–जिल्ला प्रशासन कार्यालयहरुमा अत्यावश्यक सेवाबाहेकका बन्ध
– यातायात कार्यालय बन्द
–बर्दिवास बजार बन्द
– कटहरिया नगरपालिकाद्वारा हाटबजार नलगाउन आह्वान


जनकपुरधाम (रासस) : विश्वव्यापीरूपमा देखिएको कोभिड–१९ को संक्रमणबाट बच्न प्रदेश नं २ का अधिकांश सरकारी कार्यालयहरु आइतबारदेखि चैत २१ गतेसम्मका लागि बन्द गरिएको छ। भारतको बिहार राज्यमा कोराना संक्रमणबाट एकजनाको मृत्यु भएपछि प्रदेश २ का स्थानीयवासी त्रसित भएका बेला नेपालमा सम्भावित संक्रमणको अवस्थालाई न्यूनीकरण गर्न चैत ९ देखि २१ गतेसम्मका लागि अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएको हो।

प्रदेश २ का सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले सूचना टाँस गरी सरकारी कार्यालयहरुको अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ। नेपाल सरकारको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय धनुषा, यातायात व्यवस्था कार्यालय र जिल्ला प्रशासन कार्यालय महोत्तरीको समेत दैनिकरूपमा सम्पादन हुँदै आएका सेवाग्राहीसँग प्रत्यक्षरूपमा जोडिएका सम्पूर्ण कार्य तत्कालका लागि बन्द गरिएको कार्यालयमा सूचना टाँस गरी जनाइएको छ।

प्रहरी कार्यालय, स्वास्थ्य निर्देशनालय, अस्पताल जस्ता अत्यावश्यक कार्यालयहरू भने खुला छन्।
धनुषाका प्रजिअ कोषहरि निरौलाले अत्यावश्यक सेवाबाहेक सबै कार्य प्रवाह चैत २१ गतेसम्मका लागि बन्द गरिएको जानकारी दिए।

त्यस्तै महोत्तरीको जिल्ला प्रशासन कार्यालयले शान्तिसुरक्षा, ठाडो उजुरी र मुद्दासम्बन्धी अभियोगपत्र दर्ता, बयान र थुनछेक, पक्राउ पुर्जी अनुमति र जरुरी पुर्जीको समर्थन, म्याद थप एवं रकम तिरी कैदबाट छाड्ने निवेदनहरुमा सुनुवाइबाहेकका कार्यालयबाट दिने सम्पूर्ण सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको विज्ञप्तिमा भनिएको छ।

यसैगरी कोरोनाको संक्रमणबाट जोगिन प्रदेश नं २ मै पहिलोपटक कटहरिया नगरपालिकाले हाटबजार नलगाउन आह्वान गरेको छ। भाइरसबाट जोगिन २५ जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा नहुन सरकारले गरेको आह्वानलाई पालना गर्दै नगरप्रमुख सियाराम कुशवाहाले हाटबजार नलगाउन आग्रह गरेका हुन्। प्रमुख कुशवाहाले माइकिङ र स्थानीय रेडियोमार्फत सूचना प्रवाह गरी नगरक्षेत्रअन्तर्गतको सबै बजार नलगाउन अनुरोध गरे।

यस्तै धनुषाको शहीद नगरपालिकाले समेत जनचेतनाका लागि माइकिङ र विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको नगरपालिकाका प्रमुख उदय बरबरियाले बताए।

कोरोनाको त्रास बढेसँगै बर्दिवास उद्योग वाणिज्य संघ बर्दिवासले चैत ९ गतेदेखि बर्दिवास बजार बन्द गर्ने निर्णय गरेको छ। कोरोनाको सन्त्राससँगै महोत्तरीको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको बर्दिवास बजार सुनसान देखिन थालेको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन अतिआवश्यक सेवाबाहेक सबै उद्योग तथा कलकारखाना बन्द गर्ने निर्णय गरेको हो। संघ चैत ९ देखि २१ गतेसम्म कोरोना भाइरसको संक्रमणविरुद्ध सावधानी अपनाउन बजार बन्द गर्न व्यवसायीलाई अपिल गरेको हो।
बर्दिवास उद्योग वाणिज्य संघका महासचिव भवनाथ खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा खाद्यान्न चामल, दाल, तेल, नुन जस्ता दैनिक उपभोग्य वस्तु प्रशासनको सहयोगमा उपभोक्तालाई उपलब्ध गराइने जनाइएको छ ।

‘अत्यावश्यकबाहेक सम्पूर्ण व्यवसाय बन्द गरी कोरोना भाइरस फैलिन नदिन सबै व्यापारी तथा नागरिकमा सरकारका निर्णय कार्यान्वयन गरी सुरक्षित बस्न अनुरोध गर्दछु’, बर्दिबास उद्योग वाणिज्य संघ बर्दिवासका अध्यक्ष प्रह्लादकुमार क्षेत्रीले बताए। संघले विपत्को समयमा व्यवसायी उद्योगीलाई आर्थिक मार पर्ने भएको भन्दै घरधनीहरुलाई घरभाडा छुट दिनसमेत आग्रह गरेको छ । त्यस्तै सङ्घले व्यवसायीहरुको बैंक तथा वित्तीय संस्थाको ब्याज, बिजुली पानीको महसुल, कर, भ्याटमा छुट गर्नसमेत सरकारसँग अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.