएको नाटक ‘मिता आब कोना चलब’ अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको छ ।

कलाकर्मी रामभजन कामतको लेखन तथा निर्देशन रहेको नाटकमा पहाडी र मधेशी नागरिकबीच उत्पन्न मतभेद, यसका कारक र आपसी सद्भावका लागि समुदायबाटै गरिएका प्रयत्नका विषय उठान गरिएको छ ।

बैशाख २० गतेदेखि आगामी जेठ ५ गतेसम्म नाटक मञ्चन हुने निर्देशक कामतले बताएका छन् । ‘दुई पटक मधेश आन्दोलनका क्रममा पहाडी र मधेशी समुदायबीचको अन्तरद्वन्द्वले ज्यादै नकारात्मक प्रभाव पार्यो,’ कामत भन्छन्, ‘जसका कारण तराईमा बस्ने पहाडी मूलका र पहाडमा बस्ने मधेशी मूलका नेपाली जनताले लामो समयसम्म तनाव झेल्नु पर्यो, तर भावनात्मक र आपसी एकताका कारण यो अवस्था लामो समय रहेन, जनतामा एकता पुनः कायम भयो, यही विषयलाई नाटकमार्फत प्रस्तुत गरिएको छ ।’

साथै ‘मिता आब कोना चलब’ले मधेश आन्दोलनपछिको तराईका नागरिकमा सिर्जित मनोविज्ञानलाई पनि प्रस्तुत गरेको उनले बताए। मिता आब कोना चलब अर्थात् मितज्यू अब कसरी जाने? नाटकमा सामान्य कृषि कर्म गर्ने मानिसको परिवारमा पारेको असरलाई जीवनत शैलीमा प्रस्तुत गरिएको छ ।

पहाडी खस र मिथिला संस्कृतिको संयोजनले नाटकलाई अन्तरआञ्चलिक विशेषता प्रदान गरेको छ। नाटकमा नेपाली र मैथिली दुवै भाषा प्रयोग गरिएको छ ।

निर्देशक कामतसहित सुनिता घिमिरे, कौशिला कामत, मिलन नेपाली, विकास पराजुली, राजेश ठाकुर, भरत कार्की, सञ्जय गुप्ता, आदित्य मिश्रा, अमृता श्रेष्ठ, अमृत स्वाँर र शंकर पोखरेलले अभिनय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.