काठमाडौं । ‘कोभिड–१९’ को संक्रमण नेपालमा देखिएको भन्दै भ्रामक श्रव्य सामग्री (अडियो) बनाइ सामाजिक सञ्जालमा राख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रामेछाप घर भइ भक्तपुरको सिपाडोल बस्ने विवेक थापामगरलाई शनिबार पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । थापामगरलाई साइबर अपराधसँगै सार्वजनिक शान्ति–सुरक्षाविरुद्धको कसुरमा प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

मगरले विनादर्ता सञ्चालन भएको ‘झोर्ले न्यूज डटकम’का सञ्चालन गरेको बताइएको छ । नेपालमा कोरोनाको संक्रमण देखिएको र केहीको मृत्युसमेत भएको भनी उनले भ्रामक श्रव्य सामग्री (अडियो) रेकर्ड गरेर सामाजिक सञ्जालमा राखेका थिए । एक व्यक्तिलाई सम्बोधन गरेर रेकर्ड गरिएको अडियो एक मिनेटको छ ।

अडियोमा नर्भिक अस्पतालका कर्मचारीले दिएको जानकारी भनेर उल्लेख गरिएको छ । यो अडियोका कारण जनमानसमा भ्रम सिर्जना भएको थियो । प्रहरीले गलत हल्लाको पछि नलागी सरकारको आधिकारिक सूचना र जानकारीबारे ख्याल गर्न आग्रहसमेत गरेको छ । सरकारले गलत सूचना सार्वजनिक गर्नेलाई कारबाही गर्ने जनाइसकेको छ ।

नर्भिक इन्टरनेसनल अस्पतालले विज्ञप्ति नै निकालेर कोभिड–१९ का बिरामी फेला नपरेको स्पष्ट पारिसकेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.