महिनाबारी भएकीलाई हिरासतमा लुगा फेर्न नदिए पछि

3425

हुलाकी न्यूज, चन्द्रगढी(झापा) । शुक्रबार राती साढे आठ बजे कौशिला देवी महतोलाई प्रहरीले गौरीगंजको कृपाल चौकबाट पक्राउ गर्यो । गौरीगंज हुक्का गाछी वडा नम्बर पाँच घर भएकी महतोलाई पक्राउ पुर्जी नदिइ चौकमा बसी रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

शुक्रबार साँझ पक्राउ गरेपनि प्रहरीले महतोलाई शनिबार पक्राउ गरिएको बताउँछन् ।

शुक्रबार राती र शनिबार राती महतोलाई गौरीगंज प्रहरी चौकीमा राखिएको थियो । गौरीजंग चौकीमा राखिएको अवस्थामा महतोलाई कसैसँग भेट्न दिइएन । न त लुगा नै फेर्न दिइयो ।

महतोकी छोरीले हुलाकी न्यूजसँग कुराकानी गर्दै भनिन्,‘शुक्रबार साँझ पक्राउ भएकी आमालाई आइतबार दिउँसोसम्म कसैसँग भेट्न दिइएन । आमा महिनाबारी हुनुहुन्थ्यो । उहाँले लुगा फेर्न माग्दा पनि प्रहरीले दिएन । सोमबार मात्रै हामीले कपडा दिएका छौं । विखण्डनकारी, आतंककारी भनेर दुबै रात प्रहरीले हिरासतभित्र यातना दिएको छ ।’

आइतबार दिउँसो जिल्ला प्रशासनमा हाजिर गराएपछि महतोलाई जिल्ला प्रहरी कार्यालय चन्द्रगढी प्रहरीमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्माले हुलाकी न्यूजसँग भने,‘कौशिला देवीमाथि सार्वजनिक अपराधको मुद्दा लगाइएको छ । जिल्ला प्रशासनले म्याद एक साताको म्याद थप गरेपछि हिरासतमा राखेका छौं । उनलाई कुनै यातना दिइएको छैन ।’

प्रहरीका अनुसार महतो स्वतन्त्र मधेश गठबन्धन झापाकी संयोजक हुन् । विगत केही दिनदेखि महतोले स्थानीय निकायको निर्वाचनमा मतपत्रको कोठा बाहिर मतदान गर्न विभिन्न गाउँ तथा टोलहरुमा प्रचार गर्दै आएकी थिइन् । महतोले विभिन्न ठाउँमा सर्वसाधारणलाई जम्मा पारी निर्वाचनको सक्रिय बहिस्कार गर्न आग्रह गर्दै पर्चाहरु बाँड्दै आएकी थिइन् ।

डीएसपी शर्माका अनुसार महतो चुनाव विरोध अभियानमा लागेकोले उनलाई पक्राउ गरिएको हो । महतोको साथबाट डा.सीके राउतको पर्चा, पम्प्लेटहरु फेला परेको छ ।

यता महतोको परिवारजनले हिरासतभित्र यातना दिइएको भन्दै मावन अधिकारवादीहरुसँग सहयोग माग गरेकी छन् । महतोकी सहकर्मी दशरथ मुखियाले प्रहरीले म्याद थपबारे जानकारी नदिएको बताउँदै कुनै पक्राउ पुर्जी अथवा कागजात नदिएको बताए ।

1 COMMENT

  1. aafno hak ko laagi ladan napaune yo kaha ko niyam ho
    ra kun kanunko kitabma lekheko xa .
    jantalaI banduk ko aadmaa daraer chunaab ma sahbhagi garaunu kahako niyam ho.
    chunab ma jantale vote garos ya bahiskaar garos tyo janta mathi depend hunx.
    jay matribhumi jay madhesh jay nepal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here