हुलाकी न्यूज, काठमाडौं :
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई सात बुँदे ज्ञापन पत्र बुझाएको छ।

विहीबार राती राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसहितका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापन पत्र बुझाएका हुन्।

मधेश आन्दोलनका मागहरु अहिलेसम्म पनि पुरा नभएको ध्यानाकर्षण गराउँदै राजपाले विभिन्न सातवटा विषयमा ज्ञापनपत्र बुझाएको हो।

संविधान संशोधन तथा कैलाली क्षेत्र नम्बर एकबाट निर्वाचित राजपाका सांसद रेशम चौधरीलाई प्रमाणपत्र उपलब्ध गराई शपथ ग्रहण गराउनु पर्ने मागसमेत गरेको छ। मधेश आन्दोलनका क्रममा पक्राउ परेकाहरुको रिहाई तथा घाइतेहरुको उपचार र क्षतिपुर्ति उपलब्ध गराउन माग गरिएको छ।

गत वर्षको बाढीबाट प्रभावित मधेशीहरुले अहिलेसम्म राहत पाउन नसकेको भन्दै राहत उपलब्ध गराउन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका क्रममा घोषणा गरिएको अनुदान वापतको रकमको कार्यक्रम अगाडि बढाउन माग गरिएको छ।

संविधान अनुसार प्रदेशलाई प्रदान गरिएको अधिकार बमोजिम ऐन कानुन निर्माण गरी प्रदेश सरकारलाई कामकारवाही गर्ने वातावरण बनाइ दिन आग्रह गरिएको छ।

ओली सरकारले पद मुक्त गरेका विभिन्न निकायका पदाधिकारीहरुको पुर्ननियुक्तका साथै करार, अस्थायी रुपमा काम गरिरहेका कर्मचारीहरुलाई पुनः काममा फर्काउन राजपाले माग गरेको छ।

केही दिन यता ओली सरकारलाई दिइएको समर्थन फिर्ता लिनु पर्ने कुरा राजपाभित्र उठ्दै आएको छ। यसअघि दुई पटक ज्ञापन पत्र बुझाए पनि सरकारले कुनै सुनवाई नगरेको भन्दै समर्थन फिर्ता लिन शिर्ष नेतृत्वमा दबाब रहेको छ।

विहीबार राती बुझाइएको सात बुँदे ज्ञापन पत्रको अन्त्यमा राजपाले सबै मागहरु सम्बोधन गरी मधेशको नेतृत्व गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको छ। विज्ञप्तीमा भनिएको छ,‘सम्मानीय प्रधानमन्त्री ज्यूले गम्भीरतापूर्वक उक्त विषयहरुलाई सम्बोधन गरी राजनीतिक र समसामायिक सन्र्दभमा देश, मधेश र जनतालाई नेतृत्व दिन राजपा नेपाल आग्रह गर्दछ।’

यसैबीच विहीबार विहान नै राजपाले नेपाली कांग्रेससँग छलफल गरेको थियो। ‘लोकतान्त्रिक गठबन्धन’ बनाउने विषयमा कांग्रेससँग राजपाले छलफल गरेको हो।

साथै अनसनरत डा.गोबिन्द केसीको मागका विषयमा पनि कांग्रेससँग छलफल गरेको राजपाले प्रधानमन्त्री ओलीलाई पनि केसीको माग सम्बोधन गर्न आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.