शैलेन्द्र झा
त्रेतायुगमा जब रामले गर्भवती सीतालाई वनबास पठाउने निधो गरे सबैले उनको जयजयकार गरे । मर्यादा पुरुषोत्तम भनेर उनी नै चिनिए । हनुमानले प्रभु ! प्रभु ! भनेर रामको जप नै गरिरहे । सीता संघर्षरत रहिन् र आफ्नो आमाको कर्तव्य पालना गर्दै लव–कुशलाई एक कुशल व्यक्ति बनाउन सकिन् । तर रामले फेरि मर्दया पुरुषोत्तम हुनका लागि सीतासँग उहाँको चरित्र शुद्ध भएको प्रमाण मागे । राम नै लव–कुशका पिता हुन् भन्ने प्रमाण । हनुमानले फेरि पनि प्रभु ! प्रभु ! भनेर रामको जप गरी नै रहे । यति गर्दा पनि राम मर्यादा पुरुषोत्तम भनेरै चिनिए ।

तर आजको यस युगमा यति भैसक्दा खेरि अयोध्याको नागरिक समाज, पत्रकार, महिला संघ–संगठन र बुद्धिजीवी वर्ग चुप लागेर बस्थे होला त ? जनकपुरका राजा र जनता टुलु टुलु हेरेरै बस्थे होला त ? संसारले रामलाई मर्यादा पुरुषोत्तम मान्थे होला त ? आजको परिस्थितिमा राम मर्यादा पुरुषोत्तम त कता कता, उचित निर्णय गर्ने क्षमता नभएको भनेर आलोचित हुनु पर्थ्यो होला ! यो नयाँ युगमा नेताको एक कुशल मित्र अनि सल्लाहकार हनुमान चरित्र भएपछि, नेतृत्व सधैं आलोचित भएको छ । धेरै संघर्ष पछि, मानव समाजले सुनको पिंजडामा हुनु भन्दा स्वतन्त्रता रोजेको समय हो यो ! आफूलाई लागेको बोल्न पाउने, सहि गलत छुट्याउन सक्ने क्षमता भएको मुल्यांकन गर्ने सामज हो यो ।

हाम्रो प्रधानमन्त्री के. पी. ओली र नेपालको राजनीतिमा धेरै नेता महोदयहरु आफैं पनि वाक स्वतन्त्रताकै लागि आजीवन संघर्षरत रहनु भएको इतिहास साक्षी छ हामीसँग । तर विगत दुई दशकमा सबै प्रधानमन्त्रीहरुको कार्यकाल र राजाकै शासन प्रणाली हेर्दा उहाँहरुले गरेको ठुलो भुल भनेको हुनमान जी को कुरालाई पूर्ण रुपमा विश्वास गर्नु नै हो । तपाईंको नेतृत्व हनुमानले प्रभु भनेर जति नै जप गरे पनि, मुल्यांकन जनताले नै गर्ने हो । फेरि शासनको अनौठो खेल, जनताको आवाज सुनिंदैन, केवल सुनिन्छन् एक–दुई विरोधका बोलीहरु, एक–दुई जनाले मेरो डाहा गरेको भनेर !

बेवास्ता गर्नेले, इतिहासलाई सम्झंदै रोइ राखेका छन् । समय ढिलो भै सक्छ बेवास्ता गर्दा गर्दै, अनि जनताको आवाज होइन, आक्रोश सुनिन्छ । आक्रोश आन्दोलनमा परिवर्तन हुँदै सत्ता नै परिवर्तन गरिदिन्छ । प्रधानमन्त्री ज्यू कतै तपाईंको वरिपरि हनुमानजीहरु मात्रै त छैनन् नि !

रामकै पालाको रावण धेरै नै बुद्धिमानी युग पुरुष थिए । तर आफ्नो अहंकारको कारण विभीषणको कुरा सुनेनन् । भनिन्छ विभीषणले रावणको साथ नछोडेको भए सायद लंकेशपति रावणको अन्त्य हुँदैनथ्यो होला । कतै तपाईंको अहंकारले, तपाईंका मित्रले तपाईंको साथ छोडेको त छैनन् नि, प्रधानमन्त्रीज्यू ? नेपालको राजनीतिमा यो चाहिं धेरै पटक देखिएको हो, तपाईंको पार्टीमा पनि देखिएकै हो, प्रधानमन्त्रीज्यू । आफ्नोलाई नाश गर्नलाई अरुको साथ दिने नेपाली राजनीतिको परम्परा नै भैसकेको जस्तो लाग्छ । जे गल्ति रावणले अहंकारले गर्दा गरे , सत्तारपुत्रमोहले गर्दा धृतराष्ट्रले पनि त्यहि गल्ति गरे। धेरै नै कुशल र अनुभवी सल्लाहकार भीष्मको मौनताले हस्तिनापुरको नासलाई जोगाउन सकेन। प्रधानमन्त्रि ज्यू, सत्ताको आहंकर धेरै नै मादक हुन्छ, हो ?

तपाईंको कार्यकाल को समस्या के हो, मैले बुझ्न सकिन। तपाईंहरु हनुमानको वरिपरि हुन रुचाउने हो ? अहंकारले लिप्त रावणले जस्तो विभीषणको फरक मत सुन्न नसक्ने हो कि, आथवा तपाईंको सत्ता मोहले बिवश भएर भीष्म जस्तो कुशल र आनुभवी सल्लाहकार पनि मौन भएका हुन् ?

दुई दशकको जुनसुकै कार्यकाल र तपाईंकै कार्यकालमा रहेका सल्लाहकार, मन्त्रि, सचिव र नेतृत्व कर्ताहरुको क्षमता उत्कृष्ट छ । अनि जब म तपाईंको त्याग अनि निरन्तर खटाइको इतिहास हेर्दछु , ममा धेरै प्रेरणा आउँछ। तपाईंसंगैको धेरै नेताहरुको त्याग हेर्दा भित्र आत्माबाट सम्मान आउँछ । तर अच्चम को कुरा के छ भने, भ्रष्ट्राचार पनि तपाईंहरुकै कार्यकालमा हुने, भोग विलाषीको जीवन पनि ! तपाईंहरु सत्तामा हुँदा अनि सत्ता बाहिर हुँदा पनि कायम गर्न सक्ने, के होला स्रोत भनेर सोचेको सोच्यै नै छु। यो विषयमा अरु दिन कुरा गरौंला !

तर कम से कम एउटा प्रश्नको उत्तर चाहिं एकदमै खोज्न मन लागेको छ । आशा गर्दछु, पाउँछु होला ? जुन जनताको साशन ल्याउनको लागि तपाईंहरु आजीवन संघर्षरत हुनु भयो, आज ठिक त्यसको बिपरीत किन तपाईंको सिद्धान्त भएको होला । प्रजातन्त्र भनौ वा गणतन्त्र भनौं, यसको मौलिकता भनेको चाहिं जानताको विचारको सम्मान गर्ने अनि फरक विचारलाई अझै धेरै मान्यता दिने ? तर तपाईंले त फरक विचार आउने बित्तिकै सुन्नै नसक्ने पो हुनु हुँदो रहेछ त ! हुन त तपाईंभन्दा अगाडीका केही प्रधानमन्त्रिको पनि यहि नै चरित्र थियो । किन एउटै गल्ति ?

मलाई याद छ, जब नयाँ संविधान संविधानसभाले पारित गर्ने बेला थियो, अनि पारित गरे पछि मधेशमा ठूलो विद्रोह भैरहेको थियो । मैले खासै सरोकार राखेको थिइन, नेताहरुको मतभिन्नता देशको नक्शा कोरकार गर्नु र नामाकरण हुनुमा । धेरैको जातीय र राजनीतिक निहित चासो प्रष्टै बुझिन्थ्यो । मेरो लागि संविधान आउनु भनेको देशले नयाँ गति लिनु थियो । किनभने नेपाली जनता थाकिसकेका थिए दसकौं लामो गतिरोधबाट । तर एकातिर सविंधान आउनु अनि अर्को्तिर नेपाली जनताको ज्यान जानु, घाइते हुनु, धेरै जनाको लागि यो सामान्य भैराखेको थियो । जुन सारै नै दुखद थियो । सबैभन्दा कठोर के भैदियो भने जब तपाईंले बोटबाट एक–दुई वटा आँप झर्नु स्वाभाविक हो भन्नु भयो । मेरो चित्त सारै नै ढुखेको थियो त्यतिबेला ! तपाईं जस्तो एक क्रान्तिकारी, निष्ठावान र बौद्धिक व्यक्तिले यस्तो वचन बोल्नु भनेको तपाईंको जातिय पूर्वाग्रहीपन हो भनेर मैले बुझें । तर, मैले आज थाहा पाएँ, तपाईं जातिय पूर्वाग्रही हुनु हुँदो होइन रहेछ। मलाई माफ गरि दिनुहोस्, मेरो मुल्यांकनको लागि प्रधानमन्त्रीज्यू ।

जब तपाईंले यो महामारीले गर्दा जनता पिडित छैन भन्नु भयो, एकछिन त बालुवाटारको कम्जोर हेराईप्रति धेरै नै चिन्तित भएँ । अनि फेरि तपाईंको अर्को भनाइ सुने, एकाध मनिसले बिरोध मात्रै गरेको हो भनेर । हजारौं मजदुर, गर्भवती महिला, बच्चा, बृद्धहरु आंत्तिएर होस् वा परिवारसंगको वियोगले गर्दा होस् या खानबस्न नपाएर होस, काठमाडौँबाट सयौं किलोमिटरको दूरी हिंडदै पार गरिरहेका छन् । भारत मजदुरी गर्न गएका नेपालीहरु भारतको धार्चुलामा विचलित छन्। कामबाट फर्किरहेका डाक्टर र औषधि किन्न गएका व्यक्तिले प्रहरीको दमन सही राखेका छन् । निम्न वर्ग र मध्यम वर्ग आफ्नो आर्थिक स्थितिबाट मानसिक र भौतिक रुपमा विचलित छन् । अनेकौं अनेक समस्याहरु छन् तर तपाईंले देख्ने त्यही एकाध जना मात्रै हो ? सरकारले चीनमा अड्केको अनि युएनमा कार्यरत नेपालीलाई देश फर्काउन सकेकोलाई सफलता मान्नु हुन्छ भने, तपाईंले फेरि पनि सिमित सोच राख्नु भएको हो । माफ गर्नु होला, सरकार पहुँचवालाहरुको मात्रै त होइन नि ? आहिले महामारीको संकटको बेला हामी सबैलाई आशा र प्रेरणा दिनु त कता कता, झन् सबै हतोत्साहित हुने गरि आध्यादेश ल्याउनु भयो । त्यहि घिनलाग्दो सत्ता को खेल लाई नै प्राथमिकता दिनु भयो। तर जे भए पनि तपाईं पेलेरै जाने जस्तो देख्दा, तपाईं कुनै जातजति, वर्गकोभन्दा पनि आफ्नो हितलाई मात्रै प्राथमिकता दिएको जस्तो लाग्छ। मधेश आन्दोलनको बेलामा पनि, तपाईंले पेल्नु भएको हो र आज पनि पेल्नै खोजिराख्नु भएको छ ।

अन्तिममा फेरी पनि भन्न चाहन्छु, कतै तपाईंको वरि(परि हनुमानै हनुमान मात्रै छन् कि ? अथवा तपाईं रावण जत्तिकै अहमता बोकिसक्नु भएको हो कि ? अथवा धृतराष्ट्रले झैं सत्ता मोहको शिकार हुनु भएको हो ? प्रधानमन्त्रीज्यू तपाईं सचेत हुनु होला, हनुमान बाहेक सबै नेपाली जनताको मन जित्नलाई एकाध आवाजलाई पनि बेवास्ता नगर्नु होला। अनि आफ्नो अहमता र सत्ता मोहलाई जित्न सक्नु भयो भने, जनताको मन अवश्य पनि जित्न सक्नु हुने छ ।
मेरो सुभकामना मेरो प्रधानमन्त्रिलाई !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.