मधेशमा मोदी देखाउँदै जनतालाई झुकाउँदै ओली (टिप्पणी)

तस्बीर डीएनअाइ


बीपी साह

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो कार्यकालमै तेस्रो पटक नेपाल भ्रमण गर्दैछन्। उनले तीन पटक भ्रमण गर्ने देशहरुमा फ्रान्स र रसिया अहिलेसम्म छ। अब नेपाल थपिदैछ।

मोदी प्रधानमन्त्री भएपछि भ्रमण गर्ने तेस्रो मुलुक नेपाल नै थियो। तीन र चार अगस्ट २०१४ मा नेपालको पहिलो राजकीय भ्रमण गरेका मोदीले सोही वर्ष सार्क सम्मेलनमा सहभागी हुन २५ देखि २७ नोभेम्बरमा नेपाल भ्रमण गरेका थिए।

पहिलो भ्रमणका क्रममा संसदलाई सम्बोधन गर्दा मोदीले नेपाली माझ ठूलै चर्चा र अपनत्व पाएका थिए। तर दोस्रो भ्रमण मोदीको खासै उपलब्धी मुलक भएन।

अहिले तेस्रो भ्रमणको क्रम छ।

यसबीचमा मोदीमाथि ‘तेस्रो मधेश आन्दोलन’को समर्थनमा नाकाबन्दी गरेको आरोप छ। अर्थात नेपालका मधेशीको पक्षपोषण गरेको आरोप लागेकोले गैर मधेशी क्षेत्रमा मोदीप्रतिको आक्रोस छ।

सत्तासीन प्रधानमन्त्री केपी ओलीले मधेशी र मोदीलाई देखाएर विपक्षमा ठूलै जमात खडा गरेका छन्। मधेशी र मोदीविरुद्धमा ओलीले सृजना गरेको ‘राष्ट्रवाद’को आडमा ओलीको निर्वाचनमा मत पनि राम्रै पाए।

अर्थात हाल प्रधानमन्त्री ओली र उसको जमात मधेशी र मोदीविरुद्धको मानसिकता बोकेको देखिन्छ। तर पछिल्लो घटना क्रमले प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीसमक्ष आत्मसमर्पण गरेको छ।

त्यो भारती विदेश मन्त्री सुष्मा स्वराजलाई नेपाल भ्रमणको निम्तो गरेर होस् अथवा आफ्नो पहिलो भ्रमण भारत गरेर।
भारतविरुद्ध आक्रमक प्रस्तुत हुँदै आएका ओलीको हाउभाउमै परिवर्तन आएको छ।

भारतीय प्रधानमन्त्री मोदी तेस्रो पटक भ्रमणमा आउँदा ओलीले ठूलै सम्मान गर्ने अर्थात ‘लम्पसार हुने’ तयारी गरेको छ। यो कुरा नेपाली जनताले हेरिरहेकै छन्-ओलीकै व्यवहारबाट छर्लङ्ग भइरहेको छ। मोदीलाई दुई ठाउँमा नागरिक अभिनन्दन गरिदैछ। र, मोदीबाट ठूलो सहयोगका प्याकेजको अपेक्षा गरेका छन् ओलीले।

यसअघिको दुईवटै भ्रमणका क्रममा मोदीले जनकपुरधाम जाने इच्छा जनाएका थिए। तर सुरक्षाको अड्चन देखाइदैं जनकपुर यात्रा हुन सकेन।

मोदीको जनकपुर जाने इच्छालाई ओली सरकारले आफू चोखिने अस्त्र बनाएको छ। प्रधानमन्त्री ओलीको ‘लम्पसारवाद’बारे चर्चा भइरहँदा ओलीले पुनः मधेशी र मोदीलाई जोडेर आफु चोखिन खोजेका छन्।

प्रधानमन्त्री मोदीलाई ओली सरकारले भ्रमणका लागि नेपालको मुख्य द्वार नभएर झ्यालबाट नेपाल प्रवेश गराउँदैछ। यसमा ओली सरकारको ठूलै कुटनीति छ। हालसम्म प्रधानमन्त्री स्तरका कुनै विशिष्ट व्यक्ति मुख्य मार्ग नभई सहायक मार्गबाट नेपाल पसेको इतिहास छैन।

संविधान निर्माणको प्रक्रिया सुरु भएपछि आफ्नै देशको एक प्रमुख शहर जनकपुरधाम पुग्न नसकेका प्रधानमन्त्री ओलीले मोदीको आडमा आफू पनि जनकपुरधाम जाने तयारी गरेका छन्।

मोदीसँगै जनकपुरधाम पुग्ने ओलीले मधेशी जनताको मन जित्ने प्रयास गर्नेछन्। जसबाट ओलीको ‘मधेश विरोधी’ छापलाई हटाउने प्रयास हुनेछ।

र, मोदी अन्य नेपालीहरुभन्दा पनि मधेशीहरुसँग निकट रहेको देखाउन खोज्नेछन्।
मधेश आन्दोलन र मधेशका एजेण्डालाई भारतसँग जोड्दै आएका ओलीले यस पटक पुनः त्यस कुरालाई प्रमाणित गर्न खोज्दैछन्।

परराष्ट्र मन्त्रालयले मोदीलाई जनकुरधामबाट नेपाल प्रवेश गराउने तयारी गरेको छ। जसको सम्पूर्ण कार्य केन्द्र सरकारबाट भएको छ। देखावटी रुपमा मात्र प्रदेश २ मा मधेशी सरकार छ।

भारतले तीनवटै मधेश आन्दोलनमा हस्ताक्षेप गरी आन्दोलन तुहाएको छ। आफ्नो राजनीतिक स्वार्थका लागि मधेश आन्दोलन र मधेशी नेतृत्वलाई रुखको टुप्पोमा पुर्या इ फेद काट्ने गरेका छन्। मधेशसँग रोटीबेटीको सम्बन्ध भन्दै आएपनि त्यो सम्बन्ध अहिले लगभग टुटेसमान छ। नेपालको संविधानमा विदेशी बुहारीलाई दोस्रो दर्जाको नागरिक बनाउने व्यवस्था गरिएपछि भारत र मधेशबिचको बिहेबारी न्युन भएको छ।

भारतीय सीमाका बजारहरुसँग मधेशको जनजीवन जोडिएको थियो। तर, भारतीय सीमा सुरक्षा बल र नेपाली सुरक्षाकर्मीहरुको डण्ढा र घुसखोरीले त्यो सम्बन्ध पनि चिसिएको छ। मधेशको मेरुदण्ड मानिएको हुलाकी राजमार्ग त अहिलेसम्म निर्माण भएन बरु सीमा क्षेत्रमा ठूलठूला बाँध बनाएर हजारो विघाह जमिन भारतले डुबाएको छ।

यस्तो वास्तविकतालाई छायामा राखेर अन्ततः मोदीलाई पुनः मधेशी निकट देखाई ओलीले आफ्नो ‘राष्ट्रवाद’को जलपलाई कायम राख्ने प्रयास गर्नेछ।

http://www.pahilopost.com/content/20180510130323.html

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.