काठमाडौं । सरकारले भारततर्फको सीमामा रोकिएका नेपाली नागरिकहरूलाई अन्तिम पटकका लागि आज एक दिन स्वदेश आउने दिने निर्णय गरेको छ ।

यद्यपि यसरी आउनेहरूलाई १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने शर्त राखिएको छ । यसका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी क्वारेन्टाइनमा बस्ने व्यवस्था गरेको कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रण उच्चस्तरीय समन्वय समितिले जनाएको छ ।

समितिको आज बसेको बैठकबारे जानकारी दिँदै अर्थमन्त्री युवराज खतिवडाले कोरोना भाइरस संक्रमणको रोकथाम र नियन्त्रण सम्बन्धमा कुनै पनि संघसंस्थाले कोष खडा गर्न नपाउने जानकारी दिएका छन् ।

उनले कसैले कोष खडा गरिसकेको भए आफ्नो संस्थामा काम गर्ने कर्मचारी तथा आफू मातहतका व्यक्तिहरूबाट मात्रै रकम जम्मा गर्न पाउने र रकम प्रत्येक हप्ता सरकारले स्थापना गरेको कोषमा बुझाउनुपर्ने निर्णय भएको पनि जनाए । बैठकले स्वास्थ्य सामग्री तथा किटहरू ल्याउनका लागि निजी क्षेत्रसँग समन्वयन गर्ने निर्णय भएकोसमेत गरेको छ ।

सरकारले मेडिकल सामग्री तथा किटहरू चीन र भारतबाट ल्याउन परराष्ट्र मन्त्रालयले परामर्श गरिरहेको मन्त्री खतिवडाले जानकारी दिए । निजी क्षेत्रले कतैबाट स्वास्थ्य सामग्री र किटहरू यथाशीघ्र ल्याउन सक्ने भए सरकारले यातायातको सुविधा एवं हवाई सुविधा उपलब्ध गराउने निर्णय भएकोसमेत मन्त्री खतिवडाले जानकारी दिएका छन् ।

कोरोना संक्रमणको लक्षण देखिएमा धुलिखेल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान, बीर अस्पतालमा तत्कालै यन्त्र उपकरण जडान गर्ने र प्रदेशस्तरमै ल्याबहरू स्थापना नहुँदासम्म छिटो यातायातको व्यवस्था गरेर टेकुस्थित ल्याबमा स्वाब परीक्षणका लागि ल्याउने व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले लकडाउनका क्रममा छिटफूट अवज्ञा भएको भन्दै अझ कडाइ गर्ने अवस्था नभएको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.