जनकपुरधाम, १९ चैत । प्रदेश २ सरकारले लकडाउनबाट प्रभावितका लागि राहत वितरण निर्देशिका तयार गरेको छ ।

प्रदेश २ सरकारले घोषणा गरेको राहत राजनीतिक, प्रशासनिक र सार्वजनिक पदमा भएकाहरूले पाउने छैनन् । वास्तविक समस्यामा परेकाबाहेक अरुलाई राहत नदिइने भएको हो ।

प्रदेश सरकारको निर्णयअनुसार परिवारका कुनै पनि सदस्य राजनीतिक, प्रशासनिक र सार्वजनिक पदमा नरहेको अवस्थामा मात्रै राहत पाउने भएका छन् । त्यस्तै, घरायसी र पारिवारिक कुनै पेशा व्यवसाय नभएको, दैनिक ज्याला मजदुरी गर्ने तथा कुनै आयश्रोत नभएका व्यक्तिलाई मात्र राहत दिइनेछ ।

निर्देशिकालाई मङ्गलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ । राहत वितरण गर्नुअघि गरिब किसान र मजदुरको सूची तयार गरिनेछ ।

यसका लागि वडाध्यक्षको संयोजकत्वमा राष्ट्रियस्तरका पाँच राजनीतिक दलका प्रतिनिधि, वडाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको प्रतिनिधिसहितको एक समिति बनाइनेछ । समितिको सदस्य सचिवमा सम्बन्धित वडाका सचिव रहनेछन् ।

समितिले आफ्नो वडाभित्रका राहत उपलब्ध गराउनुपर्ने लक्षित समूहको पहिचान गर्नेछ । त्यो सूची स्थानीय तहले एकीकृत गरी सम्बन्धित जिल्ला समन्वय समितिको कार्यालय र कोषको सचिवालय, सामाजिक विकास मन्त्रालयमा पठाउनुपर्नेछ । यसपछि वडा कार्यालयको लक्षित समूह पहिचान समितिको रोहवरमा राहत वितरण हुनेछ ।

वितरण गरेको राहतको विवरण पनि स्थानीय तहले जिल्ला समन्वय समितिको कार्यालय र सामाजिक विकास मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ । लक्षित समूहलाई चार जनासम्म सदस्य भएको परिवार र चार जनाभन्दा बढी सदस्य भएको परिवार गरी दुई समूहमा छुट्याइने छ ।

उनीहरूलाई दिइने राहत नगद वा वस्तुगत वा दुवै हुनसक्ने निर्देशिकामा भनिएको छ । राहत वितरण स्थलमा सेनिटाइजर, साबुन पानी अनिवार्य रूपले राख्नुपर्नेछ भने राहत अनुदान बुझ्नुअघि र बुझेपछि हात धुनुपर्ने नियम बनाइएको छ ।

त्यसैगरी राहत वितरणको स्थलगत अनुगमन सम्बन्धित प्रदेशसभा सदस्यले गर्ने नियम बनाइएको छ । प्रदेशसभा निर्देशक समिति र कार्यान्वयन सहजीकरण समितिले अनुगमन गर्नेछ । जिल्लास्तरमा जिल्ला विपद् व्यवस्थापन समितिले लक्षित समूहको पहिचान राहत अनुदान प्राप्तिको परिचालन र राहत वितरणको अनुगमनसमेत गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.