हुलाकी न्यूज, जनकपुरधाम :
इलाका प्रहरी कार्यालय सबैलाका अधिकारीहरुलाई घुस दिन नसक्दा शम्भू सदाको हत्या भएको एक प्रतिवेदनले देखाएको छ।

शम्भू सदाले चलाएको ट्रयाक्टर दुर्घटना भएपछि एक जना महिलाको मृत्यु भएको थियो भने एक जना बालिका घाइते भएकी थिइन्।

उक्त प्रकरणमा ट्रयाक्टरमा बसेका लेबरहरुले ट्रयाक्टर चलाएको स्वीकार गराउन प्रहरीले शम्भू सदालाई यातना दिएका थिए। सोही विषयमा प्रहरीले शम्भू सदाको परिवारसँग अनुचित रकम (घुस) माग्न थालेका थिए। र, सदालाई प्रहरी हिरासतभित्रै यातना दिइदै आएका थिए।

ट्रयाक्टर दुर्घटनाको विषय मिलेकै दिन प्रहरीले अनुचित रकमको माग गर्दै शम्भूलाई प्रहरी हिरासतबाट आमा सियाली देवी सदालाई फोन गर्न लगाएका थिए।

सियाली देवीले आफ्नो छोरालाई प्रहरी हिरासतमा पैसा माग्दै यातना दिइएको जानकारी ट्रयाक्टर धनीलाई गराएका थिए। तर, ट्रयाक्टर धनी संजय साहले कानुन बमोजिमको रकम दुई दिनभित्र सीडीयो कार्यालयमार्फत जम्मा गरिने भन्दै घुस नदिन सुझाव दिएका थिए।

सोही राति घुसको माग गर्दै शम्भू सदालाई यातना दिने क्रममा मृत्यु भएको र त्यसपछि शौचालयमा झुण्डियाइएको प्रतिवेदनमा जनाइएको छ।

पत्रकार एवं कानूनका विद्यार्थी बीपी साहको संयोजकत्वमा गठित अध्ययन समितिले तयार पारेको प्रतिवेदनमा पैसा नदिएकै कारण यातनापछि हत्या भएको उल्लेख छ।

उक्त स्वतन्त्र छानविन समितिमा राजकिशोर रजक (अम्बेडकरी तथा बहुजन अध्ययता), पचु माझी मुसहर (दलित अभियानकर्ता), रामदयाल सदा (स्थानीय शिक्षक) र मोहन सदा (दलित अभियानकर्ता) रहेका छन्।

प्रतिवेदनको निष्कर्षमा भनिएको छ,‘ट्रयाक्टर दुर्घटनाका बेला सम्भू सदाले लाइसेन्स नभएको लेबरलाई ट्रयाक्टर चलाउन दिएर दुर्घटना गराएको आरोप लगाउँदै प्रहरीले सदालाई बारम्बार शारिरिक र मानसिक यातना दिएको । तत्पश्चात सदासँग पैसाको माग गरेको । र, सदाले पैसा दिन नसक्दा मृतक र गाडी मालिकबीच सहमति भइसकेको रात पैसा माग्दै यातना दिने क्रममा शम्भूको मृत्यु भएको ।’

‘सम्भूको मृत्युपछि प्रहरीले शौचालयमा लगेर झुन्ड्याएको । र, शौचालयको गेटमाथि खाली रहेको भागबाट हात वा व्यक्ति पसेर शौचालयको भित्रको चुकुल लगाएको ।’ प्रतिवेदनमा उल्लेख गरिएको छ, ‘देहातका प्रहरी गरिब र दलितहरुलाई डराई, धम्काई अनुचित पैसा लिनु तितो यर्थात हो । प्रहरी कार्यालयमा हुने मेलमिलापमा सहभागी प्रतिनिधिहरु पीडितबाट लेनदेन गरी प्रहरीलाई रकम बुझाउनु देहातको प्रबृति नै देखिन्छ । यस दुर्घटनामा पनि गाउँमा ट्रयाक्टर चलाउने चालकलाई यातना दिएर रकम असुल्ने प्रहरीको प्रबृति प्रष्टै देखिन्छ । प्रहरीबाट सुरक्षा महशुस गरिरहेको अवस्था देखिदैन।’

यस्तो भन्छिन् शम्भूकी आमा

मलाई फोन गरी शम्भुले भने आमा म सित गल्ती भयो मैले चलाएको टयाक्टरबाट एकजना महिलालाई ठक्कर लाग्यो । म धनुषा प्रहरी चौकीमा हाजिर हुन गैइरहेको छु । साहुजी संजय साहले पनि भनेको थियो लाईसेन्स छदै छ केही हुदैन् । साउजीले जिम्मा लिएको छ, केही हुदैन म क्षतिपुर्ति दिएर छोडाई हाल्छ । शम्भु सदा धनुषाधामको प्रहरी चौकीमा हाजिर भए । जेष्ठ १२ गते धनुषधाम प्रहरी चौकीमा बसे र त्यसको भोली पल्ट सबैलाको प्रहरी चौकीमा पठाईदियो ।

म भेट्न जादाँ मलाई छिटो छोडाई हाल्नु शम्भुले भन्दै आएको थियो । म पनि छोडाउनको लागी स्थानिय नेता, र सबारीधनीलाई पटक पटक भन्दै आएका थिएँ । सबैले भन्दै आएको थियो कि शम्भु सित लाईसेन्स छ । ३५ दिन जति राख्छ त्यसपछि क्षतिपुर्ति तिरे पछि छोडदिन्छ । प्रहरीले मारपिट गरी लेबरहरुको नाम लेखाएको र नाम भने पछि छोडदिने बाचा गरेको थियो । लेबरमा दिनेश सदा, सुरेश सदा, संजय सदा, ललित सदा, अर्जुन सदा टे«क्टरमा बसेका थिए ।

२७ गतेको दिन खेरही तोरिरहेको वेलामा शम्भुले फोन गरी भनेको थियो मलाई छोडाई लग्नु आमा । प्रहरीले पैसा मागिरहेका छन् पैसा नदिए मलाई मारिदिन्छ । सुन्दै जिउ झसक परे र खरही तोर्ने काम छोडी प्रहरी चौकी जाने निस्किरहेकै वेलामा सबारी धनी संजय साह आयो र मैले छोरा सित भएको कुरा सुनाए । संजय साहले भने कि मैले पैसा बुझाईदिएको छु, भोली शम्भुलाई छोडिदिन्छ, तिमी हल्ला नगर र प्रहरी सित भेट्न नजाउ प्रहरीले पैसा माग्छ ।

राति म सुतिरहेको बेला प्रहरी र सबारीधनी आए र मलाई उठाइयो, जाउँ तिम्रो छोरालाई जनकपुर लगनुपर्ने छ तिमी सित भेटन चाहन्छ । त्यतिकै बुहारी पनि उठे, फेरी अर्को प्रहरीले शम्भुको श्रीमतीलाई पनि लगन भन्न थाल्यो र अरु कसैलाई उठाउनु पर्दैन जाउँजाउँ भनेर मलाई शम्भुको श्रीमतीलाई र शम्भुको सासुलाई मोटरसाइकलमा बसाएर लगियो । प्रहरी चौकी गेट निर हामीलाई छोडदियो र भन्नुभयो कि तिम्रो छोराले झुण्डिएर आत्महत्या गरिसकेको छ । त्यो सुन्ने वितिकै म रुन कराउन थाले, अचेत हुन थाले र हामी त्यहाँ पुग्दा कारी यादव, सन्तोष साह, राजकुमार यादव, पारस साहलगायतको व्यतिm पहिलादेखी नै थियो । त्यहाँ आएका एक जनाले मलाई दुईटो पाखुरामा सुई लगाईयो र औठाको छाप लिन खोज्यो तर मुठी मुनिएकोले ओठाको छाप लिएकी लिएन थाहाँ भएन ।

मुख्य रुपमा प्रहरीले धरधम्की, मारपिट गरी लेबरको नाम लेख्न लगाएको, ब्यानका लागी लेबरलाई बोलाएर आधी बाटोबाट फर्काइदिएको, प्रहरीले पैसा मागेको, प्रहरीले पैसा मागेको विषयमा धेरै हल्ला नगर नभए तिम्रो छोरालाई छोडाउदिन सबारीधनीले भन्नेको थियो ।

हो, एक दिन म शम्भूलाई खाना लिएर गएको बेलामा एक जना पुलिसले मलाई सोधेको थियो तिमीले पैसा दिन्छौं कि गाडी साहुजीले दिन्छ । मुखमा मास्क लगाएर उभिएकोले मैले त्यो पुलिसलाई चिन्हन सकिन । त्यो कुरा पनि मैले गाडी साहुजीलाई भनेको थिएँ । मसँग किन पैसा मागेको थियो त्यतीबेला मैले बुझ्न सकिनँ ।

प्रतिवेदन पढ्न यहाँ जानुस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.