महन्थ ठाकुरलाई जेपी गुप्ताको पत्र : मधेश आन्दोलन परिणामहिन

453

जेपी गुप्ता

कठिन र अपमानजनक थुनामा रहनु पर्दाको बखतमा एक पटक बीपी कोईरालाले आत्महत्या गर्ने विचार गर्नु भएको प्रसंग उहाँको स्वंय लिखित जीवनीमा छ ।

ओखलढुंगा काण्डमा राम, लक्ष्मण जस्ता कयौं मेघावी क्रांतिकारीहरू निर्ममताका साथ मारिंदा निरास बीपीलाई हामीले भेटेको आज संझिन्छौं ।

भारतको निर्वासन परित्याग गरी नेपाल फर्किन लाग्दा गणेश मान जी ले बीपी कै सम्मुख “कोईराला जी ले मन्द बिष होईन बिष नै पिउन लाग्नु भएको हो ।” भन्ने प्रतिकृया दिनु हुंदा पनि साक्षी भयौ ।

राजनीतिमा रहदां, बस्दा, संघर्ष गर्दा चरम निराशा तथा असफलताका यस्ता असंख्य उदाहरणहरू हाम्रा सामु थियो । उ बखत राजनीति अगाडी टाढाँ टाढाँसम्म उज्यालो नदेखिने टनेल वा सुरूंग जस्तो थियो । तर, हामीले हिम्मत हारेनौं । मूल्य, मान्यता र संकल्पलाई त्यागेनौं । महन्थ ठाकुर जी यी सब सन्दर्भमा म जस्ताका लागि एक आदर्श नै हुनुहुन्थ्यो ।

नेपाली कांग्रेसको केन्द्रीय समितिमा महन्थ ठाकुर जी ले पहिलो पटक गणतन्त्रको माँग गर्नु भएको थियो । अरिंगालको गोलो फुटेको जस्तो भएको थियो । महन्थ जी प्रवासिनु पर्यो । अन्तत: गणतन्त्रलाई मुलुकले नै स्वीकार गर्यो । पूर्व राजा ज्ञानेन्द्रले गणतन्त्रका राष्ट्रपति विद्या भण्डारीलाई सादर आगवानी गरेको तस्वीर हेरेर हामी आज अनेकन् लख काटीरहेका छौं । तर, आजको सत्य यही हो कि हामी गणतन्त्रमा छौं ।

महन्थ जी मधेसको राजनीतिमा आउनु हुदाँ कतिपयले मन नपराए पनि “निरव अध्यारोमा चांदीको घेरा” भनि अपेक्षा गर्ने पर्वतेहरूको संख्या ठुलै थियो । यो दुर्भाग्य हो कि, पछि पहाडे-मधेसीमा ध्रुविकृत भएको परस्पर घृणाको राजनीतिमा ती पर्वते मुर्धन्य व्यक्तित्वहरू पनि ध्रुविकृत हुनगए ।

मान-अपमानको के कुरा गर्ने ? आस्थाको कारणले हामी केही सदाका लागि समाप्त पारिएका छौं । कुनै समय हाम्रा निवासमा पद पाउँनाका लागि अपेक्षाभिलाषी भएर पर्खने गरेकाहरू पछि हाम्रा लागि दण्डाधिकारी भए । जुन वकिलको ‘वायोडाटा’ हेरेर मैले उनमा न्यायिक चरित्रको अनुपस्थिति र आत्मश्लाघा तथा प्रतिशोधको ‘कैकेय’ चरित्र भनी मंत्री मंडलको बैठकमा उल्लेख गरेको थिए; उनि म जस्तालाई राजनीतिक ब्रम्हनालमा सुताउने नियतिका निर्धारक हुन पुगिन् ।

यी सबै भोगे पनि, गुमाए पनि; लोकतान्त्रिक आदर्श, मुलुक प्रतिको आस्था, बिरोधको शांतिपूर्ण माध्यम प्रतिको बिश्वासलाई हामीले छोडेनौं । छोड्नु हुदैन । आजका कतिपय भूईफुट्टा राजनीतिक नेताहरूले हामी उपर जे जस्तो व्यवहार, अन्याय र हाम्रो अपमान गरेपनि यस मुलुकको भूमिले त हामीलाई ‘नाम’ दिएकै हो नि ! हामी यहाँको भूमीमा बिऊ छर्छौ, उ फल दिन्छिन् । सिंहदरबारले बिभेदको विधान बनाउँछ । मुलुकको भूमिले त बिभेद गरेको छैन ! महन्थ ठाकुर कसरी त्यस सीमा र आदर्शलाई परित्याग गर्न सक्नु हुन्छ र ?

कुनै पनि भावावेशमा, अपमान र ग्लानीमा, धोकाको अनुभूतिमा, नैराश्य र अवसादमा पनि हामीले यस भूमीको बिरूद्ध हतियार उठाउने कुरा गर्नु हुन्न् । बिखण्डनको कुरा गर्नु हुदैन ।

मधेस आन्दोलन हाललाई परिणामहीन भएको छ । गन्तव्यहीन भएको छैन । शांतिपूर्ण माध्यमको बिकल्पहीन अवस्थामा पुगेको छैन । “मधेसको लागि राजनीति गर्ने” र “मधेसको नाममा राजनीति गर्ने” यसमा पछिल्लो कित्तालाई रोजेर अगाडी बढनु पर्यो-महन्थ जी ले । महन्थ जी रिसमा जे पनि बोल्ने मानिसमा दरिनु भएन ।

भीडको निर्देशमा न हिडौं !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here