प्रदेश २ मा बजेट बढाउन दबाबः मधेशीलाई फकाउन ओलीको मैथिली ट्वीट


हुलाकी न्यूज काठमाडौंः
अर्थमन्त्री युवराज खतिवडा पछि प्रदेश २ का संघीय सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका छन्।

मानव विकास सुचांकमा प्रदेश २ निकै पछाडि रहेकोले बजेट बढाउन र विकासका योजनाहरु थप गर्न प्रधानमन्त्रीलाई दबाब दिइएको हो।

सांसदहरुको दबाब पछि प्रधानमन्त्री ओलीले आगामी बजेटबाट प्रदेश २ लाई सम्वृद्ध बनाउने आश्वासन दिए।

जेठ १५ गते संसदमा पेस हुन लागेको बजेटका सन्दर्भमा ध्यानाकर्षण गराउन प्रदेश २ का सांसदहरुले प्रधानमन्त्री ओलीलाई भेटेका हुन्।

प्रधानमन्त्रीलाई भेट्ने टोलीमा रहेकी माओवादी सांसद इन्दु शर्माका अनुसार सांसदहरुले मुख्य रुपमा तीन वटा विषयलाई प्रधानमन्त्री समक्ष उठाएका थिए। प्रदेश २ लाई सम्बृद्ध बनाउन कृषि, औद्योगिक र रोजगारीका क्षेत्रमा सरकारले बजेट विनियोजन गर्नुपर्ने माग सांसदहरुले गरेका थिए।

प्रदेश २ लाई विशेष औद्योगिक करिडोर बनाउनका लागि बजेटमा ध्यान दिन प्रधानमन्त्रीलाई आग्रह गरिएको एमालेका सांसद लीलानाथ श्रेष्ठले बताए।

तराई मधेशलाई अन्नको भण्डार बनाउन कृषि क्षेत्रको प्रवद्धनका लागि सिंचाई योजना अगाडि बढाउन माग सँगै सुनकोसी कमला डाइभर्सन र सुनकोसी मरिन वाग्मती डाइभर्सन निर्माणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको उनले बताए।

मधेश पिछडिएकाले त्यस क्षेत्रका पुराना उद्योगलाई पुनः संचालन तथा नयाँ उद्योग स्थापनाका लागि पहल गर्न प्रधानन्त्रीलाई आग्रह गरेको माओवादीका सांसद रामेश्वर राय यादवले हुलाकी न्यूजलाई बताए।

यादवका अनुसार सम्बृद्ध तराई मधेशको योजना नै सरकारले अगाडि बढाउन लागेको ओलीले जानकारी दिएका थिए।
यता प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतका विषयमा विवाद जारी छ। एमालेले मुख्यमन्त्री राउतको विरोध गरेको भन्दै मधेशमा पनि प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको विरोध हुँदैछ।

मधेशमा विरोध हुन थालेपछि प्रधानमन्त्री ओलीले आज मैथिलीमा ट्वीट गरेका छन्। मैथिलीमा ट्वीट गर्दै उनी विरुद्ध आक्रोसित रहेका मधेशीहरुलाई फकाउन खोजेका छन्।

आफु विरुद्धको आक्रोसलाई मत्थर पार्न ओलीले मैथिलीमा ट्वीट गरेको र मधेशीबीच नै विभाजन ल्याउन खोजेको एक विश्लेषकले प्रतिक्रिया दिएका छन्।

मधेशमा ओलीको विरोध भइरहँदा मैथिली भाषीहरुले ओलीको स्वागत गर्ने रणनीतिले नै ट्वीट मैथिलीमा गरिएको उनले बताए।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here