मन्त्री महासेठ भन्छन्,‘जनकपुरको यातायात कार्यालय सार्ने वा कोटा घटाउने निर्णय भएको छैन’

हुलाकी न्यूज, काठमाडौँ : संघीय सरकारका भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले जनकपुरको यातायात कार्यालय सार्ने अथवा कोटा घटाउने बारे कुनै निर्णय नभएको बताएका छन्।

मन्त्री महासेठले हुलाकी न्यूजसँग कुराकानी गर्दै भने,‘जनकपुरको यातायात कार्यालय सार्ने वा कोटा घटाउने कुनै पनि निर्णय भएको छैन। मिडियामा आएको समाचार गलत हो।’

महासेठले जनकपुर यातायात कार्यालयलाई बर्दिबास सार्न लागेको भन्दै जनकपुरमा दुई दिनदेखि विरोध प्रदर्शन भएको छ। यातायात कार्यालय सार्नुका साथै कोटा घटाएर बर्दिबासलाई दिइएको आरोप पनि उनीहरूको रहेको छ।

तर मन्त्री महासेठले उक्त आरोपको खण्डन गरेका छन्। उनले कार्यालय सार्ने अथवा कोटा घटाउने विषयमा कुनै पनि निर्णय नभएको बताएका छन्।

साथै मन्त्री महासेठले हल्लाकै भरमा विरोध प्रदर्शन नगर्न आग्रहसमेत गरेका छन्।

जनकपुरकै शाखा कार्यालयको रूपमा रहेको बर्दिबासस्थित यातायात कार्यालयलाई दैनिक ३ सय ६० थान सवारी चालक अनुमतिपत्र जारी गर्न यातायात व्यवस्था विभागले अनुमति दिएको आरोप लगाइएको छ भने जनकपुरस्थित यातायात व्यवस्था कार्यालयलाई दुई पांग्रे र चार पांग्रे गरी मात्र १ सय ८० वटा लाइसेन्स प्रदान गर्न स्वीकृति दिइएको प्रदर्शनकारीहरूको भनाई छ।

यसैबिच बर्दिबासको कार्यालयलाई कमजोर बनाउन खोजिएको भन्दै बर्दिबासमा पनि विरोध प्रदर्शन भएको छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.