पार्टी एकताको जिम्मा बाबुराम र उपेन्द्रलाई, केही दिन मै घोषणा

126

हुलाकी न्यूज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकीकरणको अन्तिम टुँगो लगाउने जिम्मेबारी अध्यक्ष द्वय भट्टराई र यादवलाई दिइएको छ । केही दिनभित्रै एकता गर्ने सहमति भएअनुसार प्रक्रिया अगाडि बढाइएको छ ।

उपेन्द्र यादव बाहेक विहीबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा एउटै पार्टीमा परिणत भएपछि एकीकरणका लागि दबाब परेको हो ।

नयाँ शक्ति र फोरम नेपालबीच एकीकरण गर्न यसअघि बनाइएको वार्ता समितिले ठोस निर्णय दिन नसकेपछि दुबै पार्टीका अध्यक्षहरुले नै अन्तिम टुँगो लगाउने भएका छन् ।

एकताको अन्तिम टुँगो लगाउन शुक्रबार तीन सदस्य समिति बनाइएको छ जसमा नयाँ शक्तिका अध्यक्ष भट्टराई, फोरम नेपालका अध्यक्ष यादव र फोरम नेपालसँग एकीकरण गरेका संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई रहेका छन् ।
नयाँ शक्ति पार्टीको बैठकमा नेताहरुले निर्वाचनअघि एकता गर्न नहुने बताएका छन् । साथै एकीकरणको गृहकार्यमा लागेका नेताहरु अल्मलिएपछि भट्टराई आफै अगाडि सरेका छन् ।

यता फोरम नेपालको राजनीतिक समितिको बैठकमा पनि एकताका लागि पार्टी नेतृत्वलाई एकताका लागि दबाब परेको छ । शुक्रबारबाट फोरम नेपालको केन्द्रीय समिति बैठक पनि बस्नेछ । दुबै पार्टीले जारी बैठकबाटै एकताको टुँगो लगाउने विश्वास फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले हुलाकी न्यूजसँग व्यक्त गरेका छन् ।

शुक्रबार दुबै पार्टीले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालबीच पार्टी एकताको प्रयोजनार्थ दुबै पार्टीका तर्फबाट वार्ता समिति गठन गरी विभिन्न चरणका वैठकहरुमार्फत पार्टीले अवलम्बन गर्ने नीति, सिद्धान्त, विचार र संगठनात्मक प्रणाली समेतमा समान दृष्टिकोण बन्दै गएको सन्दर्भमा पार्टी एकतालाई निष्कर्षमा पुर्याउनका लागि ‘पार्टी एकता संयोजन समिति’ गठन गर्ने निष्कर्षमा पुगिएको छ ।’

विज्ञप्तीमा भनिएको छ, ‘यस समितिले वर्तमान आन्दोलनमा कार्यगत एकताको माध्यमबाट सहकार्य गर्दै पार्टी एकताको कार्यलाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्याउने सहमति भएको छ । यस कामका लागि निम्न सदस्यहरु रहेको पार्टी एकता संयोजन समिति गठन गरिएको व्यहोरा अनुरोध छ ।’

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here