मधेश बहस : बुरा काम का बुरा नतिजा


गोपाल ठाकुर

भर्खरै युवा अवस्थामा प्रवेश गरेको थिएँ । त्यस बेला एउटा गीत आएको थियो बलीउडबाटः बुरे काम का बुरा नतिजा, सुन भाई चाचा हाँ भतिजा । तिनताक पंचायती राजशाही उत्कर्षमा थियो । मरीचमान प्रधानमंत्री थिए । साल ४५/४६ कुन थियो कुन्नि १ राजाको जन्मोत्सव समारोहमा नारायणहिटीले नै देशभरि दौडाहा पठाएको थियो । म ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा स्नातक अध्ययनमा थिएँ ।

त्यहाँ पुगेको दौडाहामा थिए पतीत कम्युनिष्ट राजभक्त केदारमान व्यथित । उनले एउटा हिन्दी कविता वाचन गरेका थिए ‘मेरी कविता’ जसको अन्तिम हरफ थियोः मैं ही तो हूँ मेरी कविता १ त्यसै गरी मेरो मातृभाषा भोजपुरीमा पनि एउटा उखान छः जइसन पिसान ओइसन रोटी, जइसन मातारी ओइसन बेटी । अहिले ती हिन्दी गीत, कविता र भोजपुरी उखान जारी राजनीतिक अलमलको सन्दर्भमा चरितार्थ भएका छन् ।

दोस्रो संविधान सभाले वर्तमान संविधानलाई अन्तिम चरणमा पुर्‍याएको र घोषणा हुनै लागेका बखत पूरै मधेशमा आगो बलिरहेको थियो । संविधान प्रतिगामी छ भनेर मधेशी र जनजातिहरूले भनिरहेका थिए । तर त्यसको घोषणा भयो ।

त्यसको लगतै वीरगंज(रक्सौल नाकामा मधेशीहरूको धर्ना बस्यो । त्यसमा तत्कालीन नेकपा (माओवादी) को तर्फबाट मेरो पनि सहभागिता थियो । त्यस नाकाबन्दीलाई भारतीय भनेर पनि राज्यका संयन्त्रहरूले मनग्गे समय र साधन खर्चिरहेका थिए । पछि तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आन्तरिक खटपट र त्यसको अर्को बलियो विकल्प नहुँदा तेस्रो मधेश आन्दोलन तुहियो र आज त्यो मधेशी मोर्चा राजपा-फोरम गठबन्धनको नामबाट प्रदेश नं। २ मा सरकार पनि बनाउन लागेको छ । तर कहिले बन्ने हो, अझै सुनिश्चित हुन सकेको छैन ।

तर त्यसभन्दा पनि अनिश्चित बनेको छ प्रतिनिधि सभाको पूर्णता र राष्ट्रिय सभाको निर्वाचन । स्पष्ट बहुमतका साथ प्रतिनिधि सभाको निर्वाचनमा आएको वाम गठबन्धनले देउबाले कहिले राजीनामा देलान् र नयाँ सरकारमा जान्छु भनेर बेला बेलामा गुनासो र व्यंग्यसँगै तीतो पोख्‍ने काम अहिले दिनहुँ चलेको छ । अर्कातिर देउबा र उनका सारथीहरूले सत्ता हस्तान्तरणको लागि हतारो भएकै अभिव्यक्ति दिइरहेका छन् । तर सत्ता हस्तान्तरण हुँदैन ।

आखिर किन ? ,हो, यो संविधान प्रतिगामी हो, निकृष्ट छ भनेर मधेशी(जनजातिहरूले भनिरहँदा खस मानसिकतालाई हाई(संचो भएको थियो । वाम गठबन्धनका नेताहरू त झन अघि थिए मधेशी(जनजातिहरूलाई व्यंग्य वाण हान्नमा । तर संसदमा दुई तिहाइ महिलाको उपस्थिति अनिवार्य बनाउन मस्त हुने र प्रत्यक्ष निर्वाचनमा महिलालाई उभ्याउन पस्त हुने गजबको द्वैध चरित्र पनि उहाँहरूले नै बोक्नु भएको छ । यसले गर्दाखेरि अहिले नयाँ सरकार गठनको लागि राष्ट्रिय सभाको निर्वाचन भएर महिला सहभागिता कति भयो, नपुग प्रतिनिधि सभाको बन्दसूचीबाट पूरा नगरिकन प्रतिनिधि सभाको गठन पूरा नहुने स्पष्ट भएको छ । र प्रतिनिधि सभाको गठन पूरा नभइकन नयाँ सरकार गठन प्रक्रिया पनि अगाडि नबढ्ने पक्का छ । बीच-बीचमा निर्वाचन आयोगलाई हपार्ने काममा पनि उहाँहरू पछि पर्नु भएको छैन । यो त हलो अड्काएर गोरू चुट्ने जस्तो भएन ?

त्यति मात्रै पनि होइन, बहुमतीय र अल्पमतीय भन्दै राष्ट्रिय सभा निर्वाचन सम्बन्धी विधेयक पनि उहाँहरूले अड्काउनु भयो, अन्तमा हरुवा देउबाको शरण पर्नुको कुनै विकल्प रहेन । अहिले प्रदेश प्रमुख र अस्थायी प्रादेशिक सदरमुकाम तोक्ने कामलाई पनि देउबाले अड्काई नै राख्‍नु भएको छ तर कसैको केही लाग्या छैन । यो सबै संवैधानिक निकृष्टताको दोष नभए अरू के हो त ?

रह्यो कुरो मधेशी गठबन्धनको, त्यो गठबन्धन पनि दिनभर सुत्ने र रातभरि गाउने-नाच्‍ने चरित्रभन्दा फरक देखिएको छैन । नाकाबाट प्रधानमन्त्रीलाई भोट हाल्ने नेपाल खाल्डो छिर्ने र संविधान मान्या छैन पनि भन्ने । समग्र मधेश एक प्रदेश भन्दाभन्दै प्रतिगामी संविधानको उपजको रूपमा बनेको २ नं। प्रदेशमा पनि पुग-नपुग बहुमत भए पनि प्रदेश प्रमुख तोक्दैन देउवा सरकारले । त्यति मात्रै पनि होइन, खस(गोर्खा साम्राज्यका संस्थापक पृथ्वीनारायणको जन्मजयन्तीलाई निर्लज्जताका साथ देउवा सरकारले राष्ट्रीय एकता दिवस भनेर मनाउन लगाउँछ । गणतन्त्रको रखवाला राष्ट्रपतिले राजतन्त्रको संस्थापकको अगाडि शिर झुकाउँछ । राष्ट्रिय पहिचान पक्षधरहरूको विरोध अर्थहीन हुन पुग्छ । यसले निकट भविष्यमा राष्ट्रियतामाथि खतरा भन्दै पहिले संघीयता र पछि गणतन्त्र सहित लोकतन्त्र पनि सकिने त होइन रु गम्भीर प्रश्न उब्जाएको छ ।

तर इतिहासका पांग्राहरू दाहिने-देब्रे बहकिन सक्छन्, पछाडि नै गुड्न अलि सक्दैनन् । यदि यसलाई पछाडि धकेल्ने प्रयास भयो भने पहिला त त्यो सफल नै हुँदैन, भइहाले पनि क्षणिक मात्रै हुन्छ । त्यसैले जसले जे भने पनि राजनीतिक लडाइँ सकिएको छैन । बरू राज्यको चरित्र अहिले पनि आन्तरिक उपनिवेशवादी छ । खस-गोर्खाली राष्ट्रियता समन्वयकारी हुन खोजेकै छैन । यदि त्यसो हुने भए संघ, प्रदेश, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको संरचना बनेर संघीयता अघि बढ्थ्यो । सडेगलेको जिल्लागत संरचनालाई यथास्थानमा कायम राख्दै स्थानीय स्तरलाई सिधै संघसँग जोड्ने काम हुँदैनथ्यो । यो सबै गलतको गलत परिणामको रूपमा सामुन्ने आएका छन् र आउँदै गर्दा पनि ।
तर जहाँ जालझेल हुन्छ, षड्यन्त्र हुन्छ, त्यही संघर्ष पनि हुन्छ र अग्रगामी परिवर्तन पनि । नयाँ ढंगले फेरि चिंतन-मनन र नवीन राजनीतिक संघर्षको अहिले पनि टड्कारो आवश्यकता छ र त्यसको लागि विमर्श अगाडि बढोस् ।

ओमकारेश्वर बस्ती, वाणस्थली
चन्द्रागिरि-७, काठमाडौँ ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.