मधेशलाई मरुभूमिकरण गर्न निजगढमै विमानस्थलः पर्यटनमन्त्री यादव(अन्तर्वार्ता)


प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमान स्थलको विषयमा संघीय संरकारकै मन्त्रीहरुबीच विवाद भइरहँदा विमानस्थल निर्माण हुने प्रदेश २ का मन्त्रीले आपत्ती जनाएका छन्। त्यसक्षेत्रमा हजारौं हेक्टर खाली जग्गा भएपनि रुख नै कटानी गरेर विमानस्थल बनाउनु उपयुक्त नभएको बताउँदै प्रदेश सरकारसँग कुनै परामर्श नगरी विमानस्थल बनाउन खोजिएको भन्दै प्रदेश २ सरकारका मन्त्रीहरुले असन्तुष्टि जनाएका छन्।

लाखौं रुख कटानी गरेर केन्द्र सरकारले विकासको नाममा विनास गर्न खोजेको आरोप लगाउँदै प्रदेश २ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री रामनरेश राय यादवले निजगढ बाहेकका कयौं विकल्पहरु सुझाएका छन्।

यसैगरी छ वटै प्रदेश र केन्द्र सरकारले संविधान दिवस मनाइरहँदा कालो दिवस मनाएको प्रदेश २ सरकारका मन्त्री यादवसँग बीपी साहले गरेको कुराकानीको सम्पादित अंश।

० निजगढ विमानस्थल बारे विवाद सुरु भएको छ, यस विषयमा प्रदेश सरकारको धारणा के छ?

निजगढ विमानस्थलका बारे प्रदेश सरकारसँग कुनै परामर्श अथवा छलफल भएको छैन। हाम्रो प्रदेशमा बन्न लागेको विमानस्थलका बारे हाम्रो प्रदेशको सरकारलाई थाहा छैन। हामीले पनि मिडियाबाट सुन्दैछौं कि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाइँदैछ। जसका, लागि २५ लाखभन्दा बढी रुख कटानी गरिदैछ।

लाखौं लाख रुख कटानी गरेर बनाउन खोजिएको निजगढ विमान स्थलप्रति हाम्रो आपत्ती छ। विकासको नाममा प्रदेश २ लाई विनाश गर्ने षड्यन्त्र केन्द्र सरकारको छ। अन्य छ वटै प्रदेशको तुलनामा सबभन्दा कम जंगल प्रदेश २ मा छ। त्यसमा पनि यति ठूलो संख्यामा रुख कटानी भयो भने प्रदेश २ लाई मरुभूमिकरण हुनबाट कसैले रोक्न सक्दैन। सँधै मधेशलाई अपहेलना गरेको केन्द्र सरकारले यो विमानस्थल निर्माण गरेर मधेशलाई मरुभूमिकरण गर्न खोज्दैछ।

० तपाईहरु विमानस्थलको विरोध गर्दै हुनुहुन्छ कि ठाउँको?

हामी विमानस्थलको विरोधमा छैनौं। हाम्रो भनाई के छ भने २५ औं लाख तयारी रुख काटेर विमानस्थल बनाउनुभन्दा यस आसपासमा हजारौं हेक्टर खाली जग्गा छ। जहाँ विमानस्थल बनाउन सकिन्छ। पूर्वपश्चिम राजमार्गको उत्तर होस् अथवा दक्षिण।

० तर निजगढलाई नै उपयुक्त ठाउँ भनिन्छ नि?

निजगढ उपयुक्त ठाउँ कसरी भयो? काठमाडौंको सरकारलाई जे राम्रो लाग्छ त्यही उपयुक्त। जे राम्रो लागेन त्यो अनुपयुक्त? बारा अथवा सर्लाही मै धेरै जग्गा छ। जहाँ विमानस्थल बनाउन सकिन्छ, जति जग्गा चाहिन्छ त्यती हामी उपलब्ध गराउन सक्छौं। तर केन्द्र सरकारले निजगढलाई नै उपयुक्त ठान्नुमा स्वार्थ लुकेको प्रस्ट हुन्छ।

केन्द्र सरकारले त मधेशलाई बर्वाद गर्न चाहेकै हो। अव हेर्नुस्, पूर्व–पश्चिम रेल्वे एक किलोमिटर दक्षिण बनेको भए जंगल फडानी हुने थिएन। जहाँ राजमार्ग छ त्यही रेल्वेको कुन आवश्यकता थियो। मधेशलाई घाटा हुने गरी रेल्वे बनाइएको छ। जंगल फडानी गरिएको छ। यसकै अर्को रुप हो निजगढ विमानस्थल। मधेशको खेत भएको ठाउमा रेल्वे बनाएको भयो हुन्थ्यो।

प्रदेशको वन मन्त्रीको हैसियतले मेरो आग्रह छ कि जहाँ खाली छ त्यहाँ विमानस्थल बनाउनुस् हामी जग्गा उपलब्ध गराउँछौं।

बारा वा सर्लाही जिल्ला मै धेरै खाली जग्गा छ। त्यहाँ, विमानस्थल बनाए हुन्छ। तर यो विनास गर्दैछ। यो प्रदेश २ को दुर्भाग्यको कुरा हो।

० उद्योग पनि तपाईकै मन्त्रालय अन्तरगत पर्छ। त्यस विषयमा के तयारी गर्दै हुनुहुन्छ?

अस्ति भर्खर ४ गते सातवटै प्रदेशका उद्योग मन्त्रीहरुको बैठक भएको थियो। बैठकमा हामीले विभिन्न विषयमा छलफल गरेका छौं। प्रदेशभित्र रहेका सबै उद्योग प्रदेश मातहतमा हुनुपर्छ भनेर कुरा ग¥यौं। प्रदुषण न्यूनीकरणका लागि पनि छलफल गरेका छौं।

संघीय सरकारले अहिलेसम्म प्रदेश सरकारलाई अधिकार पनि दिएको छैन। धेरै कुरा भद्रगोल छ। हामी मिलाउँदैछौं। सबभन्दा पहिले त कर्मचारी हाम्रो हातमा छैन। काम गर्न कठिन छ। तर पनि प्रदेश २ सरकारले औद्योगिक क्षेत्रहरु स्थापना र उद्योगहरुको पुनर्संचालनका लागि काम गर्दैछ। हाम्रो समर्थनका आधारमा काम अगाडि बढाएका छौं।

० पर्यटनको क्षेत्रमा नि?

केन्द्र सरकारसँग प्रदेशका सम्पदाहरुको सूची पनि छैन। हामीलाई अच्चम लाग्यो केन्द्र सरकारसँग पशुपति, लुम्बिनी र सगरमाथालगायतका बाहेक अन्य देखाउने कुराको दस्ताबेज नै छैन। प्रत्येक प्रदेशमा सयकडौं पर्यटकीय स्थल छ तर केन्द्र सरकारसँग जानकारी नै छैन।

हामीले प्रदेशमा पर्यटन बोर्ड गठन गर्दैछौं। प्रदेश सरकारले पर्यटन क्षेत्र प्रबद्र्धनका लागि काम गर्दैछ। गाउँपालिका नगरपालिकाहरुसँग छलफल गरेर एउटा सूची बनाउँदैछौं। सबभन्दा पहिले राज्यलाई नै जानकारी गराउँछौं कि हामीसँग के के छ भनेर।

प्रदेश सरकारसँग साधनस्रोतको अभाव छ, त्यसकारण हामीले सबै कुराहरुलाई अगाडि बढाउन सकेका छैनौं। तर विस्तारै कामहरु हुँदैछ।

० प्रदेश सरकारका मन्त्रीहरुको गुनासो हुन्छ कि प्रदेशमा काम गर्न कठिन छ, तपाईको अनुभव कस्तो छ?

अहिले प्रदेश सरकारमाथि जनताको अपेक्षा धेरै छ। उनीहरुलाई लाग्छ यो हाम्रो सरकार हो। प्रदेश २ का जनतालाई झन् बढी लाग्छ कि हाम्रो सरकार छ। तर संघीय सरकारले यो प्रदेशलाई बजेट नै दिएको छैन। प्रदेश २ मा एउटा मात्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र छ तर त्यसमा केन्द्र सरकारले जम्मा ६ लाख बजेट दिएको छ। अव हामी प्रदेश सरकारले ४० लाख छुट्याएका छौं। यसबाट नै आंकलन गर्न सक्नु हुन्छ कि हामीसँग कति अभाव छ र कति केन्द्र सरकारबाट विभेद छ।

कर्मचारीदेखि नीति नियमको पनि अभाव छ। त्यसकारण काम गर्न कठिन छ।

० कर्मचारीको कस्तो अभाव नि?

पुरानो गाडी र त्यसमा लागेको झण्डाबाहेक प्रदेश मन्त्रीसँग केही छैन। कर्मचारी पनि मन्त्रीको मातहतमा छैन। मन्त्रीले कुनै कर्मचारीलाई सरुवा बढुवा अथवा काममा लगाउन सक्ने अवस्था छैन। कर्मचारीका अगाडि प्रदेशका मन्त्रीहरु लाचार छन्। केन्द्र सरकारले तत्कालै कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएन भने प्रदेश सरकार असफल हुने धेरै सम्भावना बढ्नेछ। र, केन्द्र सरकारले पनि यही चाहेको जस्तो मलाई लाग्छ।

० अनि असोज ३ गते तपाईहरुले कालो दिवस मनाउनु भयो तपाईकै मन्त्रालयका कर्मचारीहरुले संविधान दिवस मनाए। यसले केही विवाद त उत्पन्न भएन?

कर्मचारीहरु नेपाल सरकारका कर्मचारी हुन्। हामी जनताको कर्मचारी छौं। नेपाल सरकारले जे भन्छ कर्मचारीले त्यही गर्छ। हामीलाई जनताले जे भन्यो त्यही हामीले ग¥यौं। त्यसकारण टसल हुने कुरै आएन।

० अनि तपाईहरु सरकारमा पनि बस्ने, संविधानको विरोध पनि गर्ने?

सरकारमा रहनुको मतलब जनताको प्रतिनिधि होइन भनेर हो र? राजपाको कुनै पनि नेता सरकारमा छ भने त्यो जनताप्रति उत्तरदायी छ। त्यो विरोध हामीले जनताका लागि गरेका छौं। हामी हिजो पनि जनतासँग थियौं, भोलि पनि रहनेछौं।

हामी सरकारको प्रतिनिधि होइनौं, जनताका प्रतिनिधि हौं। हामीलाई जनताले नियुक्त गरेको हो। हाम्रो मालिक जनता हो। त्यसकारण जनताको भावना अनुसार विरोध गर्दैछौं। जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छ। त्यसैले विरोधको निर्णय ग¥यौं। अनी संविधानको विरोध गर्याै।

० त्यसो भए संविधानको विरोध गर्ने क्रम कहिलेसम्म रहन्छ त?

जनताको चाहना बमोजिम संविधान संशोधन नभएसम्म विरोध जारी रहनेछ। त्यसका लागि मधेशी जनताले पटक पटक आन्दोलन गर्दै आएको छ र गरिरहनेछ।

यो संविधान संशोधन भएन भने देशमा अर्कै कुरा हुन सक्छ। नेपाल सरकारले नै यो देशमा क्यान्सर लगाएको छ।
सीके राउतले त्यत्रो ठूलो प्रदर्शन गर्यो। सरकार मुखर्दशक बन्यो। मधेश सीके राउतको बाटोमा जाने सम्भावना बढेको छ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.