नीति तथा कार्यक्रम अग्रगामी सोचसहित ल्याइएको हो : प्रधानमन्त्री ओली

हुलाकी न्यूज,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रम दूरगामी लक्ष्यसहित ल्याइएको बताएका छन् । एक वर्षको नीति कार्यक्रम भए पनि दूरगामी कार्यक्रम राखेर ल्याइएको प्रधानमन्त्रीको भनाइ छ ।

“आगामी एक वर्ष, चार, पाँच र २५ वर्षसम्मको दूरगामी लक्ष्य राखेर ल्याइएको हो,” वार्षिक नीति तथा कार्यक्रममा छलफलमा उठेका प्र्रश्नहरुको प्रतिनिधिसभामा मंगलबार जवाफ दिँदै प्रधानमन्त्रीले भने, “अग्रगामी सोचसहित ल्याइएको हो ।”

प्रधानमन्त्रीले नीति तथा कार्यक्रमले सपनामात्र होइन संकल्प र अठोट पनि लिएको उल्लेख गरे । “कतिपय साथीहरुलाई सपना रातिमात्रै देखिने भन्ने पनि लागेको छ, यहाँ सपनाको कुरा गरेको राति देखिने होइन, यहाँ देश बनाउने सपना हो,” उनले भने, “सहिदको सपना पूरा गर्ने भनेको निदाएर घुरेर देखिने सपनामात्र होइन ।”

प्रधानमन्त्रीले लोकतन्त्रका संस्थाहरु, जनप्रतिनिधिको सम्मान बढाउने र अग्रगामी सोचसहित नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गरे । बहुमत आफँैमा स्थिरता र स्थायित्व नहुने बताउँदै उनले योजना र नीतिले त्यसलाई स्थायित्व दिलाउने उल्लेख गरे ।

नीति तथा कार्यक्रममा विपक्षी दलले असावधानीवस शब्द प्रयोग गरेको प्रधानमन्त्रीको भनाइ छ । “आलोचनाको कुनै ठाउँ रहेनछ, सुन्दर निबन्धजस्तो छ भने एक मित्रले, यसमा धेरै केही भन्नु छैन नीति कार्यक्रम आलोचना रहेनछ, त्यही भएर निबन्ध भनेर टुंगो लगाइदिनुभएछ,” उनको भनाइ छ, “असावधानीसाथ शब्द प्रयोग गर्नुभएजस्तो लाग्छ, योजनाबद्ध छैन, खोक्रो छ भनेर । लामो हुन सक्छ, सविस्तार हुन सक्छ । तर, सबै पनि छ । केही पनि छैन भनेको के ?”

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा प्रयोग गरिएको ‘मेरो सरकार’ जानीबुझीकन राखेको स्पष्ट पारे ।
“राष्टपतिज्यूले मेरो सरकार भने, दुनियाँभरको अभ्यास हो, पोहोर थिएन, केही अभ्यास मिलेको छैन । यो वर्ष मिल्यो, अर्को पटक धेरै कुरा मिलाइन्छ,” उनले भने, “कांग्रेस लोकतान्त्रिक अभ्यास भएको पार्टी हो । कांग्रेसले साह्रै आलोकाचोपन देखाउनुहँुदैन । प्रतिपक्षी दलका नेताले बेलायतकी महारानीजस्तो भन्नुभयो, त्यस्तो नकारात्मक टिप्पणी गर्नु हुँदैन, बेलायत मित्रराष्ट्र हो ।”

प्रधानमन्त्री ओलीले राष्ट्रपति केही पनि हैन भन्ने हैन, राज्य व्यवस्थाको सर्वोच्च सम्मानित र अभिभावकीय संस्था भएको स्मरण गराए । प्रधानमन्त्रीले प्रतिपक्षीलाई मेरो सरकार भन्ने अप्ठेरो भएको उल्लेख गर्दै भने, “अब हेर्नुस् न प्रतिपक्षलाई पनि कति फाइदा हुने बजेट आउँछ ।”

प्रधानमन्त्री ओलीले संविधान संशोधनलाई सार्वजनिक खपतको विषय नबझाउन आग्रह गरे । “सुशील कोइराला प्रधानमन्त्री भएकाबेला यति संशोधन भए पुग्छ भनिएको थियो,”संविधान असंशोधननीय, अपरिवर्तनीय हुन नसक्ने बताउँदै भने, “हामीले बनाएको संविधान हो । संविधान जुनसुकै मौसममा पनि गीत गाउने विषय होइन । यो त पब्लिक कन्जम्सनका लागि जस्तो भयो । त्यसो नगरौं ।”

प्रधानमन्त्रीले अहिलेकै सरकारले हडपिएका सार्वजनिक जमिनलाई सरकार मातहत ल्याएको स्मरण गराउँदै भने, “बालुवाटार अहिलेको सरकार बनेर मासेको हो र ? अहिलेको सरकारले खुलामञ्च कब्जा गरेको हो र ? बरु अहिलेको सरकारले ल्याएको हो । अहिले त छानबिन हुँदैछ, खोजी हुँदैछ, अहिले हो वाइडबडी घोटाला भएको, पहिले भएकाहरुको छानबिन हुँदैछ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.