काठमाडौं, बैशाख २ । नेपाल कम्युनिष्ट पार्टीको बैठक बालुवाटारमा बस्नुअघि प्रधानमन्त्री केपीशर्मा ओली शितल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

राष्ट्रपति भण्डारीसँग आधा घण्टाभन्दा बढी भेट गरेका उनले त्यसअगाडि सचिवालयका बहुमत सदस्यलाई आफ्नो पक्षमा पारेका थिए । सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा समेत अल्पमतमा परेका प्रधानमन्त्री ओली झण्डै झण्डै पद गुमाउने अवस्थामा पुगिसकेका थिए ।

तर अनेकन कसरतपछि बहुमत सदस्य आफ्नो पक्षमा पारेपछि उनी राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका थिए । त्यहाँबाट फर्किएपछि पनि उनले पहिले आफूलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउने अभियानमा जोडतोडले लागेका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई अलग्गै भेट गरे । त्यसपछि मात्रै सचिवालयको बैठक गरेका छन् ।

दाहाललाई ओलीले आफू कुनै पदबाट पनि नहट्ने प्रष्ट गरिदिएका हुन् । अघिल्लो सचिवालय बैठकमा वामदेव गौतमलाई राष्ट्रियसभामा पनि लैजाने, संविधान संशोधन वा निर्वाचन लडाएरै भएपनि प्रधानमन्त्री बनाउन आफू तयार भएको प्रस्ताव प्रधानमन्त्री ओलीले गरेका थिए ।

उनको त्यो प्रस्तावपछि एकाएक नेकपाका पार्टी समीकरणमा फेरबदल देखियो र उनी बहुमतमा देखिए । ओलीले दाहालसँग अलग्गै भेटेजस्तै दाहाल र नेपालले पनि अलग अलग भेटवार्ता गरेका थिए ।

पार्टीमा दुई अध्यक्ष भएपनि अघिपछि आफू एकापट्टी र दाहालसहितका अरु सदस्यलाई अर्कातिर राखेर बैठक गर्ने ओलीले आज भने दाहाललाई पनि आफूसँगै राखेर बैठक गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.