द मिडिल कन्ट्री : लण्डनमा विमोचित, अव जनकपुरधाममा

486

हुलाकी न्यूज, लण्डन । मधेशको इतिहासदेखि साँस्कृतिक एव विभेदका विषय बस्तु समेटिएको पुस्तक ‘द मिडिल कन्ट्री’ अर्थात मध्यदेश लण्डनमा विमोचन भएको छ । उक्त पुस्तक बैशाखको तेस्रो साता जनकपुरधाममा विमोचन हुने भएको छ ।

बुधबार लण्डनमा अधिवक्ता दिपेन्द्र झासहितका विशिष्ट व्यक्तिहरुले उक्त पुस्तकको विमोचन गरेका छन् । लण्डनस्थित क्लब रुम, अक्टुबर ग्यालरीमा आयोजित विमोचन कार्यक्रममा करिब ४० जनाभन्दा बढी विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमका मुख्य वक्ताका रुपमा झाले आफ्नो विचार राखेका थिए ।

विमोचन कार्यक्रममा पहिलो पुस्तक जेनेरल सर साम काउनले खरिद गरेका थिए भने इलिना ब्यानेष्टरले पुस्तक विमोचन पछि मधेशका बारे चासो व्यक्त गरेका थिए । जोन विभेन, डेभिड सेडोन र लण्डन  स्कुल अफ इकोनोमिक्सकी रिसर्चर डा.पुनम यादवसमेत कार्यक्रममा सहभागी थिइन् । त्यसैगरी लण्डनका रिसर्चर कृष्णा अधिकारी, राजिव साह, अमुकका सचिव पुष्कर पटेललगायतको सहभागीता थियो । कार्यक्रमको संयोजन गोविन्द साह आजादले गरेका थिए । कार्यक्रम आयोजनामा लण्डनमा रहेका विभिन्न मधेशी संगठनहरुसहित पाण्डव महतोले सहयोग गरेका थिए ।

लण्डनमा विमोचन पछि उक्त पुस्तक जनकपुरधाममा विमोचन हुने भएको छ । हुलाकी न्यूज डटकमको संयोजनमा बैशाखको तेस्रो साता जनकपुरधाममा विश्लेषक सीके लालसहित मधेशी मोर्चाका नेताहरुले उक्त पुस्तकको विमोचन गर्ने कार्यक्रम रहेको छ ।

महोत्तरी जिल्लाको जलेश्वर स्थायी घर भई हाल अमेरिका बस्दै आएका राम मनोहर साहद्धारा लिखित उक्त पुस्तकमा मधेशमा भएको युद्ध तथा औपनिवेशीकरणका विषयमा उल्लेखिय सामाग्रीहरु रहेका छन् । अंग्रेजी भाषामा लेखिएको उक्त पुस्तकलाई नयाँ दिल्लीको एड्रोइट पब्लिसरस्ले प्रकाशन गरेको हो ।

हुलाकी न्यूजसँग कुराकानी गर्दै पुस्तकका लेखक साहले उक्त पुस्तकमा मधेशको राजनीतिक, सामाजिक इतिहासदेखि शोषण र उत्पीडनका कुराहरु पनि समेटिएको बताए । विमोचन कार्यक्रममा सहभागी वक्ताहरुले पुस्तक मधेशका लागि कोसे ढुँगा सावित हुने बताएका थिए । लेखक साह मधेश मानव अधिकारका संयोजक पनि हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here