काठमाडौं, २९ चैत । शिक्षा तथा मानव विकास स्रोत केन्द्रले निजी विद्यालयको माध्यमिक तहसम्मको एक महिनाको शुल्क छुटको निर्णय तत्काल कार्यान्वयन गर्न स्थानीय तहलाई परिपत्र गरेको छ ।

केन्द्रले कोभिड १९ का कारण प्रभावित क्षेत्रका लागि राहत सुविधासम्बन्धी निर्णय कार्यान्वयन गर्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई परिपत्र गरेको हो ।

मन्त्रिपरिषद्को गत १६ गतेको बैठकले निजी विद्यालयलाई एक महिनाको शुल्क छुट दिने निर्णय गरेको थियो ।

यो निर्णय कार्यान्वयन गर्ने कार्ययोजनाअनुसार निजी विद्यालयले माध्यमिक तहसम्मको एक महिनाको शुल्कमध्ये आवास शुल्कबाहेक अन्य सबै प्रकारको शुल्क छुट दिने व्यवस्था गर्न परिपत्र गरिएको केन्द्रका निर्देशक गेहनाथ गौतमले जानकारी दिए ।

केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा विकास समन्वय एकाइहरू, प्याब्सन, एनप्याब्सन र हिसानलाई कार्ययोजना कार्यान्वनका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको छ ।

साथै केन्द्रले निर्णय कार्यान्वयनको प्रगति विवरण तत्काल केन्द्रमा पेस गर्न निर्देशन दिएको छ । निजी विद्यालयले चैत महिनाको शुल्क लिइसकेकाले केन्द्रले महिना नतोकी एक महिनाको शुल्क छुट गर्न परिपत्र गरेको हो ।

यो निर्णयअनुसार निजी विद्यालयले नयाँ शैक्षिक सत्र लागे पनि एक महिनाको शुल्क छुट दिनुपर्नेछ ।

केन्द्रले निर्देशन दिए पनि यतिबेला धेरै विद्यालय बन्द रहेका कारण शुल्क छुटको अनुगमन व्यावहारिक नभएको सरोकारवालाको गुनासो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.