नयाँदिल्ली । भारत सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रूपमा बढ्दै गए पनि कन्टेनमेन क्षेत्रबाहेकका स्थानमा आर्थिक गतिविधि सामान्य बनाउने भएको छ । गृह मन्त्रालयले लकडाउन थप खुकुलो पार्दै जाने नीतिअनुसार नयाँ दिग्दर्शन जारी गरेको छ । नयाँ दिग्दर्शनमा सरकारले भाइरसविरुद्धको लडाइँसँगै अर्थतन्त्रलाई पनि अघि बढाउने नीति अख्तियार गरेको देखिन्छ ।

गृह मन्त्रालयले संक्रमणको उच्च जोखिम मानिएका ‘कन्टेनमेन जोन’ का लागि जुन १ देखि ३० सम्मका लागि पाँचौं चरणको लकडाउन घोषणासमेत गरेको छ । त्यसबाहेकका क्षेत्रका लागि भने चरणबद्ध रूपमा विभिन्न क्षेत्रलाई खुला गर्ने निर्णय गरिएको छ ।

संक्रमण बढ्दै गएपछि लकडाउनका कारण अर्थतन्त्र नै धरापमा पर्न थालेपछि भारत सरकारले यसलाई क्रमशः खुकुलो बनाउँदै लाने नीति लिएको छ । भारतको गृह मन्त्रालयले शनिबार साँझ पाँचौं चरणको लकडाउनका लागि दिग्दर्शनले पनि त्यही देखाउँछ । दिग्दर्शन विशेषगरी आर्थिक क्षेत्रको पुनरुत्थानमा केन्द्रित रहेको छ । नयाँ दिग्दर्शनअनुसार विशेषगरी पाँचौं चरणको लकडाउन विशेषगरी संक्रमणको उच्च जोखिम रहेको कन्टेनमेन जोनमा मात्रै सीमित हुनेछ ।

गृह मन्त्रालयद्वारा जारी दिग्दर्शनअनुसार कन्टेनमेन जोनबाहेकका क्षेत्रमा चरणबद्ध रूपमा छुट दिइने भएको छ । पहिलो चरणअन्तर्गत ८ जुनदेखि धार्मिक स्थल, होटल, रेस्टुराँ, सपिङ मल खुला हुनेछन् । दोस्रो चरणमा राज्य र केन्द्र शासित प्रदेशको सुझावअनुसार स्कुल, कलेज, तालिम तथा कोचिंगलगायत शैक्षिक संस्था सञ्चालनमा आउनेछन् । त्यसैगरी तेस्रो चरणमा परिस्थितिको मूल्यांकन गरेर अन्तर्राष्ट्रिय उडान, मेट्रो रेल, सिनेमा हल, जिम खाना, पौडी पोखरी, मनोरञ्जन पार्क, थिएटर, बार र सभा हल एवं ठूला सामाजिक, राजनीतिक, शैक्षिक, खेलकुद, सांस्कृतिकलगायतका कार्यक्रमहरू खुला गर्ने निर्णयसमेत गृह मन्त्रालयले गरेको छ । खुला गरिएका क्षेत्रका लागि आवश्यक मापदण्ड स्वास्थ्य मन्त्रालयले जारी गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.