मधेश र “भेंडातन्त्र”


बीपी साह
गोर्खा साम्राज्य विस्तारको क्रममा परिवारवाद हावी भयो । श्री ३ तन्त्रमा पनि वरिवारवादले विस्तार पायो । राणाहरुले बाहुणलाई गुलियो र सत्ताभन्दा टाढा राख्दासम्म परिवारवाद नै जारी थियो नेपालमा । तर जब राणाहरुको पतन बाहुणहरुले गरायो त्यसपछि नेपालमा जातिवादले जरोकिल्लो गाड्यो ।

पृथ्वीनारायण शाहका सन्तानहरु सत्तामा विराजमान हुँदासम्म परिवारवाद र जातिवाद एउटै रथका दुई पांग्रा थिए । अखिल भारतीय नेपाली कांग्रेस जब नेपाली कांग्रेसमा परिणत भयो तबसम्म कोइराला परिवार नेपाली सत्तामा हावी भइसकेको थियो । जसको निरन्तरता ०७० को दशकसम्म रहनेछ ।

अब गोर्खा साम्राज्य जातीयतन्त्र अथवा जातीयवादको चरम विन्दुमा पुगेको छ । जहाँ नेपाली सत्ता एउटै जातिले घेरिएको छ भने सत्ता सञ्चालकहरु एउटै जातिका छन् । स्थायी सत्ताको ९० प्रतिशत हिस्सा एउटै जातिले ओगटेको छ । नेपाली राज्यमा सक्रिय दलहरुको राजनीतिक सिद्धान्त र अनुहार अलग देखिए पनि ‘बाद’ चैं ‘जातिवाद’ नै हो । त्यो जातिवादको शिकार क्षेत्रीयवाद भएको छ । दासत्वबाट मुक्तिका लागि गोर्खा साम्राज्यमा विद्रोहहरु भए । तर त्यो विद्रोहलाई जातिवादले सिध्याइएको छ ।

माओवादीले गरेको विद्रोह मुक्तिको एउटा मार्ग थियो तर माओवादीको वर्चस्वलाई जातिवादी भनेर अर्का जातिवादीहरुले विस्थापित गराइछाडे । हुन त माओवादीले जातीय पहिचान र एजेण्डलाई आफ्नो आन्दोलनको अस्त्र बनाएको थियो । उक्त अस्त्रलाई माओवादीले जोगाउन नसक्दा आफै समाप्त भयो । अब माओवादी पनि नेपालको सत्ता सञ्चालन गर्ने एक जातीय पार्टी बनिसकेको छ । माओवादी पनि कांग्रेस, एमाले र राप्रपाको चरित्र र सिद्धान्तमा पुगेको छ ।

तेस्रो मधेश विद्रोहका कारण स्थगित हुँदै आएको स्थानीय निर्वाचन असोज दुई गते सम्पन्न भएको छ । रोचक कुरा के छ भने मधेशीहरुले पहाडको तुलनामा अधिक प्रतिशत मत खसाएका छन् भने उत्साह पनि निकै देखिएको छ । अन्य ६ वटा प्रदेशमा भएको स्थानीय निर्वाचनमा ५ जना मारिएका थिए भने दुई नम्बर प्रदेशको निर्वाचन शान्तिपूर्ण भएको छ । विरोधका स्वरहरु पनि कहिँकतै सुन्न पाइएन ।

नेपाली सत्ताले मधेशीमाथिको दासत्वलाई कायम राख्न फालेको चुनावरुपी जालोमा सबै मधेशी फँसे । यतिसम्म फँसे कि एक वर्षअघि मात्रै आफ्ना छोरा–नातीलाई हत्या गरेका पार्टी र नेतालाईसमेत बिर्से । पहिलो र दोस्रो मधेश आन्दोलनका क्रममा मधेशी शहीदको हत्यारालाई बिर्से पनि तेस्रो मधेश आन्दोलनमा हत्या भएका मधेशीहरुको रगतको छिटो बाँकी नै छ होला । उनका श्रीमतिहरुले अहिलेसम्म सेतो सारी लगाएकी नै होली । तर तिनीहरुलाई मधेशीहरुले बिर्से र उनै हत्यारा सत्ता तथा पार्टीहरुमा मतदान गरे । अर्थात मधेशीहरुले आत्महत्या गरे ।
आत्महत्याको अर्थ आफ्नो आत्माबाट चेताएर आफ्नो शरिरको हत्या गर्नु हो । हो, मधेशीहरुले निर्वाचनमा सहभागी भएर आफ्नो आत्माको चिरशान्तिको कामना गरे भने नेपाली सत्ताका जातीय पार्टीहरुलाई मतदान गरेर आफ्नो देह त्याग गरे । देह त्याग गरे पछि मृत घोषणा हुन्छ । अब मधेशलाई मृत घोषणा गरे हुन्छ । दासत्वबाट मुक्तिको पहिलो खुर्किलो आवाज बुलन्द गर्नु हो । मधेशीहरु आवाज बुलन्द गर्दैै थिए । तर उनीहरुले आवाज बुलन्द गर्ने क्रममै हार स्वीकार गरिसके र आफूलाई मृत घोषणा गरे । ज्ञात रहोस् दास र मृतमा धेरै अन्तर हुँदैन ।

भेंडातन्त्र विश्वकै समस्या हो । तर मधेशमा यो जटिल बन्न पुगेको छ । भेंडातन्त्रमा अगुवा भेंडाले आत्महत्या गरे पछुवा भेंडाहरु पनि आत्महत्या गर्छन् । हो, मधेशमा अगुवाहरुले आत्महत्या गरे । पछुवाहरुले पनि गरे । हुन पनि हो, दासहरुले उच्च कोटीको सपना पनि देख्न सक्ने हैसियत राख्दैनन् । मधेशमा दासत्व कायम रहेकोले पनि होला मधेशीहरुले मधेश विरोधी संविधानको विरुद्धमा सपनाहरु पनि देख्न सकेन होला । त्यसैले मधेशीको रगतमा लतपत गोर्खा साम्राज्यको नयाँ संविधानमाथि मधेशीहरुले मोहर लगाए । र, आफ्नो दासत्वलाई निरन्तरता दिने निर्णयमा पुगे ।

मधेश त्यस्तो भूमि हो, जहाँ राजा जनकले विश्वभरिका विद्धानहरुलाई जम्मा पारेर ज्ञानको आदान प्रदान गर्थे । मधेश सिर्जनशील थिए । बुद्ध, मैत्री, गार्गी, कुक्रिपाको ज्ञान बाँडिन्थ्यो । १९औं सताब्दीसम्म पनि मधेशीहरु जीवित थिए । तर गोर्खा साम्राज्य विस्तारका क्रममा मधेशीहरु दास बनाइए । गोर्खाली दासत्वमा बस्ने बानी मधेशीलाई यसरी लाग्यो कि उसले आफूलाई मृत घोषणा गरे । प्रत्येक दशक मधेश र मधेशी दासत्वमा झनै गाँजिदैछन् । सायद, मधेशमा क्रिष्चन धर्मको बाहुल्य भएको भए मधेशीहरुको लासमाथि ‘मोम’ लगाइर कफिनमा राख्दिा मधेशको कुनै भुभाग लासले खाली हुने थिएन होला । अव त्यो लासमाथि सांश भर्न बाँकी छ । त्यो कफिनभित्रका लासलाई जिउँदो पार्न आलाउदिनको चिराग आवश्यक छ । मधेशीहरुले अब सोंच्नु पर्ने दिन आएको छ । फरक शैलीमा सोंच्नु पर्नेछ, जसले दासत्वलाई मुक्तिको मार्गमा लगोस् । गोर्खा साम्राज्यलाई नियन्त्रण गरोस् । मधेशबाट भेंडातन्त्रको अत्य होस् र मधेश पुनः मधेश बनोस् ।

फाइल तस्वीर रिपब्लिकाबाट

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here