नयाँ दिल्ली, २२ चैत । दिल्लीस्थित निजामुद्दीनमा केही दिनअघि भएको मुस्लिमहरूको धार्मिक भेला ‘जमाती’मा सहभागी भएका एक नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

भारतीय स्वास्थ्य अधिकारीहरूका अनुसार भेलामा सहभागी रहेका नेपालको पर्साका ६६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको हो । पछिल्लो समय भारतमा कोरोना संक्रमण बढिरहेको छ ।

कोरोना देखिएका ती नेपाली भारतमा लकडाउन हुनुअघि नै हरियाणा पुगेको र त्यहाँ अन्य दश सहभागीसहित हरियाणा, अम्बालास्थित महेशनगरको एक मस्जिदमा बस्दै आएका थिए ।

त्यहाँ पुगेका सबै नेपाली पर्साका मुस्लिम समयुदाय रहेको खुलेको छ । भेलाका सहभागीमा कोरोना संक्रमण देखिएपछि प्रहरीले महेशनगरको मस्जिदमा छापा मारेको थियो । त्यहाँ भेटिएका ८ नेपालीसहित सबैलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको थियो ।

दुई नेपाली र एक श्रीलंकालीलाई कोरोनाको लक्षण देखिएपछि उनीहरूलाई आइसोलेसनमा राखिएको र गत बुधबार उनीहरूको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

बिहीबार परीक्षणको रिपोर्ट आएपछि त्यहाँ आइसोलेसनमा राखिएका एक ६६ वर्षीय नेपाली पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । कोरोना देखिएका उनलाई हाल अम्बाला केन्ट अस्पतालको आइसोलेसनमा राखिएको जनाइएको छ । नमूना परीक्षण गरिएका अर्का नेपालीमा भने कोरोना पोजेटिभ देखिएको छैन ।

भेलामा सहभागी भएर फर्किने क्रममा नेपाल भारत सीमा बन्द भइसकेको थियो भने नेपालमा लकडाउन थियो । तर, केही दिनअघिसम्म नाका छलेर चोरबाटो हुँदै नेपाल भित्रिएकाहरूलाई समेत प्रहरीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.