मन्त्री मण्डल भन्छन्,‘कष्ट झेलेर पनि मधेश आन्दोलनाई सार्थक बनाउंछु’(अन्तरवार्ता)

विद्यार्थी राजनीतिबाट मधेश राजनीतिको जिम्मेवार ओहदामा पुगेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सहमहामन्त्री सुरेश मण्डलले बुधबार मात्रै उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्रीको शपथ लिए। सिरहा जिल्लाबाट प्रदेश सभामा निर्वाचित मण्डलको केन्द्रीय राजनीतिमा पनि छुटै पहिचान छ।

नेपालको स्थायी सत्ताप्रति सँधै आक्रमक रहँदै आएका मण्डल मधेश आन्दोलनमा अग्रणी भूमिका खेलेका थिए। प्रदेश २ को सरकार र मधेश राजनीतिका विषयमा हुलाकी न्यूजका लागि सम्पादक बीपी साहले गरेको छोटो कुराकानीको सम्पादित अंश।

० तपाईले उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ। तपाईको मन्त्रालयसँग सरोकार राख्ने क्षेत्रहरुलाई कसरी अगाडि बढाउने सोच्नु भएको छ?

सबभन्दा पहिले त यो मेरो मन्त्रालय अन्तरगतको पहिलो जिम्मेवारी हो। दोस्रो कुरा, म राज्य मन्त्री छु। तर पनि मेरो जिम्मेवारी महत्वपूर्ण छ। सबभन्दा पहिले त आफ्नो विभागीय मन्त्रीसँग अवस्था के छ कस्तो छ भन्ने जानकारी पाउनेछु। त्यस पछि यसका क्षेत्रहरुका विषयमा जानकारी लिदैछु।

खास गरी मेरो सोच के छ भने मधेशको दुईवटा विशेषता छ। पहिलो जमिन र दोस्रो जनसंख्या छ। यो दुईवटा महत्वपूर्ण शक्ति मधेशसँग छ।

जमिन कृषिसँग बढी जोडिन्छ। जनसंख्यालाई कसरी उपयोग गर्ने भन्ने विषयमा सोचेको छु। पहिलो चरणमा म सफल भए भने कम्तिममा मधेशका आठ वटा जिल्लामा एक–एक हजार जनालाई रोजगारी दिलाउने प्रयास गर्नेछु। जसका लागि आठ वटा जिल्लामा न्यूनतम् एक–एक वटा उद्योग सञ्चालनमा ल्याउनेछु। यसबाट मेरो कामको थालनी गर्नेछु।

त्यसैगरी पर्यटनको कुरा छ, वातावरणको कुरा छ, वातावरणीय हिसावले मधेश सबभन्दा चुनौतिपूर्ण अवस्थामा छ। मधेशमा जुन समयमा पानी पर्नु पर्ने हो त्यो समयमा खडेरी पर्छ र जुन समयमा सुखाको आवश्यकता पर्छ त्यो समयमा बाढी आउँछ। अनावश्यक रुपले कटानी र डुबान भइरहेको छ। गर्मीमा धेरै गर्मीले मान्छे मर्छन् जाढोमा धेरै जाढोले मान्छे मर्छन्। वातावरणीय असन्तुलनका कारण भएको हो। यो वनसँग जोडिएको छ। वातावरणीय सन्तुलनका लागि विज्ञहरुसँग छलफल गरी यस क्षेत्रमा काम गर्ने तयारी गरेको छु।

० अनी मधेशको पर्यटनका क्षेत्रमा?

मधेशको पर्यटकी क्षेत्रलाई पनि अगाडि बढाउने विचार गर्दैछु। मधेशको जानकी मन्दिर, सिमरौनगढ, सखरा भगवती, सल्हेस फुलबाईर, बाबाताललगायतका क्षेत्रलाई विश्वमा कसरी चिन्हाउने विषयमा पनि काम गर्नेछु। मधेशको जुन सकारात्मक पक्षहरु छन्, जो सुन्दरता छ त्यसलाई कसरी विश्वमा परिचित गराउने त्यस विषयमा काम गर्ने मेरो प्राथमिकता हुनेछ।

त्यसैगरी चुरे संरक्षणको सवाल छ, चुरेसँग मधेशको भविष्य जोडिएको छ। यो विषयहरुमा म केन्द्रीत रहनेछु।

० तपाईले यतिका आकांक्षा बोक्नु भएको छ तर प्रदेश २ सरकार र केन्द्र सरकारबीच टसल पनि भइरहेको देखिन्छ। यसबीचमा कसरी सफलता हाँसिल गर्न सकिन्छ होला?

केन्द्र सरकार र मधेश सरकारबीच टसलको कुरा जायज हो। मधेश आन्दोलन नेपालको स्थायी सत्ताको विरुद्ध भएको थियो। र, अहिले नै हेर्नु भएको होला, हामी तीन जना राज्यमन्त्रीको सिफारिस हुँदा नेपाली मिडियाले अभियुक्त भनेर लेख्न थाले। नेपाली राज्यको जे सोच छ त्यसमा हरेक मधेशी अभियुक्त छन्। म पनि अभियुक्त होला। ममाथि पनि मधेश आन्दोलनका दुई–तीनवटा मुद्दा छ।

हिजो माओवादी पनि अभियुक्त नै थिए तर अहिले राज्य संचालन गर्दैछ। यो समान्य कुरा हो। हामीले राज्यको विरुद्धमा आन्दोलन गरेका थियौं, यो सत्ताको चिन्तन पनि मधेशी विरोधी हो। जसको विरोध हामीले गरेका थियौं।

रहयो टसलको कुरा, मधेश र खासगरी प्रदेश २ संघीयताको पर्यावाची शब्द हो। यो देशको राज्य सत्ताले चाहँदैन कि संघीयता रहोस्। तर हामी चाहँदै छौं कि संघीयता रहोस्। जतिसुकै दुःख कष्ट सहेर संघीयतालाई सफल पार्न चाहान्छौं। त्यसकारण केन्द्र सरकारसँग टसल केही न केही हुन्छ नै।

जस्तै, कि प्रहरी ऐन हामीले संविधानमा टेकेर ल्याएका छौं। तर पनि केन्द्र सरकारको टाउको दुखेको छ। यो कुरा बुझ्ने वितिकै केन्द्र सरकारले प्रदेश सरकारका सचिवको सरुवा गर्यो। जवकी यो प्रदेश सरकारको संविधान प्रदत अधिकार हो। त्यसकारण केन्द्र सरकारको टाउको दुखाईको विषय प्रदेश २ सरकार रहिरहनेछ।

केन्द्र सरकार र नेपालको स्थायी सत्ताको चुनौतीको सामना गर्दै हामी सफल हुनेछौं।

० तर प्रदेश २ को सरकारमा दलितको सहभागिता नभएको भन्दै आलोचना हुँदैछ नि। यसअवस्थामा समग्र मधेशीले तपाईहरुको साथ कसरी देला त?

मधेश आन्दोलनको भनौं अथवा राजपाको भनौं मुख्य एजेण्डा नै समानुपातिक समावेशी हो। हामीले पूर्ण समानुपातिक समावेशीको कुरा गर्दै आएका छौं। त्यस हिसाबले अहिलेको मन्त्री परिषद् अपुर्ण छ। सबै क्लष्टरहरुलाई मिलाएको भए अझै समावेशी हुन सक्थ्यो होला। तर हुन सकेन। सिटको पनि अभाव नै छ र पछिल्लो समय तीन राज्यमन्त्री नियुक्त हुँदा अलिक बढी विरोध भएको जस्तो देखियो । एक जना महिला पर्नु भयो, मलाई मधेशी जनजातिबाट लिएको बुझिन्छ र अभिराम जी पनि युवाको प्रतिनिधित्व गरेको देखिन्छ। यसलाई खासै विवादको विषय बनाउनु उपयुक्त होइन। एक जना दलित भएको भए झनै राम्रो हुन्थ्यो तर हुन सकेन।

तर सबै मधेशीले मधेश सरकारलाई सहयोग गर्नेछ। चुनावताका कोही अरु पार्टी वा राजनीतिक विचारधाराको भएपनि सबै मधेशी हुन्। र, मधेशीको अस्मिता जोगाउन सबैले साथ दिनेमा म विश्वस्त छु। चाहे त्यो कम्युनिष्ट विचारधाराका मधेशी हुन् अथवा कांग्रेस विचारधाराका । अथवा मधेशवादी दललाई विरोध गर्ने हुन्। आफ्नो अस्मिताको रक्षा गर्न सबै एकजुट भएर मधेश सरकारलाई सफल पार्नेछ। र, संघीयतालाई जोगाउनेछ भन्नेमा म शतप्रतिशत विश्वस्त छु।

० अनी प्रदेश सरकार भित्रकै फोरम नेपाल र राजपाबीच खटपट भइरहेको नेपाली मिडियाहरुमा सुनिन्छ नि?

प्रदेश २ को सरकारमा राजपा र फोरमबीच कुनै खटपट भएको छैन। त्यो नेपाली मिडियाहरुको नजरमा देखिएको हो। काठमाडौंका मान्छेलाई त्यस्तो लाग्छ होला। तर प्रदेश २ को सरकार र सत्ता गठबन्धन सबभन्दा राम्रो तरिकाले चलेको छ। केन्द्रमा कसैले केही बोले पनि मधेशका जनताहरुको भावनासँग प्रदेश सरकार जोडिएको छ। त्यसकारण प्रदेश सरकारका दुबै दलले मधेशी जनताको भावना अनुरुप काम गर्दैैछ।

जसका लागि मधेश आन्दोलन भएको त्यो कुरा हामीले सफल बनाएर देखाउने छौं। मधेश आन्दोलन गलत थिएन भनेर हामी दुनियालाई प्रमाणित गरेर देखाउने छौं यो सरकारलाई र प्रदेशलाई राम्ररी हाँकेर। हामीले मधेशीको बलिदानी खेर जान दिने छैनौं।

तपाईहरुले हेर्दै हुनुहुन्छ होला यो देशमा कुनै प्रदेश सक्रिय छ भने त्यो हो प्रदेश २ । कुनै प्रादेशिक सरकारले काम गर्दैछ भने त्यो हो २ नम्बरको सरकार। यस्ता धेरै राम्रा राम्रा कार्यक्रमहरु आएका छन्, बेटी बचाउ भेटी पढाउ कार्यक्रमदेखि सहिद परिवारलाई रोजगारीलगायतका कार्यक्रम सुरु भएको छ। मुख्यमन्त्री ज्यूले घोषणा गरेर अभियान सुरु पनि भएको छ। त्यसकारण राजपा र फोरम दुबै मधेशका लागि संघर्ष गर्दै आएको शक्ति हो र दुबै दलले संघर्ष गरिरहनेछ।

० अन्तिम प्रश्न, मानव विकास सुचांकमा पनि मधेश पछाडि छ । खास गरी प्रदेश २ को कुरा गरौं भने धेरै पछाडि छ। यसलाई कसरी सुधार्न सकिन्छ?

सबभन्दा पहिले यो शिक्षा र अर्थसँग जोडिने विषय हो । विगतमा के रह्यो भने मधेशमा अशिक्षा बेरोजगार थियो । केन्द्र सरकारबाट यसको निराकरणका लागि कुनै कार्य भएन। नेपाल सरकारले झन् यसलाई बढाउने प्रयास गरे। मधेशको शिक्षा झन् विर्गानमा नेपाल सरकारले मदत गरेको छ।

मधेशको अर्थतन्त्रलाई विगार्ने काम नेपाल सरकारबाट भयो। मधेशको सांस्कृतिक पक्षलाई पनि मेटाउने प्रयास भएकोछ । मधेशको जति पनि सकारात्मक कुरा थियो त्यसलाई नेपाल सरकारले मेटाउने प्रयास गरे अथवा बदनाम गर्ने प्रयास गरे। त्यसमा यीनीहरुले खेले।

अव यसलाई सुधार गर्ने जिम्मेवारी प्रदेश सरकारको मातहतमा आएको छ। जुन किसिमले स्वतन्त्रता पूर्वक प्रदेश सरकारले काम गर्नु पर्ने थियो त्यसरी काम गर्न पाएको छैन। भोली प्रदेश सरकार असफल भयो भने त्यसको सबभन्दा पहिलो आरोप केन्द्र सरकारलाई लाग्नेछ किनभने केन्द्र सरकारले प्रत्येक पाइलामा हामीलाई रोक्ने प्रयास गरेको छ।

हामीले संविधानद्धारा प्रदान गरिएको कुनै कुरा हामीले अगाडि बढाउँछौं भने त्यसमा केन्द्र सरकारले खुटा अडाउँदै आएको छ। अहिलेसम्म मधेशका कर्मचारी प्रदेश २ सरकार मातहतमा आएको छैन। कर्मचारी समायोजन गर्दैछु भनेर केन्द्र सरकारले भन्दै आएको छ। तर गरेको छैन। हामी एउटा साधारण खरदार सुब्बाको पनि सरुवा गर्न सक्ने स्थितिमा छैनौं।

यो संविधानमा दिइएको अधिकार हो तर अहिलेसम्म केन्द्र सरकारले काम गर्न दिएको छैन। तर यो हाम्रो चुनौती हो कि यस्तो समस्याग्रस्त अवस्थामा संघीयतालाई टिकाउनु छ। त्यसकारण हामीले जस्तो सुकै समस्या आएपनि संघीयतालाई टिकाउने पक्षमा छौं।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.