महन्थ ठाकुर भन्छन्,‘सरकारमा सहभागी हुन्छ भन्ने कुरा बकवास’


काठमाडौं :
संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएसँगै संघीय संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पनि सरकारमा सहभागी हुने चर्चा चलेको छ।

सत्तापक्षकै नेताहरुले राजपालाई सरकारमा सहभागी गराउने तयारी भइरहेको बताइरहेका छन्।

राजपाकै एक महासचिवले पनि सरकारमा सहभागी हुने तयारी भइरहेको वक्तव्य दिएका छन्।

राजपाका महासचिव केशव झाले राजपा सरकारमा सहभागी हुने तयारी गरिरहेको उल्लेख गर्दै सभामुखका लागि राजपाका संयोजक महन्थ ठाकुरलाई प्रस्ताव पनि आएको र ठाकुर सभामुख पद स्वीकार गर्न तयार रहेको बताए।

तर, राजपाका संयोजक महन्थ ठाकुरले सरकारमा सहभागिताको विषयलाई अस्वीकार गरेका छन् भने सभामुख बन्ने विषयलाई पनि बकवास भनेका छन्।

आज मात्रै गृह जिल्लाबाट फर्केका संयोजक ठाकुरले भने, ‘सरकारमा सहभागिताका विषयमा अहिले कुनै छलफल भएको छैन। औपचारिक कुराकानी पनि भएको छैन। हाम्रो भनाई प्रष्ट छ, संविधान संशोधन र रेशम चौधरीलगायतका विषयहरुलाई सरकारले समाधान नगरेसम्म हामी सरकारमा सहभागिताका बारे सोच्दैनौं।’

तपाईँलाई सभामुख बनाउने प्रस्ताव आएको भन्ने प्रश्नमा ठाकुरले भने, ‘यस्तो बकवास कुरा कसरी आयो थाहा भएन।’

पार्टीका निर्वाचित सांसद रेशम चौधरीका विषयमा आफुहरुले सरकारलाई बारम्बार दबाब दिएको ठाकुरले बताए पनि सरकारमा सहभागिताका विषय सञ्चारमाध्यममा आएकोप्रति आश्चर्य व्यक्त गरे।

सरकारसँग स्पष्ट दुई तिहाइ भएकाले अब संविधान संशोधन प्रक्रिया अगाडि बढाउनु पर्ने ठाकुरले बताए।

संविधान संशोधनका लागि दबाब दिन राजपाले पुनः सरकारसँग छलफल गर्ने तयारी गरेको छ। संविधान संशोधनका लागि फोरमसँग सहमति भए पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन।

राजपाले पुनः सरकारलाई ध्यानाकषर्ण पत्र अथवा ज्ञापन पत्र दिने तयारी गरिरहेको जनाइएको छ। असार ४ गतेबाट हुने भनिएको राजपाको राजनीतिक समितिको बैठकले थप निर्णय गर्नेछ।

आफुखुशी प्रचारवाजीमा राजपाका महासचिव

केही दिन यता राजपाका महासचिवहरुले विवादित वक्तव्य दिइरहेका छन्। पार्टीमा छलफल नै नभएका विषयहरुलाई मिडियामा ल्याउने काम महासचिवहरुले गरेको भन्दै अध्यक्ष मण्डलका नेताहरु आक्रोशित भएका छन्।

राजपाका महासचिव मनिष सुमनले प्रदेश २ को सरकारबाट राजपा बाहिरिने बताएका थिए। जसलाई अध्यक्ष मण्डलको बैठक बसी प्रेस विज्ञप्ति जारी गरी खण्डन गर्नु परेको थियो। राजपाको अध्यक्ष मण्डलले प्रदेश २ सरकारको विरुद्धमा नबोल्न नेताहरुलाई निर्देशनसमेत दिएको थियो।

यसैबीच महासचिव केशव झाको वक्तव्यलाई संयोजक ठाकुरले खण्डन गरेका छन्।

http://pahilopost.com/content/20180612163357.html

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.