हुलाकी न्यूज, काठमाडौं । नेपाल पत्रकार महासंघको आगामी भदौ पहिलो साता हुन गइरहेको केन्द्रीय महाधिवेसनबाट पूर्ण समावेशी बनाउन पत्रकार संगठनहरु सक्रिय भएका छन् । विहीबार काठमाडौंमा सञ्चार समावेशी पक्षधर संगठनहरुको सांझा समूह समावेशी सञ्चार अभियानले महासंघलाई समावेशी बनाउन सम्बन्धीत पक्षहरुको ध्यानाकर्षण गराएको छ ।

बैठक पछि अभियानले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सम्पूर्ण पत्रकारहरुको साझा संस्थाको रुपमा स्थापित गर्दै अगाडि बढ्ने सन्दर्भमा पत्रकार महासंघलाई पूर्ण समावेशी बनाउनुपर्नेे हाम्रो अभियान जारी रहेको छ । महासंघलाई पूर्ण समावेसी बनाउनका लागि आगामी महाधिवेसनमा सबै पक्षबाट महासंघको नेतृत्व तहमा समावेसी उम्मेदवार बनाउन हामी ध्यानाकर्षण गराउन चाहन्छौं ।’

महासंघको विधान कार्यान्वयनका लागि समेत नेतृत्व तहमै समावेसी उम्मेदवार उठाउन आवश्यक रहेको भन्दै नेतृत्वमा आउन समावेशी पक्षधरहरुलाई आह्वानसमेत गरिएको छ । ‘सम्पूर्ण आदिवासी जनजाति, मधेशी, दलित, महिला, मुस्लिम, अपाङ्गताको प्रतिनिधित्व गर्ने सबै संस्थाहरु एकजुट भएर अघि बढ्ने प्रतिवद्धता जनाउँदै सबै पक्षलाई यो अभियानमा साथ दिन आव्हान गर्दछौं ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बैठकमा मधेशी पत्रकार संघका सचिव बीपी साहले मधेशका जिल्लामा सदस्यता वितरणमा विभेद भएपनि अव केन्द्रीय नेतृत्वमा मधेशी पत्रकारहरुले उचित स्थान पाउनु पर्ने बताएका थिए । साहले केन्द्रमा नेतृत्व गर्न मधेशी पत्रकारहरु सक्षम रहेको बताउँदै महासंघको समावेशीका लागि पहल गर्ने विश्वास दिलाएका थिए ।

अभियानको बैठकमा अभियानका संयोजक एवं जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्माले महासंघलाई पुर्ण समावेशी बनाउन नेतृत्व नै समावेशी हुनु पर्ने बताएका थिए ।

बैठकमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ्ग, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मालगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै, क्रियाशील महिला पत्रकारकी अध्यक्ष शुभेच्छा विन्दु तुलाधर, राष्ट्रिय अपाङ्ग पत्रकार संघ, नेपालका अध्यक्ष रविन थपलिया र मुस्लिम पत्रकार संघका अध्यक्ष अब्दुल्लाह मियाँलगायतको उपस्थिति रहेको थियो । समावेशी सञ्चार अभियानले विभिन्न पत्रकार संगठनहरुसँग महासंघको समावेशीका लागि छलफल गर्दैछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.