मंजित कुमार महरा, गौशाला (महोत्तरी) : प्रदेश २ सरकारले संचालन गरेको ‘बेटी पढाओ बेटी बचाओ अभियान’ र केन्द्र सरकारले सञ्चालन गरिरहेको विद्यालय भर्ना अभियान महोत्तरीमा फितलो देखिएको छ। अभियान घोषणा भएपछि पनि अधिकांश बालबालिकाहरु विद्यालय बाहिर छन्।
विद्यालय रहेका बालिकाहरु गिट्टी खेलेर र घरायसी काम गरेर समय विताउने गरेका छन्। सोनमा गाउँपालिका वडा ५ मा रहेको दलित बस्तीमा दर्जनौ बालबालिका विद्यालयमा पढ्ने गरेका छैनन्।
जिल्लाका अधिकांश दलित बस्तीको अवस्था यस्तै रहेपनि शिक्षा क्षेत्रमा काम गर्ने सरोकारवाला निकायहरुको ध्यान जान नसकेको स्थानीयबासीहरुको आरोप छ।
सोन्मास्थित उक्त बस्तीमा माध्यमिक तहकै विद्यालय रहेपनि बालबालिकाहरु विद्यालय र शिक्षाप्रति जागरुक हुन नसकेको स्थानिय पुनम देवी महराको भनाई छ।
योग्य र दक्ष भनिएका शिक्षकहरु राखिए पनि अधिकांश विद्यालयको अवस्था विग्रदो छ। भौतिक संरचनाको अभाव, विद्यालय व्यवस्थापन समिति तथा सरोकारवाला निकायले ध्यान दिन नसक्दा पनि अभियानले सार्थकता पाउन सकेको छैन।
अभियानको सफलताका लागि सबै तहको प्रयास हुने पर्नेमा खासै चासो दिइएको छैन। शिक्षकहरुमा ‘सरकारी तलब आएकै छ पढाउनु पर्ने आवश्यकता नै छैन’ र अभिभावकहरुमा ‘बालबालिकाले घरकै काम गरिरहेकै छन् किन पढाउनु पर्ने’ भन्ने मानसिकता परिवर्तन हुनु आवश्यक देखिन्छ।
यता वडाअध्यक्ष रामविनय यादवले वर्षौदेखि समुदायमा कायम रहेको अशिक्षालाई हटाउन समय गाल्ने बताए। उनले समाज वर्षौदेखि पिछडिएकोले बिस्तारै शिक्षामा विकास हुने आशा व्यक्त गरे।
त्यस्तै सोनमा गाउँपालिकाका शिक्षा संयोजक अशोक कुमार यादवले आफुहरुले समुदाय र विद्यालयबीच शिक्षाप्रति सकारात्मक वातावरण निर्माण गरिदिएको दाबी गरे। उनले अव अभिभावकले आफ्नो दायित्व बुझिदिने आवश्यकता रहेको बताए।
केन्द्र सरकारको विद्यालय भर्ना अभियान र प्रदेश सरकारको बेटी पढाओ बेटी बचाओ अभियान दुवैको उदेश्य बढीभन्दा बढी बालबालिकाहरुलाई शिक्षित बनाउनु हो। जसका लागि शिक्षक, अभिभावक, व्यवस्थापन समिति र नागरिक समाजसमेतको सहयोग आवश्यक हुने शिक्षा समन्वय इकाई प्रमुख शत्रुधन यादवले बताए।
उनले केन्द्र, प्रदेश र स्थानीय तहको संयुक्त प्रयास भए अभियान सफल हुने र अभियानकै सफलताको लागि प्रयाससमेत भैरहेको बताए । तथ्यांक अनुसार महोत्तरीमा ६ हजार ३७२ बालवालिका मात्र विद्यालय बाहिर रहेपनि वास्तविकता भने फरक रहेको छ। अझै दशौ हजार बालबालिका विद्यालय बाहिर रहेको अनुमान गरिएको छ।