काठमाडौं । डा.सीके राउत नेतृत्वको जनमत पार्टीनिकट जनमत विद्यार्थी संघले विरोधका कार्यक्रम सुरु गरेको छ । कृषि टेलिभिजनले मधेशीलाई अपमानित गर्दै कार्यक्रम सञ्चालन गरेको भन्दै संघले सार्वजनिक गरेको विरोध कार्यक्रमको पहिलो दिन आज कार्टुन बनाएर विरोध गरेको हो । संघको आह्वानमा आज कापीमा कृषि टेलिभिजनको कार्टुन बनाइ विरोध गरिएको छ ।

त्यस्तै, शुक्रबार फेसबुक प्रोफाइल कालो राख्ने, शनिबार कालो अक्षरमा प्रेस काउन्सिल लेखेरमा फेसबुकमा पोष्ट गर्ने, चौथो दिन इमेलमार्फत प्रेस काउन्सिलमा ध्यानाकर्षणपत्र बुझाउने र पाँचौं दिन सादा पानामा प्रेस काउन्सिल लेखेर घरमै बसी जलाउने विरोधका कार्यक्रमहरू सार्वजनिक गरिएको हो ।

जनमत विद्यार्थी संघका केन्द्रीय अध्यक्ष पोषणकुमार यादवले बुधबार विज्ञप्ति जारी गरी कृषि टेलिभिजनमा प्रसारण हुने कोरोना गफगाफ कार्यक्रमका प्रस्तोता र टेलिभिजनलाई कारबाही गर्न माग गरेका थिए । उनले मधेश (मधेशी, थारु, जनजाति, मुस्लिम आदि) माथि गरिएको व्यङ्ग अक्षम्य र असहनीय रहेको भन्दै कारबाहीका लागि प्रेस काउन्सिल नेपालसँग माग गरेका थिए ।

पाँचौं दिनसम्म कारबाही नभए विरोधका थप कार्यक्रम सार्वजनिक गर्ने संघले चेतावनी दिएका छन् । यसबीचमा कारबाही भए विरोधका कार्यक्रमहरू स्वतः फिर्ता हुनेसमेत संघले जनाएको छ । यसैबीच, पत्रकार बीपी साहले दिएको उजुरीका आधारमा बिहीबार कृषि टिभीसँग प्रेस काउन्सिलले स्पष्टीकरण मागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.