मितिः २०७४ चैत्र ९ गते

श्रीमान् अध्यक्ष ज्यू,
प्रेस काउन्सिल नेपाल
काठमाडौं, नेपाल ।

विषय : स्पष्टीकरण सम्बन्धमा ।

महोदय, त्यस सम्मानित प्रेस काउन्सिल नेपालको २०७३/१०/२५ गतेको (च.न. ९१८/०७३/०७४) को हुलाकी न्यूज डटकमलाई स्पष्टीकरण सोधिएको भन्ने पत्र अनौपचारिक रुपमा हामीलाई प्राप्त भयो । हालसम्म उक्त पत्रका बारे सोधखोज गर्दा हाम्रा कुनै कर्मचारी अथवा सहकर्मीले पत्र बुझेको वा प्रेस काउन्सिल नेपालले बुझ्न बोलाएको अथवा ताकेता गरेको पाइएन । हामी उक्त पत्रको व्यग्र प्रतिक्षमा थियौं । करिब डेढ महिना हुँदासम्म प्रेस काउन्सिलबाट कुनै त्यस्तो सम्पर्क नभए पछि हामी आफैले बुझ्दै जाँदा हुलाकी न्यूजलाई बारम्बार ताकेता गरिएको र कुनै प्रतिक्रिया नआएकोले अवज्ञाकारीको सुचीमा राख्ने तयारी भइरहेको थाहा पायौं ।

सर्वप्रथम हुलाकी न्यूड डट कमका विषयमा सम्मानित प्रेस काउन्सिललाई जानकारी गराउन आवश्यक ठान्दछु ।
हुलाकी न्यूज डट कम ( www.hulakinews.com ), नेपालको पहिलो सामुदायिक इन्टरनेटमा आधारित पत्रिका ( Nepal’s First Community internet news portal ) हो भने मधेशको पहिलो राष्ट्रिय अनलाइन पत्रिका पनि हो ।

‘मधेशमा भैसी मरेको खण्डमा हुलाकी न्यूजको प्रमुख समाचार बन्न सक्छ, अन्यत्र ठूलो दुर्घटना भएपनि त्यो हाम्रो सरोकारको विषय नबन्न सक्छ ।’

यसको कार्य प्रकृति सामुदायिक छ । मधेशको जनता, मधेशको भुभाग र मधेशको संस्कृति हुलाकी न्यूज डट कमको समाचारिय एवं सरोकारको पहिलो प्रथमिकतामा पर्दछ । हाम्रो ‘स्टाईल बुक’को आधारमा ‘मधेशमा भैसी मरेको खण्डमा हुलाकी न्यूजको प्रमुख समाचार बन्न सक्छ, अन्यत्र ठूलो दुर्घटना भएपनि त्यो हाम्रो सरोकारको विषय नबन्न सक्छ ।’
सामुदायिक मिडियाको धर्मअनुसार हुलाकी न्यूज डट कमले मधेशी समुदायको पक्षमा वकालत गर्दै आएको छ ।

मिडियाले कुनै पक्षको वकालत गर्ने कि नगर्ने भन्ने विश्व बजारमा डिबेडको विषय बन्दै आएको छ । तर नेपाली मिडियाको इतिहास र अभ्यासमा एक पक्षको वकालत गर्नकै लागि मिडियाको स्थापना भएको छ भने अभ्यास पनि त्यहीअनुसार हुँदै आएको छ । नेपालको जेठो पत्रिका गोरखापत्र पनि राणाहरुले ‘अरुका स्त्रीका बारे लेख्नु तर दरबार भित्रको राश लिला नलेख्नु, हाम्रा कर–लगामको उर्दी दिनु तर नेपाली जनताको फरक मतलाई स्थान नदिनु’ भनेरै स्थापना गरेका थिए । अहिले पनि सरकारमा रहेका राजनीतिक दलको गुनगान केन्द्र तथा कार्यकर्ता भर्ती केन्द्र बनेको छ ।
अखिल भारतीय नेपाली काँग्रेस (हाल नेपाली काँग्रेस)ले पनि रेडियो नेपाल (तत्कालिन अवस्थामा रेडियो प्रजातन्त्र) को स्थापना आफ्नै गुणगानका लागि र राजनीतिक हिंसा बढ्काउनका लागि गरेका थिए । एउटा हातमा रेडियोको माइक्रोफोन र अर्को हातमा बन्दुक लिएर रेडियोमा बोलको कुरा तिनै काँग्रेसका नेताहरुले उल्लेख गर्दै आएका छन् । रेडियो प्रजातन्त्र, रेडियो नेपालमा परिणत हुँदा पनि तिनै व्यक्ति निर्देशक भए र उनकै पार्टीको सरकार आउँदा रेडियो नेपालको विस्तार भयो । उनीहरुकै कार्यकर्ता भर्ती केन्द्र बन्यो । अन्य सरकारी सञ्चार माध्यम तथा निकायहरुको अवस्था पनि त्यस्तै छ ।
त्यती मात्र कहाँ हो र, व्यवसायिकको नाममा खुलेका ‘भाई गोरखापत्रहरु, भाई रेडियो नेपालहरु’ निजि सञ्चारमाध्यमहरु त्योभन्दा पनि विकृत छन् । झन् ‘भतिज रेडियोहरु’ (फ्रिक्वेन्सी मोडुलेशनका सय वाटे र पाँच सय वाटे रेडियोहरु) सांसद र नेताहरुको खल्ती अनुसार नै चलेको छ । नेपाली ठूला मिडियाको लगानी र आम्दनी पारदर्शी छैन भने उनीहरुको क्रियाकलाप पारदर्शी हुन्छ भन्ने विश्वास गर्ने आधार नै छैन । त्यसकारण सबैले आ–आफ्नो विचार बोकेर मिडिया सञ्चालन गरेको अवस्था छ ।

नेपालको सरकारी सञ्चार माध्यम होस् अथवा निजि सञ्चारमाध्यम जातीय सञ्चारमाध्यम हुन् । यसलाई प्रमाणित गर्न धेरै लेखपढ गर्न आवश्यक नै छैन । नेपाली मुख्य पाँच दैनिक पत्रिका, मुख्य पाँच टेलिभिजन र मुख्य पाँच अनलाइनका सम्पादक तथा सम्पादकीय समूह र उनको समाचारिय विषयबस्तुको अध्ययन गरे पुग्छ ।

पुनः हुलाकी न्यूजकै चर्चा गरौं । नेपालको सरकारी सञ्चार माध्यम होस् अथवा निजि सञ्चारमाध्यम एकल जातीय बर्चस्वको छ । (हेर्नोस्, मार्टिन चौतरी र आदिवासी जनजाति पत्रकार महासंघको मिडियामा समावेशी सम्बन्धी अध्ययनहरु) तसर्थ नेपाली सञ्चारमाध्यम जातीय सञ्चारमाध्यम हुन् । यसलाई प्रमाणित गर्न धेरै लेखपढ गर्न आवश्यक नै छैन । नेपाली मुख्य पाँच दैनिक पत्रिका, मुख्य पाँच टेलिभिजन र मुख्य पाँच अनलाइनका सम्पादक तथा सम्पादकीय समूह र उनको समाचारिय विषयबस्तुको अध्ययन गरे पुग्छ । एउटै जातको सबै थोक पाइनेछ ।

तर हाम्रो हुलाकी न्यूज डट कम जातीय संकृणताभन्दा माथि उठेको छ । हुलाकी न्यूज डट कमले समग्र मधेश राष्ट्र र राष्ट्रियताको कुरा उठाउँछ (नेपाल बुहराष्ट्रिय राज्य हो) । मधेशी समुदायको कुरा उठाउँछ र समावेशी जनशक्ति पनि छ  । मधेशमा रहेका थारु, मुस्लिम, मधेशी जनजाति, मधेशी दलित, मधेशी अल्पसंख्यक र सीमान्कृत समुदायको कुरा उठाउनुका साथै मधेशमा बसोबास गर्ने पहाडे मुलका मधेशीको पनि कुरा उठाउँदै आएको छ । त्यती मात्र होइन, बर्माबाट धपाइएर रुपन्देहीमा बस्दै आएको बर्मेलीहरुको कुरा पनि उठाउँछ, भुटानबाट लखेटिएर मधेशमा बसोबास गर्ने भुटानीको कुरा उठाउँछ । दाजर्लिङ, असाम, नागाल्याण्डबाट पूर्वी मधेशमा पसेकाहरुको कुरा पनि हुलाकी न्यूजले उठाउँदै आएको छ । कुमाउ, गढबाल, लखनौं जस्ता भारतीय क्षेत्रबाट पश्चिम मधेशमा पसेकाहरुको समस्यालाई पनि हामी उठाउँदै आएका छौं । तसर्थ हामी समग्र देशको समस्याका विषयमा हाम्रा सामाग्रीहरु प्रस्तुत गर्दै आएका छौं ।

नेपाली जातीय सञ्चारमाध्यमले मधेशका अधिकांश विषयबस्तुमाथि प्रतिवन्ध लगाए जस्तो हामी कुनै पनि विचारलाई प्रतिबन्ध लगाएका छैनौं । चाहे प्रजातान्त्रिक धारका हुन् अथवा कम्युनिष्ट धारका अथवा अन्य कुनै धारका । हामी सबैलाई समान स्थान दिन्छौं । माओवादीको हिंस्रक जनयुद्धलाई जस्तो हामी हिंसालाई प्रोत्साहन गर्ने काम गर्दैनौं । शान्तिपूर्ण तबरबाट हुने कुनै पनि राजनीतिक गतिविधिलाई स्थान दिदै आएको छौ । र, मधेशमा हुने त्यस्ता सबै विषय बस्तु हाम्रो महत्वपका सामाग्री हुन् किनभने हामी मधेशको राष्ट्रिय र नेपालको सामुदायिक सञ्चारमाध्यम छौं ।
हुलाकी न्यूज डटकम राष्ट्रियताहरु, राष्ट्रिय एकता र अखण्डताप्रति सँधै गम्भीर रहँदै आएको छ ।

स्पष्टीकरण सम्बन्धमा

सम्मानित प्रेस काउन्सिलको पत्रमा पत्रकार आचारसंहिता २०७३ को दफा ५(१) मा ‘पत्रकार तथा सञ्चारमाध्यमले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता विरुद्ध सामाग्री उत्पादन, प्रकाशन, प्रसारण तथा वितरण गर्नु हुँदैन’ भन्ने विपरीत हुलाकी न्यूजले काम गरेको आरोप लगाइएको छ ।

स्पष्टीकरण : हुलाकी न्यूज डट कम नेपालको पहिलो सामुदायिक अनलाइन भएकोले मधेशी समुदायमा हुने हरेक घटना तथा गतिविधि उसको समाचारिय सामाग्री हो । त्यो घटना राजनीतिक होस् अथवा सामाजिक । मानवअधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८ को धारा १९ ले विना रोकटोक कुनै पनि सञ्चारमाध्यमले कुनै पनि सुचना सम्प्रेशन गर्न पाउने र जनताले सहजै पाउनु पर्ने व्यवस्था गरेको छ । त्यस्तै, नेपालको संविधान २०७२ को धारा १९ ले सञ्चारको हक दिएको छ । त्यस आधारमै हुलाकी न्यूजले आफ्ना सामाग्री सम्प्रेशन गर्दै आएको छ ।

नेपालको संविधान, कानुनलाई मानेरै हुलाकी न्यूज डट कमले सम्पूर्ण पक्रिया पुरा गरी त्यही सम्मानित प्रेस काउन्सिल नेपालमा सुचीकृत भएको सञ्चारमाध्यम हो । (दर्ता नम्बर ४८९, दर्ता मिति २०७२ भदौ ९ गते) । तसर्थ नेपालको संविधान तथा कानुनको पुर्ण पालनासहित हुलाकी न्यूजले सामाग्री प्रस्तुत गर्दै आएको छ । संविधानअनुसार राष्ट्रिय एकता र विखण्डनको विषयमा हुलाकी न्यूज सँधै सजग रहेको जानकारी पनि गराउँदछु ।

पत्रमा इकित गर्न खोजिएको विषय डा.सीके राउतको समाचारका विषयमा प्रष्ट्याउन चाहन्छौं । डा.राउतको गतिविधिलाई नेपालको सर्वोच्च न्यायिक निकाय सर्वोच्च अदालतले जायज ठहर गर्दै सफाई दिइसकेको अवस्था छ । नेपालको हरेक सञ्चारगृहले डा.राउतका विषयमा समाचार सम्प्रेशन गरेको अवस्था छ । यस अवस्थामा हुलाकी न्यूजले डा.राउतको समाचारलाई वेवकाष्ट नगर्नु उपयुक्त नठानेकोले तिनका विषयमा समाचार सामाग्री सम्प्रेशन गर्दै आएका छौं । तर, उनको गतिविधिलाई प्रोत्साहन गर्ने काम गरेका छैनौं । कसैका बारेमा समाचार सम्प्रेशन गर्दैमा प्रोत्साहित हुने हो भने विश्वका मिडियाले दिनहुँ विभिन्न आतंकवादी संगठनहरुको समाचार प्रकाशन, प्रसारण गर्दै आएको छ । त्यस आधारमा सबै मिडिया ति आतंकवादी संगठनलाई प्रोत्साहन गरेको हो जस्तो हामीलाई लाग्दैन ।

पत्रमा उल्लेख समाचारका शिर्षकहरु घटना परक हुन् । घटनाका आधारमा समाचार बनाइएको हो । कतिपय अवस्थामा कसैले स्वतन्त्र रुपमा आफ्नो विचार राख्छ भने मिडियाको धर्म (पब्लिक स्पेयर)का आधारमा उसको विचारलाई स्थान दिने विश्वव्यापी मान्यता छ । नेपाली मिडियाहरुले पनि स्वतन्त्र व्यक्तिको विचार राख्ने गरेको अवस्था छ । सोही आधारमा हुलाकी न्यूजले पनि कसैको विचारलाई बन्देज नलगाई स्वतन्त्र रुपमा वेवकाष्ट गरेको अवस्था छ ।

तसर्थ प्रेस काउन्सिलमा आएको उजुरीका आधारमा हुलाकी न्यूजमाथि लगाइएको आरोपहरु निराधार भएको जानकारी गराउन चाहन्छु । र, प्रेस काउन्सिललाई आवश्यकता बमोजिम सहयोग गर्न तयार रहेको जाहेर गर्दछु ।

                                                                                                                    बीपी साह
                                                                                                                    सम्पादक

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.