पानीबाट बञ्चित मुसहर बस्तीमा शिक्षा, स्वास्थ्य कहिले पुग्ने ?

विद्यालयबाट वञ्चित छन् बालबालिका

मुराबारी (मिर्चैैया) । भित्री मधेशमा पहाडबाट आप्रवाशन बढेपछि चुरे जंगल विनासको क्रम बढ्दै गएको छ । चुरे विनासका कारण भित्रि मधेशमा पानीको समस्या त छँदै थियो अव पूर्व–पश्चिम राजमार्गका बस्तीमा पनि पानीको समस्या बढ्दै गएको छ । झन् अव्यवस्थित रुपमा रहेको सुकुमबासी र दलित बस्तीहरुमा पानीको कृत्रृम श्रोतहरु पनि छैन ।

यस्तै समस्याबाट जुधदैछ, सिरहा जिल्लाको मिर्चैया नगरपालिका–७ मुराबारीको मुसहरबस्तीका दलितहरु । गाउँघरबाट बसाइ सराइ भइ गएका मुसहरहरु र पहाडबाट आप्रवासन भइ मधेश झरेका मगर र सार्कीहरु त्यहाँ बस्ने गरेका छन् ।  उक्त बस्तीका मुसहरहरु कुवाको धमिलो पानी पिउन बाध्य छन् । उक्त बस्तीका बारे स्थानीय पत्रकार मिथलेश यादवले सामाग्री सम्प्रेशन गरे पछि त्यहाँ एउटा चापाकल गाड्ने व्यवस्था गरिदैछ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लहानले एक थान ट्युबवेल (चापाकल) पुर्याएका छन् । शुक्रबारबाट यो बस्तीमा कल जडान काम सुरु हुन्छ । कल जडान सम्पन्न गरी पानी परिक्षण गरेपछि मुसहर बस्तीले कलको शुद्ध पानी उपभोग गर्न थाल्ने छन् । डिभिजन कार्यालयका प्रमुख राजेश कुशवाहा बस्ती पुगेर भने,‘अबदेखि तपाईंहरु धमिलो पानी खाने बाध्यताबाट मुक्ति पाउनु हुनेछ ।’

यस वस्तीमा पानीको समस्या समाधान हुने देखिए पनि अन्य धेरै समस्याहरु छन् । बालबालिकाको अध्ययन र गरीबीमा रुमलिएको यो बस्तीमा राज्यले अन्य सुविधाहरु पुर्याउन आवश्यक छ ।

यस बस्तीका बारे पत्रकार यादव लेख्छन् :

यसै बस्तीका पूर्णा सदायले गरिबीले गर्दा ज्यान गुमाएको डेढ महिना भयो । पाँच सन्तानसहित परिवारका सात सदस्यको भरणपोषणका लागि गर्ने काम गरुंगो भएपछि बस्तीनजिकको चउरमा उनले जीवन त्यागेको बस्तीका जेठा सदस्य ६० वर्षीय बालदेव सदाय बताउँछन् । पूर्णाको मृत्युपछि सन्तान हुर्काउने जिम्मेवारी उनकी पत्नी दशनीको काँधमा आयो । मजदुरी गरेर जसोतसो पाँच सन्तान हुर्काइरहेकी दशनीको दैनिकी मुस्किलले धानिँदैछ । एकाबिहानै काम खोज्न मिर्चैया बजार पुग्ने अनि साँझ ढिलो गरी घर फर्कने सधैंभरिको सकस हो ।

उनी घर फर्कंदासम्म पाँच वर्षभन्दा कम उमेरका राधिका र अधिका भोकले रन्थनिएर सुतिसकेका हुन्छन् । बिहान बच्चा उठ्नुअघि नै आमालाई कामको खोजीमा हिँडिसक्नुपर्ने हुन्छ । राति पकाएको सुक्खा भात खाएर सन्तोष मान्नुपरेको राधिका बताउँछिन् । दात र तरकारी भने पाँचवर्षीया राधिकाले अहिलेसम्म हेर्न पाएकी छैनन् । ‘सधैं भात त खान पाइँदैन, दाल र तरकारी खानु भनेको कहिल्यै पूरा नहुने सपनाजस्तै हो,’ उनले भनिन् ।

यस बस्तीका सबै घरपरिवारको अवस्था यसभन्दा भिन्न छैन । बस्तीका जेठा सदस्य बालदेव भन्छन्, ‘गरिब भएपछि दुःख हुन्छ, सहन गर्नुको सट्टा अर्को बाटो छैन ।’ मुसहरको औसत आयुभन्दा बढी उमेरका बालदेवको दैनिकी पनि अरु नै वयस्क मुसहरको जस्तै थियो कुनै बेला, दिनभरि हाड खियाएर मजदुरी गर्ने अनि राति गलेर बस्ती फर्कने । केही महिनायता उनी बढ्दो उमेरका कारण थलिएर झुपडीमै बस्न विवश छन् । कमजोरीले गर्दा थरिथरिको रोगले च्याप्न सुरु गरेको छ, त्यसैले उनी ओछ्यानबाट उठ्ने तागत जुटाउन सकिरहेका छैनन् । तर, छाक टार्न आँगनबारीसम्म पुग्नुको विकल्प छैन उनका लागि । एउटा भैंसीलाई स्याहार्दै दिन काटिरहेका बालदेव भन्छन्, ‘सुक्खा भातले कति दिनसम्म ज्यान उचालिन सक्छ !’ निकै दुब्लोपातलो देखिने उनको करङ छालाले पनि छोप्न सकेको छैन । कुप्रिएर हिँड्ने उनले भने, ‘खोलाको फोहोर पानीमा उसिनेको चामल खाएर सधैंभरि शरीर ठडिँदैन ।’

सिरहाकै भगवतपुरबाट ९ वर्ष अगाडि बसाइँ सरेका हुन् बालदेव । एकमात्र छोराले घरनिकाला गरिदिएपछि उनी पत्नीसहित यस बस्तीमा सरेका हुन् । बस्तीमा आएको बेला उनी तागतिला थिए । यहाँको बन्जर जमिन खनजोत गरेर उब्जाउ बनाए । कुनै बेला लहलहाउँदो बालीनाली हेर्न पाइने यस बस्तीमा पाँच वर्षअघि पूर्वबाट बग्ने बताहा खोलाले जमिन कटान गरेपछि उनीहरूको दुःखका दिन सुरु भयो । बस्तीका मान्छे खेतीपाती गरेर अन्न फलाउने किसानबाट ढाड सेकिने काममा लाग्नुपर्ने मजदुर बने । भारी बोक्ने कामले शरीर थलिएपछि बलदेवले त्यो काम छोडे । त्यसपछि हातमुख जोड्न धौधौ परेको उनी बताउँछन् । काम गर्न शरीरले साथ दिँदैन, नगरे भोकै बस्नुपर्ने समस्या रहेको सुनाउँछन् उनी । लगातार खोकी र ज्वरोले गर्दा उनी कमजोर भएका छन् ।

बस्तीबाट ७ किलोमिटर पर मिर्चैया बजारमा अस्पताल छ । तर, कमजोरीका कारण उनी बजारसम्म पुग्न सक्दैनन् । ‘शरीरले साथ दिए बिस्तारै अस्पताल पुगेर उपचार गराउने सोचेको छु,’ उनले भने, ‘उपचारका लागि थोरबहुत रकमको जोहो गर्दैछु’ ।

यस बस्तीकी १२ वर्षीया बबिता सदाय आफूहरूले खाने कुवाको पानीमा भैंसी गनाउने गरेको बताउँछिन् । फोहोरको लेदो पन्छाउँदै पानी पिउँदा भैंसीभैंसी गनाउने उनको अनुभव छ ।

तल्लो बस्तीका मानिसले फोहोर फ्याँक्न प्रयोग गर्ने बताहा खोलाको कुवा सदाय बस्तीबाट करिब डेढ किलोमिटर दक्षिणमा पर्छ । बस्तीबाट सबैभन्दा नजिक रहेको यही कुवाको पानी सदाय बस्तीका मानिसले खाना पकाउनेदेखि पिउन प्रयोग गर्दै आएका छन् ।

विद्यालयबाट वञ्चित छन् बालबालिका


यस बस्तीमा पढ्ने उमेरका ३० बालबालिका छन् तर कसैले पनि विद्यालयमा टेकेका छैनन् । बस्तीकी १२ वर्षीया बबिताका पाँच भाइबहिनीमध्ये कोही पनि विद्यालय जाँदैनन् ।

बाबुआमा मजदुरीमा जाने र बालबालिकाले गाईबस्तु चराउने र मेलापात गर्ने गर्छन् । बबिताले भनिन्, ‘दिनभरि बाख्रा र भाइबहिनी रुँगेर बसेपछि पढ्न कसरी जानु ! विद्यालय पुगे पनि भोको पेटले कखरा चिन्न कहाँ सकिन्छ र !’ बुबाआमा काममा गएपछि चार भाइबहिनीसहित बस्तीका अन्य बालबालिका रुँग्ने जिम्मेवारी बबिताकै हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.